Monday, April 23, 2012

शासकीय स्वरूप, धान र दण्ड

-गोपाल विरही
अहिले नेपालमा नयाँ संविधानद्वारा राज्यको कार्यकारिणी शासकीय अधिकार प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई दिने कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा संसद्बाट निर्वाचित प्रधानमन्त्रीलाई दिने भन्ने बहसले राजनीति तातेको छ । राज्य र शासकको आवश्यकता र उत्पत्तिबारे हब्स, लक, रुसोजस्ता पाश्चात्य विद्वान्द्वारा प्रकट विचारका आधारमा भइरहेका बहसबाहिर गई गौतम बुद्धका सम्बद्ध विचारबारे विमर्श गर्नु प्रस्तुत लेखको अभिष्ट हो । बौद्ध साहित्यले सृष्टि-विज्ञान, मानवको उत्पत्ति र उसको नैतिक पतनलाई परिवार, समाज, राज्य र व्यक्तिगत सम्पत्तिको उत्पत्तिको व्याख्याद्वारा प्रस्तुत गरी वर्ग-संघर्षको चित्रण गर्छ । वर्ग-संघर्ष कृषियोग्य भूमिको उचित भागवण्डामा मात्रै सीमित छैन । वर्ग-संघर्षले यौनाचार, परिवार, संग्रह-वृत्ति, हिंसा, संघर्ष र सम्झौताबाट उद्भूत आर्थिक क्षेत्रसँग मिलेर दार्शनिक, सामाजिक र जातीय तानाबानाको रूप पनि लिन्छ । यस विकास-क्रमले युगान्त सन्धि र संक्रमणकालका सीमालाई नाघ्छ । समष्टि र समन्वयका अभिप्रेरक तत्त्वका दर्शन हुँदै जान्छन्, जसले इतिहास-बोधको अपरिहार्यतामाथि जोड दिन्छन् । वर्ण-व्यवस्था, आश्रम-व्यवस्था र 'पुरुषार्थ'युक्त चतुष्टयी जीवन-योजना वैदिक शासन-व्यवस्थाका मेरुदण्ड थिए भने बौद्धहरूले संघीय व्यवस्थाको प्रवेशद्वार मानव मात्रका लागि खोलिदिएर पुरातनतालाई चुनौती दिए । संघमा प्रविष्ट व्यक्ति कुनै 'सामाजिक व्यवस्था'सँग बद्ध हुँदैन र उसको वर्ण, कुल, गोत्र सबै समाप्त हुन्छ । आभ्यन्तरिक उन्नतिका लागि यो संघ-नियम अपरिहार्य हुन्छ तर निहिताशय बौद्धको धर्म-विजयको त्यस पृष्ठभूमिमा मात्रै अर्थवान् हुन्छ जहाँ शीलयुक्त आचार, पापकर्मबाट विरक्ति र नियम-पालन नै वर्ण बन्छ एवं चेतना नै कर्मको संवाहक बन्छ ।
बौद्ध ग्रन्थ 'दीर्घ निकाय' मा संसारको उत्पत्ति वर्णनका क्रममा राज्य उत्पत्तिको पनि उल्लेख प्राप्त हुन्छ । बौद्ध 'ईश्वर'लाई मान्दैनन् । अतः 'ब्रह्मा' -दैवी उत्पत्ति) द्वारा 'राजा' -शासक) को सृष्टिका कथा ती ग्रन्थमा स्वभावतः छैनन् । अतः बौद्ध दर्शनमा राज्यको उत्पत्तिसँग सम्बन्धित जुन सिद्धान्तको दर्शन हुन्छ, त्यो स्पष्टतः सामाजिक सम्झौताको सिद्धान्त नै हो ।
दीर्घ -पालि भाषामा दीघ) निकायको अग्गज्ज-सूत्र या सृष्टि-ग्रन्थअन्तर्गत जुन कथा पाइन्छ, त्यसको प्रारम्भ सृष्टिको उदयबाट भएको छ एवं त्यहाँ वणिर्त प्राकृतिक अवस्थालाई एक स्वणर्ीम अवस्था भन्न सकिन्छ । दीर्घ-निकायका अनुसार सृष्टिको प्रारम्भमा प्राणी मनद्वारा निर्मित 'मनोमय' स्वयं-प्रकाश (पालि भाषामा 'सयंपभा') थिए र प्रेमको भक्षण गरी त्यसमा जीवित रहने -पीतिभक्खा) गर्थे । ती अन्तरिक्षमा घुम्ने -अन्तलिक्खचरा) गर्थे । यो प्राकृतिक अवस्था (स्टेट अफ नेचर) मनुष्य-वर्गसँग सम्बन्धित नभएर त्यसपूर्वका प्राणीसँग सम्बन्धित छ । कदाचित् पृथ्वी उदकबाट निस्कने रस सुगन्ध-सम्पन्न थियो एवं सत्व -प्राणी) तिनको