विज्ञान, ईश्वर र वैज्ञानिक
-गोपाल विरही
‘वैज्ञानिक गोरेटोमा’ पुस्तक पढेपछि म दयानन्द बज्राचार्यका लेखको पाठक भएको हुँ । बज्राचार्यले ‘ईश्वर’बारे लेख्नुभएको लेख हालै पढेँ । अनीश्वरवादबारे दृष्टिकोण प्रस्तुत गर्नु यस लेखको उद्देश्य हो ।
बुद्धका युगमा मानिसले आफ्ना मनमा अनेक देवी–देवताका कल्पना गरिराखेको थियो र ऊ मानव–कल्याणका लागि तीसँग ‘अर्चना’ गथ्र्यो । त्यस समय यस्ता व्यक्तिको अभाव थिएन जसले देवतालाई संसारको स्रष्टा एवं समस्त विश्वको शासक बनाइदिए र तिनलाई कतिसम्म शक्ति दिए भने तिनले मानिसको नियतिलाई पनि राम्रो या नराम्रो बनाउन सक्थे । बुद्धले के निष्कर्ष प्राप्त गर्नुभयो भने देवताहरुको यस प्रकारको भयलाई हटाउन एवं भविष्यका संभावित यन्त्रणा अर्थात् मनुष्य–स्वभावको भ्रष्टाचार, जसको झुकाव चाप्लुसी एवं स्तुतिद्वारा देवताका प्रसाद खरिद गर्नेतिर थियो, लाई हटाउने एकमात्र उपाय सबै देवताका कल्पनालाई समाप्त गर्नु नै हुनेछ । बुद्धले के अनुभव गर्नुभयो भने मानिसले ईश्वरलाई ‘आदि कारण’का रुपमा स्वीकार गर्नु औचित्यपूर्ण छैन, किनभने ‘आदि कारण’को भाव हाम्रो नैतिक प्रगतिमा सहायक हुन सक्दैन । यसबाट निष्क्रियता एवं अनुत्तरदायितारुपी दुर्गुणलाई प्रोत्साहन मिल्छ । यदि ईश्वरको सत्ता छ भने संसारमा ऊद्वारा राम्रो वा नराम्रो जे हुन्छ, ती सबैको एकमात्र कारण मान्नुपर्नेछ र त्यस अवस्थामा मानिसको आफ्नो स्वतन्त्रता केही रहेन । यदि ऊ दुश्चरित्रतासँग घृणा गर्छ र पापको स्रष्टा हुन स्वीकार गर्दैन भने ऊ सार्वभौमकत्र्ता कसरी भयो ? यस अतिरिक्त ‘एक प्रेम–रुप ईश्वर’को सत्तामा विश्वास गर्दा जीवनका अनेक हृदय विदारक घटनाको व्याख्या पनि सरलतापूर्वक गर्न सकिन्न । यसैले बुद्धले ईश्वरको सत्तालाई स्वीकार्नु भएन र यसका विपरीत ईश्वरको सत्ताका समर्थनमा प्राचीन कालदेखि जुन तर्क उपस्थित गरिन्थ्यो, प्राचीन बौद्ध धर्मका अनुयायीले ती सबैको खण्डन गरे । बुद्धको दर्शनमा अनित्य, अनात्म र प्रतीत्यसमुत्पादको स्वरुप अवलोकन गर्दा त्यसमा ईश्वर या ब्रह्माको गुंजायस पनि त्यसैगरी छैन, जसरी आत्माको ।
ईश्वरको अस्तित्व केवल कल्पनामा निर्भर गर्छ । त्यसैले तिनमा विश्वास गर्नु कुनै उपयोगी छैन । बुद्धले ईश्वर सृष्टिकर्ता, सर्वव्यापक भनेर कहिल्यै स्वीकार्नु भएन । काल्पनिक ईश्वरमा शिव, न्यायकारी र दयालुताजस्ता मानवीय नैतिक गुण रहेको बताउनु पनि तार्किक एवं व्यवहारिक दृष्टिले औचित्यपूर्ण छैन । यसैले ईश्वरमा विश्वास गर्नु लाभप्रद छैन । बुद्धले यस समस्यालाई