रञ्जन, गीता, सम्पत्ति र ब्वाँसो
गोपाल विरही
रञ्जन कोइराला -डिआइजी) ले गरेको पत्नी गीता ढकालको हत्या प्रकरण मनुष्योत्पत्ति, लिंगभेद, परिवार र सम्पत्तिसँग सम्बन्धित छ । लिंगभेद, परिवार र व्यक्तिगत सम्पत्तिका कारण उत्पन्न हुने अवस्थाबारे तयार पारिएको यस आलेखमा उद्धरणभित्रका शब्द सूत्रपिटकका विभिन्न निकाय हुन् ।
बौद्ध साहित्यमा धर्तीमा वनस्पति र जीवधारीमा तीप्रति लोभ र संग्रह-वृत्तिको भावना सेमेटिक धर्म-साहित्यमा वणिर्त कथाभन्दा पनि प्राचीनतम् रूपमा उपलब्ध छन् । सृष्टिकालका प्रारम्भिक प्राणी धेरै दिन पृथ्वी-रसको आहार गर्दै सुखपूर्वक रहँदै थिए, तर पृथ्वी-रस ग्रहण गर्दा-गर्दै तिनमा त्यसप्रति आशक्ति -तृष्णा) बलवती हुनाले तिनको शरीर कर्कश हुन थाल्यो, वर्णमा विकार आयो तथा ती कुरूप हुन थाले । 'भद्रलता' -वनलता) लुप्त भएपछि प्राणीका आधारहेतु 'अकृष्टपच्य' -जोत्न/रोप्न नपर्ने) 'शाली' -धान) उत्पन्न भयो, जुन यति सुस्वादु थियो कि त्यसलाई खाँदा अन्य कुनै व्यञ्जनको अपेक्षा गर्नुपर्दैनथ्यो । 'शाली'का अन्य विशेषताबारे अघि नै चर्चा भइसकेको छ । पतनको यो लामो प्रक्रियामा प्रत्येक पतनोन्मुखी चरणका लागि प्राणी स्वयं उत्तरदायी छ । पृथ्वीदेखि 'भद्रलता' त्यसपछि 'शाली'लाई पनि सत्व -प्राणी)ले ग्रहण गरेपछि तिनमा कर्कशता अझ बढ्यो एवं अभिमान, इष्र्या, द्वेषजस्ता खराबी पहिलेका तुलनामा अधिक भयो । 'शाली'भन्दा पहिले 'पृथ्वी-रस' देखि 'भद्रलता'सम्मका भोजनमा मनुष्यका भित्र हुने पाचक रसायन या रसले खाएको पदार्थ रस-रक्तका रूपमा परिवर्तित हुन्थ्यो, केही पनि अवशिष्ट रहँदैनथ्यो, तर अब 'शाली'का रूपमा अन्न ग्रहण गर्नाले अन्न कणको भोजन-रूप प्रारम्भ भयो । अब उक्त 'पाचक रस'ले त्यस शालीलाई सम्पूर्ण रूपले पचाउन सकेन र अवशिष्ट पदार्थ शरीरभित्र रहन गयो । फलतः प्राणीमा मल-मूत्रको उत्पत्ति भयो । अतः स्वाभाविकै हो कि यिनलाई त्याग्न, शरीरबाट बाहिर निकाल्न, मनुष्यमा मलेन्दि्रय एवं मूत्रेन्दि्रयको उत्पाद भयो । यी इन्दि्रयको उत्पादका समय जो प्राणी स्त्री थिए तिनमा स्त्री योनी एवं जो पुरुष थिए तिनमा पुरुष योनीको उत्पाद भयो एवं तिनको आकृतिमा भिन्नता आयो ।
अलग-अलग या विपरीत -विसदृश) योनीहरू उत्पन्न हुनाले प्राणी आफ्नो पूर्व अभ्यासवत 'ग्राह्यभूत अयोनिशोभवसिकार'बाट ग्रसित भए अर्थात एक-अर्काका प्रति आकर्षण बढ्दा तिनमा पूर्वसंचित यौन-विकार, तीव्र कामराग उत्पन्न हुन्छ । यस कामाग्निलाई शान्त गर्न तिनले परस्पर मैथुन गरे । यसै क्षणबाट मनुष्यमा काम विकार प्रविष्ट भयो । त्यस समय जब अन्यले तिनलाई यो कृत्य गरिरहेको देखे, जुन तिनका दृष्टिमा अधार्मिक कृत्य थियो, तिनलाई सबैले तिरस्कृत गरे, गाली गरे, हिलो आदि छ्यापेर दण्डित गरे र यहाँसम्म कि वेश्या -वृशली) आदिद्वारा सम्बोधित गरे । यसैको अनुसरण गर्दै मानिसले पनि यस प्रकारका कृत्य थाले । जसले त्यस समय यो पाप कर्म गथ्र्यो, तिनलाई दण्डित