-गोपाल विरही
अहिले नेपाल संक्रमणकालीन अवस्थामा छ र नयाँ संविधानमा कस्तो प्रकारको संघीयताको व्यवस्था गर्ने भन्ने पेचिलो बहस चलिरहेको छ । यसै सन्दर्भमा बुद्धकालीन जम्बुद्वीप र अहिलेको नेपाली समाजको तुलनात्मक अध्ययनका साथै बुद्धद्वारा परिकल्पित आदर्श समाजबारे जानकारी दिई त्यसद्वारा संविधान निर्माणसँग सम्बद्ध पक्षलाई नयाँ दृष्टि प्राप्त होस् भन्ने मनसायले यो आलेख तयार पारिएको छ ।
बुद्धको युगमा कुरैपिच्छे युद्ध, संघर्ष, सामाजिक भेदभाव एवं विषमताका फलस्वरुप शोषणको अत्यधिक बोलवाला थियो । यज्ञहरुमा दिइने बलिहरुलाई ‘धार्मिक मान्यता’ प्राप्त थियो । वर्ण–व्यवस्था र जातिका कारण समाजमा शूद्र, दास र अन्य ‘अस्पृश्य’ जातिहरुको जीवन पाशविक एवं नारकीय अवस्थासम्म पुगेको थियो र शोषण, उत्पीडन वा अन्यायको बोलवाला थियो । त्यस युगको समाज–व्यवस्था विशुद्ध रुपले वर्ण–व्यवस्था र जाति–प्रथामा निर्भर गर्दथ्यो, जसमा केही वर्णलाई विशेष सुविधाहरु प्राप्त थिए र केहीलाई आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक एवं धार्मिक सुविधाहरुबाट वञ्चित गरिएको थियो । जसकारण उनीहरुको जीवन पशुहरुको जीवनका अपेक्षा निम्न एवं हेय सम्झिइन्थ्यो । आजको नेपाली समाज र त्यसको मनोविज्ञानमा पनि यी अवशेषहरु विद्यमान छैनन् भन्न सक्ने हामी भइसकेका छैनौँ ।
बुद्धको हृदय करुणाले ओतप्रोत थियो । यसकारण उहाँलाई महाकारुणिक विशेषणले पनि सम्बोधित गरिन्छ । महाकारुणिक हुनाले बुद्धलाई यज्ञहरुमा गरिने हिंसा र मनुष्यको शोषण कत्ति पनि मन पर्दैनथ्यो । वर्ण–व्यवस्था र जातिका आधारमा ऊच–नीच र भेदभावसँग बुद्ध सहमत हुनुहुन्नथ्यो । उहाँ समाजमा सर्वदा समता, एक रसता र भ्रातृत्वको भावनाका समर्थक हुनुहुन्थ्यो । यसकारण उहाँले अन्यायको सर्वदा विरोध एवं निषेध गर्नुभयो ।
यस पृष्ठभूमिमा बुद्धले यस्तो समाजदर्शनको परिकल्पना गर्नुभयो, जसलाई सम्पूर्ण दृष्टिकोणद्वारा आदर्श समाज–व्यवस्थाको संज्ञा प्रदान गर्न सकियोस् । त्यस आदर्श समाज–व्यवस्थामा शोषण, अन्याय, भेदभाव, ऊच–नीच र असमानता आदिको नितान्त अभाव छ । बुद्धले जुन समाजदर्शनलाई जन्म दिनुभयो, त्यो प्रज्ञा, शील, मैत्री र करुणामाथि निर्भर गर्दथ्यो, जसको फलस्वरुप बुद्धको समाजदर्शन विशुद्ध रुपले नैतिक–चारित्रिक एवं मानवीय मूल्यहरुमा निर्भर थियो । यसकारण बुद्धद्वारा यज्ञ–पूजाहरुमा दिइने बलिहरु एवं अन्य प्रज्ञारहित कर्मकाण्डहरुलाई निषेध गरिएको थियो ।