विभिन्न दृष्टिले हेरी त्यसमाथि चिन्तन–मनन गर्नुभयो । बुद्धसँग ईश्वरको अस्तित्वलाई अस्वीकार गर्नुका अनेक कारण थिए । बुद्धको प्रथम तर्क के थियो भने ईश्वरको अस्तित्वको ‘सिद्धान्त’ सत्यमा आश्रित छैन । बुद्धले वाशिष्ट नामक व्यक्तिसँग कुराकानीमा भन्नुभएको थियो, ‘वाशिष्ठ ! त्रैविद्य ब्राह्मण, आचार्य–प्राचार्य, पुरोहितका पूर्वज, ऋषि, मंत्रकत्र्ता, मंत्र–प्रवक्ता, अष्टक, वामक, वामदेव, विश्वामित्र, यमदग्नि, अंगिरा, भरद्वाज, वाशिष्ठ, कश्यप, भृगुमध्ये कोही एक छैन, जसले ब्रह्मालाई आफ्ना आँखाले देखेका होऊन् । यो त दृष्टिविहीनको पंक्ति एक–अर्कासँग जोडिएको जस्तै भयो । पहिलोले देख्दैन, बीचकोले पनि देख्दैन र पछाडिकोले पनि देख्दैन ।’ बुद्धले अगाडि भन्नुभयो, ‘ वाशिष्ट ! कुनै मानिसलाई यस्ती स्त्रीसँग प्रेम भएछ, जसलाई उसले कहिल्यै देखेकै छैन । के यो ठीक त्यस्तै होइन ?’
ईश्वर, जो पूज्य, विजेता, अविजित छन्÷हुनेछन्, जसबाट हाम्रो उत्पत्ति भयो ती सबका पिता, यस्ता ब्रह्मा जो स्थाई, सतत् रहने, नित्य अपरिवर्तनशील र अनन्तकालसम्म त्यस्तै रहने छन् भने हामी सबै जसलाई ब्रह्मा (ईश्वर)ले उत्पन्न गरे, किन अनित्य, परिवर्तनशील, अस्थिर, अल्पजीवी र मरणधर्मी छौँ ? यी प्रश्नको कुनै ईश्वरवादीसँग उत्तर छैन । यदि ईश्वर सर्वशक्तिमान छन् र उनी सृष्टिका ‘पर्याप्त कारण’ हुन् भने मानिसका मनमा केही गर्ने इच्छा नै उत्पन्न हुन सक्तैन । न त उनका मनमा केही गर्ने कुनै पनि प्रकारको प्रयत्न र संकल्प नै पैदा हुन सक्छ । यदि यसै हो भने ईश्वरले पैदा नै किन गरे ? यदि कुनै यस्तो महान् सृष्टिकर्ता छ, जो न्यायी र दयालु पनि छ, भने संसारमा यति धेरै अन्याय किन भइरहेछ ? जससँग आँखा छन्, उसले यो दर्दनाक स्थितिलाई देख्न सक्छ । ब्रह्माले आफ्नो रचनालाई किन सुधार गर्दैनन् ? यदि उनको शक्ति यति असीम छ कि त्यसलाई रोक्ने कोही छैन भने उनका हात नै किन यस्ता छन् कि सायदै कहिल्यै कसैको कल्याण गरेका होउन् ? उनको सारा सृष्टि दुःख किन भोगिरहेछ ? उनी सबैलाई सुखी किन राख्दैनन् ? चारैतिर ठगी, झूट र अज्ञान किन फैलिएको छ ? सत्यमाथि झूटले किन बाजी मार्छ ? म तिम्रो ईश्वरलाई अन्यायी मान्दछु, जसले केवल अन्यायलाई आश्रय दिन नै यस जगत्को रचना गरे । बुद्धले भन्नुभयो, ‘ईश्वरको चर्चाद्वारा कुनै प्रयोजन सिद्ध हुँदैन ।’ बुद्धका अनुसार धर्मको धुरी ईश्वर र मानिसको सम्बन्ध होइन, बरु मानिस–मानिसको सम्बन्ध हो । मानिसलाई अरु मानिससँग कसरी व्यवहार गर्ने भन्ने शिक्षा दिनु नै धर्मको प्रयोजन हुनुपर्छ, ताकि सबै मानिस प्रसन्न रहन सकून् ।