गरिन्थ्यो एवं दण्डस्वरूप तिनलाई ग्राम या निगममा दुई या तीन महिनासम्म प्रवेश गर्न दिइँदैनथ्यो । नरनारीको उन्मुख यौनाचार लुकीचोरी गरिने मैथुनमा परिवर्तित भएर परिवार उत्पत्तिको भूमिका बन्यो । यहाँसम्मको जुन वर्णन बौद्ध साहित्यमा आएको छ, त्यसलाई स्वर्णयुगको संज्ञा दिनु अतिशयोक्ति हुने छैन, यहाँसम्म जे भयो त्यसलाई हामी 'अति'को दायरामा नराखौँ किनभने सबभन्दा ठूलो खूबी यस अवस्थासम्म के थियो भने मानिसमा अझैसम्म संग्रहको प्रवृत्ति एवं सम्पत्तिको लालसा उत्पन्न भएको थिएन ।
अल्छी प्रवृत्तिले कुनै प्राणीका मनमा सर्वप्रथम संग्रह गर्ने विचार आयो र उसले सोच्यो 'किन ? बिहान/साँझ धान लिन जाने ? किन एकैपटक दुवै धान ल्याएर नराख्ने ?' यस्तो विचार मनमा आउनासाथ त्यस 'प्राणी'ले आफ्नो विचारलाई कार्य रूपमा परिणत गरिदियो । त्यो प्राणी संसारको प्रथम व्यक्ति थियो, जसले संग्रह वृत्तिलाई जन्म दियो र प्रोत्साहन पनि । यसपछि जब अन्य सत्व -प्राणी) ऊकहाँ गए र धान एकत्र गर्न सँगै जान आग्रह गरे, तब उक्त प्रथम सत्वले तिनलाई 'मैले एकैपटक दुवै समयका लागि धान लिएर आएको छु' भनी आफ्नो विचार अवगत गरायो । उसको यो कुरा अन्यलाई पनि धेरै मन पर्यो र तिनले पनि उक्त प्रथम सत्वको अनुसरण गर्दै क्रमशः दुई दिन, चार दिन, सप्ताह एवं महिनाभरिका लागि धान संग्रह गरी खान थाले । संग्रहबाट 'आत्मीय' बुद्धि उत्पन्न भयो । यस लोभवृत्तिको परिणाम-स्वरूप शाली पटक-पटक काट्नाले त्यसको उत्तमता समाप्त भयो एवं वृद्धि पनि रोकियो । समाजमा कुरीतिले कति छिटो स्थान बनाउँछ, जुन पछि पतनको कारण बन्दछ, यस घटनाबाट सिद्ध हुन्छ । धानमा अब बोक्रा आउन थाल्यो र आफै फल्न छाड्यो र ठाउँ-ठाउँमा जहाँ शाली हुन्थे, त्यहाँ खाली स्थान देखिन थाले र धानलाई पनि रोपेर फलाउनुपर्ने भयो । यसप्रकार शाली खेतहरूमा ऋतुअनुसार उत्पन्न हुन थाल्यो । बोक्रारहित धान अंतध्र्यान हुँदा मानिसले फेरि एकपटक विलाप गरे । पश्चाताप जुन आज पनि मानिसको बानी हो, यहाँबाट कृषि प्रारम्भ भयो ।
यस घटनापछि सबै प्राणी एकत्र भए र तिनले मिलेर हामी सबै आपसमा शालीका खेत बाँडौँ र आ-आफ्नो धान फलाऔँ भनी सोचे । सबैलाई यो विचार मन पर्यो र तिनले आपसमा खेतको भागबन्डा गरी आफ्ना खेतलाई घेरी सीमा लगाए । यो व्यक्तिगत सम्पत्तिको सर्वप्रथम उदय थियो । एक खेतमा एकको स्वामित्व भयो । तिनमा केही लालची प्राणी आ-आफ्ना खेतका रखवाली गर्न थाले र अर्काका खेतबाट शाली चोरेर खान थाले । यसबारे अन्य कुरा अघिल्लो लेखमा लेखिसकिएको छ । यस प्रकार तिनमा परस्पर मारपिट, लडाइँ-झगडा, कलह, युद्ध हुन थाल्यो । अराजकताको स्थिति बन्यो जसमा सोझा सुधा मानिसलाई बस्न कठिन भयो । व्यक्तिगत सम्पत्तिले उपभोगको विषमतालाई प्रश्रय दिन्छ साथै सञ्चयको प्रवृत्तिले लोभ र अन्य राग द्वेषलाई उत्पन्न गर्दछ । सामाजिक श्रमको फलमा अधिकारहेतु शक्तिको प्रयोग आमप्रवृत्ति बन्न जान्छ । शासन संस्थाको विकासपूर्व स्वर्णयुग थियो भन्ने बौद्ध धारणाले के स्पष्ट गर्छ भने बौद्धहरू राज्यभन्दा पहिले समाजको उत्पत्ति भएको थियो भन्ने मान्छन् । भाषाको जन्म पहिले हुन्छ, व्याकरणको पछि ।