वैदिक समाजदर्शनको प्रचलनका समयमा महावीरद्वारा पनि अहिंसामाथि निर्भर समाजदर्शन प्रस्तुत गरिएको थियो, जुन वैदिक समाजदर्शनको ठीक विपरीत एवं एक सीमासम्म अव्यवहारिक पनि थियो । तर, बुद्धद्वारा मध्यम–मार्गको अनुसरण गरिँदै यस्तो समाजदर्शनको परिकल्पना भयो, जसको अनुशीलन गरी व्यक्ति एवं समाजले आफ्नो सर्वाङ्गीण विकास गर्न सक्दथे–सक्दछन् । यथार्थमा बुद्धको व्यक्ति–समाजको नैतिक मूल्यमाथि निर्भर त्यो परिकल्पनाको अनुशीलनद्वारा व्यक्ति–समाज ‘बहुजन हिताय, बहुजन सुखाय, लोकानुकम्पाय’ तिर अग्रसर हुन सक्थ्यो–सक्छ ।
जुन समाज अथवा मनुष्यहरुको समूह (समुदाय) ले बुद्धको समाजदर्शनको अनुशीलन गर्दछ, त्यसलाई आदर्श समाजको संज्ञा प्रदान गर्न सकिन्छ । बुद्धको आदर्श समाजमा अन्धविश्वासहरुको अभाव पाइन्छ र यो सर्वदा मानव–कल्याणको दिशातिर उन्मुख रहन्छ । बुद्धको आदर्श समाज वा ‘बौद्ध–जीवन–मार्ग’ को तात्पर्य ‘शुभ कर्म गर, अशुभ कर्ममा सहयोग नदेऊ, कुनै पाप कर्म नगर’ हो । जुन समाजमा अन्धविश्वास, पाखण्ड र ढोंगको स्थानमा बुद्धि, तर्क–संगत र शुभ आचरण गरिन्छ, जहाँ जादू–टुना र पशुबलि गरिँदैन, त्यसलाई आदर्श समाजको संज्ञा प्रदान गर्न सकिन्छ । जहाँ वर्ण–व्यवस्था, जाति र गोत्रको आधारमा ऊच–नीच वा भेदभाव हुँदैन र प्रत्येक मनुष्यलाई आफ्नो क्षमता, योग्यता, रुचि र अभिरुचिहरुका आधारमा व्यवसाय (वृत्ति) चयनको पूर्ण स्वतन्त्रता हुन्छ, त्यसलाई आदर्श समाजको संज्ञा प्रदान गर्न सकिन्छ ।
जुन समाजका समस्त सदस्य एकत्रित भएर विचार गरेर बहुमतबाट कुनै निर्णय गर्छन् र फेरि त्यसको पालन गर्दछन्, जहाँ मानिसहरु अ–प्रज्ञप्त (गैर–कानूनी) कार्य गर्दैनन्, जहाँ वृद्धहरुलाई सम्मान गरिन्छ, जहाँ स्त्रीहरुसँग बलात् र जोर–जबर्जस्ती गरिँदैन, जहाँ चैत्य (प्रेरणा–स्थल)हरु को सम्मान गरिन्छ र धर्म (पवित्र चित्त) अनुसार अर्हत् (तृष्णामुक्त)हरुको सम्मान हुन्छ, त्यस्तो समाजलाई आदर्श समाज भनिन्छ । बुद्धको आदर्श समाजमा झूट, बकवास, चुक्ली गरिँदैन । चोरी, व्यभिचार गरिँदैन र सुरा आदि मादक द्रव्यहरुको सेवन गरिँदैन । भन्नाको तात्पर्य यो हो कि जुन समाजमा गृहस्थ (बौद्ध उपासक)ले पञ्चशील र भिक्षुले अष्टशीलको पालन गर्दछन्, त्यो आदर्श समाज हुन्छ ।
जुन समाजमा मानिस मूर्खहरुको संगत नगरेर बुद्धिमानहरुको संगत गर्छन् र पूज्यहरुको पूजा गर्दै अनुकूल स्थानहरुमा निवास गर्छन् एवं पहिलेका पुण्यहरुलाई सञ्चित गरी निरन्तर सन्मार्गमा हिँड्छन्, त्यो समाज आदर्श समाज कहलाइन्छ । जहाँ सबै मानिसहरु बहुश्रुत हुन्छन्, शिल्प सिक्छन्, शिष्ट हुन्छन्, सुशिक्षित हुन्छन् र मृदुभाषी हुन्छन्, त्यो आदर्श समाज हुन्छ । जहाँ मानिसहरु माता–पिताको सेवा गर्दछन्, पत्नी, पुत्र–पुत्रीको लालन–पालन गर्छन् र कुनै गलत कार्य गर्दैनन्, दान दिन्छन्, बन्धु–बान्धवहरुको सत्कार गर्छन् एवं निर्दोष कार्य गर्छन्, त्यो समाज आदर्श समाज हुन्छ । जहाँ मानिसहरु मन, शरीर तथा वचनले पापहरुलाई त्यागिदिन्छन् र कुशल कर्ममा तत्पर