भक्षण गर्दै जीवित रहन थाले र त्यसबाट तिनको स्वयंप्रभ स्वरूप नष्ट भयो एवं दिन-रात आदिको प्रादुर्भाव भयो । यसपछि क्रमशः पटक-पटक लता एवं मनुष्यमा खराबी -लोभ) उत्पन्न एवं नष्ट हुँदै गयो । अन्त्यमा धान प्रादुर्भूत भयो, जुन नरोपिएको -अकृष्टपच्य) एवं तुष या कणरहित -बोक्रा नभएको) थियो । मानिस त्यसलाई प्रति सन्ध्या काट्थे र अर्को दिन फेरि त्यो पाकेर तयार हुन्थ्यो । तर, पाप र खराबीका फलस्वरूप -असद्धम्मे) चामलमा बोक्रा आयो, एकपटक काटेपछि अर्कोपटक आफैँ फल्न पनि छाड्यो । यसप्रकार फसलबीच अन्तर आयो । यसको फलस्वरूप खेतको भागवण्डा भयो र तिनका चारैतिर सीमा बनाइयो । अब एक लोभी व्यक्ति आफ्नो खेतको रखवारी गर्दा-गदर्ैै -परिक्खन्तो) अन्यको खेतबाट अन्न चोर्न पनि थाल्यो । मानिसले उसलाई समाते र उसको निन्दा गरे, चेतावनी दिए । उसले पुनः यसो गरेपछि मानिसले उसलाई पिटे । यसप्रकार मानिसमा झुटो बोल्ने -पालि भाषामा मुसावादा), पर-निन्दा, मारपिट -दण्डादान) हुन थाल्यो । यसरी निन्दा एवं पाप-कर्म उत्पन्न भएबाट सबै चिन्तित भए एवं एकत्र भएर विचार-विमर्श गरे । विचार-विमर्शका उपरान्त तिनले सबैभन्दा अनुग्रहकारी -पासदिकतरो), सबैभन्दा सुन्दर -अभिरुपतरो च दस्सनीयतरो) एवं सबैभन्दा योग्य व्यक्तिलाई चुने र ऊसँग भने, 'हे सत्व, जो व्यक्ति दण्डनीय छ, उसलाई दण्ड देऊ, जो निन्दा-योग्य छ, निन्दा गर, जो निष्कासन-योग्य छ, निष्कासन गर । हामी यी सेवाका बदला तिमीलाई आफ्नो धान -शालिन) को एक-भाग दिनेछौँ ।' 'धेरै राम्रो' भनेर उसले स्वीकार गर्‍यो एवं ठीकसँग उचितानुचितमाथि शासन गर्न थाल्यो । ऊ सबैजनको इच्छाले चुनिएको -महाजनसम्मत) हुनाले उसलाई 'महासम्मत' भनियो । दीर्घ-निकायको यो प्रसंगले के स्पष्ट गर्छ भने बौद्धहरू राज्यको उत्पत्तिबारेको सामाजिक सम्झौताको सिद्धान्तलाई मान्छन् । यस अतिरिक्त बौद्ध-जातकहरूमा आएका कथाले पनि सामाजिक सम्झौताको यही सिद्धान्तलाई पुष्टि गर्छन् । उदाहरणार्थ, यस्तो प्रसंग पशुहरूको सम्बन्धमा आएको छ, जसमा पशुहरूले आपसमा मिलेर सर्वसम्मतिद्वारा बाघलाई आफ्नो शासक चुनेका छन् एवं सोही प्रकार पक्षी जगत्मा पक्षीहरूले आफ्नो शासक उल्लूलाई चुनेका छन् । राजनीति-शास्त्रको इतिहासमा सामाजिक सम्झौताको सिद्धान्त बौद्ध-साहित्यमै पूर्ण विवरणसाथ भेटिन्छ, जुन विलक्षण छ । सामाजिक सम्झौताको स्पष्ट एवं विकसित रूप पालि-ग्रन्थ 'दीघ-निकाय' मै पहिलोचोटि आएको हो, जसमा राजनीति-शास्त्री लकको आदर्श प्राकृतिक स्थिति एवं राजनीति-शास्त्री हब्सको प्राकृतिक अवस्था -स्टेट अफ नेचर) सँग सामञ्जस्य देख्न सकिन्छ । बौद्ध-कथाहरूमा आएको सामाजिक सम्झौताअनुसार शासक ती नागरिकबाट आफ्नो सत्ता ग्रहण गथ्र्यो, जसले उसलाई चुन्थे र उसको पारिश्रमिकको भुक्तानी नागरिकको सम्झौताका आधारमा हुन्थ्यो । बौद्ध ग्रन्थमा पाइने सामाजिक समय -सोसल कन्ट्रयाक्ट) सिद्धान्त र युरोपेली सामाजिक समयको सिद्धान्तमा पनि समानता देखिन्छ । युरोपेली राज्योत्पत्ति-सिद्धान्तका तीन मूल तत्त्व अर्थात् प्राकृतिक अवस्था, सामाजिक समय एवं शासकीय समय -गवर्नमेन्टल कन्टे्रक्ट) बौद्ध ग्रन्थ दीघ-निकायमै सबैभन्दा अधिक स्पष्ट रूपमा प्राप्त हुन्छ ।