बुद्धको आविर्भावभन्दा ठीक पहिलेको समय जम्बुद्वीपीय इतिहासको सर्वाधिक अन्धकारमय युग थियो । चिन्तनका दृष्टिले यो पिछडिएको युग थियो । विश्वासी हिन्दूका लागि नैतिकताको अर्थ धर्म ग्रन्थानुसार यज्ञलाई ठीक-ठाक गर्नुमात्रै थियो । त्याग या चित्तको पवित्रता आदि जस्ता यथार्थ नैतिक विचारलाई त्यस समयको नैतिक-चिन्तनमा कुनै पनि उपयुक्त स्थान प्राप्त थिएन । त्यस युगमा नारी समाजको स्थिति पनि अत्यन्त दयनीय, शोचनीय, नारकीय एवं पासविक थियो । यद्यपि केही इतिहासकारले मनुस्मृति र गीतालाई बुद्धपूर्वका ग्रन्थ मान्छन् र केही बुद्धपछिका । यहाँ यिनका ऐतिहासिकताको निर्णय गर्नु मुख्य विषय होइन । श्रीकृष्णले गीतामा भनेका छन्,'हे अर्जुन, मेरो शरण ग्रहण गर्नाले जति पनि पाप योनी छन्, चाहे त्यो स्त्री होस्, या वैश्य, या शूद्र, तिनले पनि परमगति प्राप्त गर्छन् ।' मनुले समाजमा स्त्रीको स्थिति वर्णन गर्दै भनेका छन्, 'पुरुषले आफ्नो अधीनका स्त्रीलाई कहिल्यै स्वेच्छाचारी बन्न दिनुहुन्न । कुमारी अवस्थामा पिताले स्त्रीको रखवाली गर्छन्, युवावस्थामा पतिले र वृद्धावस्थामा पुत्रले ।' दासी -स्त्री)लाई पशुको कोटीमा राख्दै मनु भन्छन्, 'यही नियम गाई, घोडी, दासी, ऊँटनी, बाख्री, भेडी, पक्षिणी र भैँसीका सन्ततिका विषयमा पनि जान्नू ।' यतिमात्रै होइन, मनुले पत्नीलाई दास-दासीझैँ बेच्ने प्रावधान गर्दै भनेका छन्, 'यसैले बिक्री र दानद्वारा पत्नी पतिबाट छुट्न सक्तिन । पहिले प्रजापतिले जुन नियम -धर्म) बनाएका थिए, त्यो यस्तै थियो ।'
गीता र मनुस्मृति वैदिक-वाङ्मयका सर्वोच्च एवं उत्कृष्ट ग्रन्थ मानिन्छन् । गीतामा वैश्य, स्त्री, शूद्र आदिलाई पाप योनी भनिएको छ । मनु श्रीकृष्णभन्दा दुई हात अघि बढेर भन्छन् कि स्त्रीलाई स्वतन्त्र छाड्नु हुँदैन । स्त्रीमाथि नियन्त्रण राख्नु आवश्यक छ । यस कथनबाट स्त्रीको स्वतन्त्रता हनन् हुन्छ । स्त्रीमा मनुले सबै दुर्गुणै दुर्गुण देखाउने र सिद्ध गर्ने प्रयास गरेका छन् ।
बुद्धका अनुसार मनुष्य जीवनको मुख्य समस्या 'दुःख' हो र यस दुःखको अन्तिम कारण अविद्या -लोभ) हो । केही विद्वान्का अनुसार अनेक समस्याबाट मनुष्य जीवन ग्रसित छ । यीमध्ये केही समस्या मनुष्य स्वयंले निम्त्याउछ । मनुष्य-मनुष्यबीच विरोधमा अहं, स्वार्थ, लालच, द्वेष, क्रोध, मोह आदिले सक्रिय भूमिका निभाउँछन् । जब मान्छेलाई यी तत्त्वले थिच्छ अनि भयानक द्वन्द्व पैदा हुन्छ मानवमा । यो क्रम चल्दै आएको छ । रोमका कवि प्लाउतुनको 'मानिस मानिसका लागि ब्वाँसो हुन्छ' भन्ने भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ । डिआइजी रञ्जन कोइरालाकी पत्नी गीताको वीभत्स हत्यामा यो भनाइ शतप्रतिशत सत्य देखिन्छ ।
No comments:
Post a Comment