रहन्छन्, त्यो आदर्श समाज हुन्छ । जुन समाजमा स्व–गौरव हुन्छ, मानिसहरु नम्र हुन्छन्, सन्तुष्ट रहन्छन्, कृतज्ञताको गुण पाइन्छ, आज्ञाकारी हुन्छन्, उचित समयमा राम्रा उपदेशहरु श्रवण गर्दछन्, क्षमाशील हुन्छन्, श्रमण (भिक्षु–सन्न्यस्त)हरुको दर्शन गर्छन्, उचित समयमा सदुपदेशहरुबारे चर्चा गर्दछन्, ब्रह्मचर्यलाई पालन गर्दछन्, आर्य–सत्य (दुुःख, समुदय, निरोध र मार्ग)हरुको दर्शन एवं निर्वाणको साक्षात्कारका लागि प्रयत्नरत रहन्छन्, त्यो आदर्श समाज हुन्छ । जुन समाजको सदस्य लोकधर्म (सुख–दुःख, यश–अयश, निन्दा–प्रसंशा, लाभ–अलाभ)बाट विचलित हुँदैनन्, निःशोक, निर्मल तथा निर्भय रहन्छन्, त्यो आदर्श समाज मानिन्छ । जुन समाज आफ्नो जीवनमा पवित्रता बनाइराख्छ, जीवनमा पूर्णताको प्राप्तितिर अग्रसर रहन्छ, जो निर्वाण प्राप्तिमा विश्वास राख्छ, जो तृष्णालाई त्याग्ने प्रयासमा रहन्छ, जो समस्त संस्कारहरुलाई अनित्य मान्दछ र जो ‘कर्म’लाई मानव–जीवनको नैतिक संस्थानको आधार मान्दछ, त्यो आदर्श समाज हुन्छ ।
बुद्धको आदर्श–समाज परा–प्राकृतिकमा विश्वास गर्दैन, न ईश्वरको सत्तामा, यस्तो धर्ममा विश्वास गर्दैन, जो ब्रह्म–सायुज्यमा आधारित छ, आत्मामा विश्वास गर्दैन, यज्ञ (बलिकर्म)मा विश्वास गर्दैन, कल्पनाश्रित विश्वासहरुमा विश्वास गर्दैन, ‘धर्म’का पुस्तकहरुको वाचनमात्रमा विश्वास गर्दैन, वैदिक वर्ण–व्यवस्था र जातिमा निर्भर ऊच–नीच, भेदभाव आदिमा विश्वास गर्दैन । बरु यसको विपरीत ऊ समाजमा मनुष्यको समानता, स्वतन्त्रता, भ्रातृत्वभावमा विश्वास गर्दछ । यो समाजमा शोषण र अन्यायका लागि किञ्चितमात्र पनि स्थान छैन । सामाजिक न्याय र शोषणरहित समाजको स्थापना गर्नु बुद्धको आदर्श समाजको उद्देश्य हो । यसकारण यो समाजमा न कुनै वर्ण हुन्छ र न कुनै जाति । मनुष्यको मूल्यांकनको आधार केवल उनीहरुको कर्म हो ।
बुद्धका अनुसार मनुष्यको जीवन दुःखमय छ । यसकारण बुद्धको समाजदर्शनको सर्वोच्च उद्देश्य आदर्श समाज बनाउनु हो । बुद्धद्वारा दुःखको अन्तिम कारण अविद्या एवं अज्ञान बताइएको छ । यसकारण दुःखलाई समाप्त गर्न परमावश्यक छ, अविद्या एवं अज्ञानको समाप्ति । बुद्धको समाजदर्शनले जसरी श्रीकृष्णको शरणमा जाँदा मोक्षको प्राप्ति हुन्छ, त्यसरी मुक्ति या मोक्षको ग्यारेन्टी गर्दैन । बौद्ध–मार्गलाई पनि आस्था राखेरमात्रै हुँदैन, अनुशीलन गरे उपरान्त नै कल्याण सम्भव छ । बुद्धले आफ्नो समाजदर्शनमा आफ्ना एवं आफ्नो कुनै प्रियका लागि कुनै विशेष स्थान बनाएर राख्नु भएन । जबकि अन्य धर्महरुमा कसैले आफैलाई ईश्वर या उसको अवतार, कसैले अल्लाहको पैगम्बर र कसैले परमेश्वरका पुत्र भनेर विशेष स्थानमा राखे । बुद्धले स्वयंलाई आममान्छेहरु समान प्रकृति–पुत्र भनेर सम्बोधित