ईश्वर–विश्वास एकदमै खतरनाक कुरा हो किनभने यही नै प्रार्थना र पूजाको ‘सामथ्र्य’मा अन्धविश्वासको कारण हो । प्रार्थना गराउने ‘आवश्यकता’ले नै पुरोहित र पुजारीलाई जन्म दियो र, पुरोहित त्यो बदमास दिमाग थियो जसले अन्धविश्वासलाई जन्म दियो र सम्यक्–दृष्टिको मार्गलाई अवरुद्ध गरिदियो । महत्त्वपूर्ण के हो भने के ईश्वरले सृष्टिभाव (कुनै पदार्थ) बाट उत्पन्न गरे अथवा अभाव (शून्य) बाट ? शून्य वा ‘केही छैन’बाट ‘केही’को रचना भएको भनेर ‘विश्वास’ गर्नु असम्भव छ । यदि ईश्वरले सृष्टिको रचना ‘केही’ मध्येबाट गरेका हुन् भने त्यो ‘केही’ ईश्वरले कुनै पनि अन्य चिज उत्पन्न गर्नुभन्दा पहिल्यैदेखि चलिआएको भयो, जसबाट नयाँ ‘केही’ उत्पन्न गरियो । यसैले ईश्वरलाई त्यस ‘केही’का रचयिता स्वीकार गर्न सकिन्न, जुन उनकै पनि अस्तित्वभन्दा पहिलेदेखि चलिआएको छ । यसैले ईश्वरलाई सृष्टिको ‘आदि कारण’ भन्न सकिँदैन ।
दयानन्द बज्राचार्यले आफ्नो लेखमा ईश्वर मान्ने बर्कले आदि वैज्ञानिकका उदाहरण दिनुभएको छ । तर वैज्ञानिक टि.एस. हक्सले भन्छन्, ‘चित्त चेतनाका पृष्ठभूमिमा ठोस सार आत्मा नभएको कारणलाई हामी राम्ररी देखाउन सक्छौँ । बर्कलेले यो तथ्यलाई राम्ररी जानेका थिएनन् । यो क्षेत्रमा गौतम बुद्धले आधुनिक युगमा प्रसिद्ध विज्ञानवादीले भन्दा बढी गम्भीर रुपमा देख्नु÷जान्नुभएको थियो ।’ त्यस्तै वैज्ञानिक नोर्मन एफ, हल भन्छन्, ‘विज्ञानले बुद्धिमान् सृष्टिकर्ता ईश्वर छ भन्ने धारणालाई समर्थन नगर्नेमात्र होइन, ईश्वर नाउँको कुनै रुपको अस्तित्वको सम्भावनासमेत निकै न्यून छ भन्नेबारेको सबल प्रमाण पनि हामीलाई प्रदान गर्छ ।’ स्वयं बुद्धका अनुयायी अनागारिक पी. सुगतानन्द भन्छन्, ‘भगवान् बुद्धले उपदेश दिनुभएको धर्ममा अनुभवद्वारा परीक्षण गर्न नसकिने कुनै पनि कुरामा विश्वास गर्नुपर्छ भन्नेजस्ता कुनै कुरा छैनन् ।’ सर एडवीन आर्नल्ड भन्छन्, ‘मैलै प्रायः भन्ने गरेको छु र बारम्बार दोहो¥याउनेछु कि बुद्ध धर्म र आधुनिक विज्ञानका बीचमा मात्र निकटतम बौद्धिक सम्बन्ध विद्यमान छ ।’ दार्शनिक वरट्राण्ड रसेलको भनाइ छ, ‘इतिहासमा विद्यमान धर्ममध्ये म बुद्धधर्मलाई मन पराउँछु ।’
अन्त्यमा, आजभोलि मानिस महायज्ञादि गरेर विद्यालय–क्याम्पस भवन त बनाउँछन्, र प्रसंशनीय हो, तर पठनपाठनको विषयवस्तु सम्यक् दर्शनमा आधारित नहुँदासम्म समाज परिवर्तन हुन सक्दैन ।
gopalbir@yahoo.com
(‘नयाँ पत्रिका’ बाट साभार)
No comments:
Post a Comment