गर्नुभएको थियो । बुद्धको समाजदर्शन ‘अत्तो दीपो भव’ अर्थात आफ्नो दीयो आफै बन्ने कुरा गर्छ । यसैले बुद्धले भाग्यवादलाई निषेध गर्दै कर्मको सिद्धान्त प्रतिपादन गर्नुभयो, जसद्वारा मनुष्यलाई अकर्मण्यता र निष्क्रियताबाट रोकेर कर्मशील एवं सक्रिय बनाउन सकियोस् । बुद्धको समाजदर्शनको नीतिशास्त्रले कान्ट र श्रीकृष्णझैँ ‘ईश्वरको अस्तित्वमा विश्वास’ र ‘आत्माको अमरता’ लाई मान्दैन । बुद्धको समाजदर्शनका अनुसार मनुष्य कर्म गर्न पूर्ण स्वतन्त्र छ । कर्मको स्वतन्त्रतालाई स्वीकार्दा मात्रै मनुष्यलाई नैतिक अथवा अनैतिक कार्यका लागि उत्तरदायि ठहर्याउन सकिन्छ, अन्यथा सकिन्न । बुद्धका लागि नैतिक मूल्यको स्रोत कुनै बाह्य शक्ति, जस्तै– ब्रह्म, ईश्वर आदि होइन, बरु तिनको स्रोत केवल मनुष्य र मनुष्यको समाज नै हो । बुद्धका समस्त नैतिक एवं मानवीय मूल्यहरुको आधारशीला प्रज्ञा, शील, मैत्री र करुणा हो । यिनै मुख्य मूल्यहरुद्वारा सत्य, सहिष्णुता, क्षमा, दान, परोपकार आदि मूल्यहरुको जन्म हुन्छ । हिन्दू र अन्य धर्ममा झैँ ईश्वर, ब्रह्म आदिको प्राप्ति नभएर बुद्धको समाजदर्शनको उद्देश्य दुःखविहीन समाज बनाउनु हो ।
उचित समाजदर्शनको अभावमा आज वर्तमान नेपाली समाजमा ईष्र्या, द्वेष, कलह, स्पर्धा, हिंसा, भ्रष्टाचार, चोरी–डकैती, हत्या र बलात्कारहरुको बोलवाला छ । आज जीवनका प्रत्येक क्षेत्रमा भ्रष्टाचार चलन बनिसकेको छ । सामाजिक जीवनको कुनै यस्तो अछूतो क्षेत्र छैन, जुन भ्रष्टाचारले लिप्त नहोस् । घुसलाई सुविधा–शुल्क र कोसेली (गिफ्ट्स) का संज्ञाहरु प्रदान गर्न थालिएको छ । सरकारी कार्यालयहरुमा भ्रष्टाचारले आफ्नो पराकाष्ठा पार गरिसकेको छ । विद्यालय र विश्वविद्यालय भ्रष्टाचारका अड्डा बनिसकेका छन् । राजनीतिज्ञहरुद्वारा गरिने अनेक काण्ड राजनीतिक–संस्कृतिको चलन एवं शिष्टाचार (?) बनिसकेका छन् । सरकारद्वारा क्यासिनो चलाउने अनुमति दिनु जुआ खेल्न प्रोत्साहन दिइनु हो । यथार्थमा राज्यको यस प्रकारको व्यवहारद्वारा नेपाली समाजको पराभवका बारेमा थाहा लाग्दछ । अहिले ‘बहुलवाद’लाई नयाँ संविधानको प्रस्तावनामै राख्ने–नराख्नेबारे खूब ‘परिश्रम’ गरिरहेका राजनीतिक दलहरुले बुद्धको समाजदर्शनलाई कसरी समेट्ने भन्नेबारे कत्ति पनि छलफल नगर्नु लज्जाको विषय हो । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर मात्र पुग्दैन, नेपाली राजनीतिज्ञहरुले नयाँ बन्ने संविधानद्वारा राज्यको पुनर्संरचना गर्दा र संघीयताको खाका कोर्दा नेपाली समाजको हितार्थ बुद्धको समाजदर्शनलाई कसरी समेट्ने भन्नेबारे बहस, प्रयत्न र सहमति गर्न सके भने त्यो बुद्धप्रतिको ठूलो सम्मान हुने थियो ।
gopalbir@yahoo.com
‘नयाँ–पत्रिका’बाट साभार
No comments:
Post a Comment