समाजमा अपराध -जसको उन्मूलनका लागि दण्ड दिइन्छ) उत्पन्न हुनुको मूल कारण धनसञ्चय हो । धनसञ्चयका कारण समाजमा निर्धनताको प्रसार भयो र यसैले एक मानिसद्वारा अर्को मानिसको वस्तु अपहरणलाई प्रारम्भ गर्‍यो जसको फलस्वरूप चोरी बढ्यो, अस्त्र-शस्त्रको प्रसार भयो एवं हत्या-हिंसा पनि बढ्यो । यी अपराधबाट बचाउका लागि मानिस झुटो बोल्न थाले । यतिमात्रै होइन, तिनले चुक्ली-चाप्लुसीसम्म गर्न सिके । साथै यही धनसञ्चयको परिणामस्वरूप मानिस आफ्ना गुणबाट च्यूत भयो र सामाजिक मैत्री र प्रतिष्ठा नमिल्नाले अर्काका स्त्रीसँग व्यभिचार पनि गर्न थाल्यो । यी कुकर्मका परिणामस्वरूप अपराधमा वृद्धि भयो । मानिसमा एकर्काप्रति श्रद्धा र सदीक्षा लोप हुँदै गयो । यसैले गौतम बुद्धको मत के छ भने अकृत्य कर्मलाई दण्डद्वारा पूर्णरूपेण समाप्त गर्न सकिँदैन । यसका लागि मानिसका मूल आवश्यकतालाई पूर्ण गरिनु पर्छ । दीर्घ-निकायमा भनिएको छ, 'दस्युकीलको राम्ररी उन्मूलन गर्ने उपाय यो हो राजन्, जो कोही तपाईंको जनपद -देश) मा कृषि, गोपालन गर्ने उत्साह राख्दछ, तिनलाई तपाईं बिउ र भोजन प्रदान गर्नुहोस् । जो वाणिज्य गर्ने उत्साह गर्छन्, तिनलाई तपाईं पुँजी दिनुहोस् । जो राज्यको जागिर खाने उत्साह राख्छन्, तिनलाई तपाईं उचित भत्ता, तलब दिनुहोस् । यसप्रकारले देश पीडारहित, कण्टकरहित, क्षेमयुक्त हुनेछ । मानिस पनि काखमा छोराछोरीलाई नचाउँदै खुला घरमा विचरण गर्नेछन् ।' यसप्रकार भगवान् -जसले तृष्णालाई भग्न/नष्ट गरेको छ) गौतम बुद्धको दृष्टिकोण धनसञ्चयका विरुद्ध छ । उहाँ कठोर दण्डका पक्षपाती हुनुहुन्नथ्यो । उहाँले समाजको व्यवस्थालाई सुन्दर बनाउन मनुष्यका मूल आवश्यकताको पूर्तिमाथि अधिक बल दिनुभयो । मानव-समाजलाई उसका कर्तव्यप्रति जागरुक गर्ने हो भने दण्डद्वारा भन्दा मैत्री र करुणा एवं मूल अभावहरूको पूर्तिद्वारा नै मानिसलाई तिनका कर्तव्यप्रति सचेष्ट गर्न सकिन्छ । बुद्धको यो मत कौटिल्यको मतभन्दा कैयौँ गुणा अधिक व्यावहारिक छ ।
शासकीय स्वरूपबारे कुरा गर्दा शासकको योग्यताबारे केही उल्लेख गर्नु पनि उचित नै हुनेछ । बौद्ध-ग्रन्थ 'महावस्तु' बाट के ज्ञात हुन्छ भने शुद्धोधनले आफ्ना छोराका लागि यशोधरा माग्दा तिनका पिता महानामले 'सिद्धार्थ गौतमको राजमहलमै पालन-पोषण भएकाले उनले शिल्प-विद्या, हस्ति-विद्या, धनुर्विद्या, राजनीति-शास्त्र तथा रथ-विद्याको शिक्षा पाउन नसकेको' भन्दै अस्वीकार गरिदिएका थिए । तर, पछि सिद्धार्थले महानामसमक्ष आफ्नो बल, पराक्रम, सर्व-शिल्पज्ञान र उत्साह प्रदर्शन गरे । अतः त्यतिवेला राजकुमारहरू शास्त्र र अस्त्र विद्यामा पारंगत हुनु आवश्यक थियो भन्ने स्पष्ट हुन्छ । 'महावस्तु' बाटै राजकुमारको शिक्षा सात-आठ वर्षको उमेरबाटै सुरु हुन्थ्यो भन्ने पनि स्पष्ट हुन्छ । तिनलाई दिइने शिक्षाको उद्देश्य शासकको उद्दत स्वभावलाई परिवर्तित गरी विनीत बनाउनु हुन्थ्यो । यसप्रकार बौद्ध साहित्यका ती तत्कालीन परिस्थितिमा पनि शिक्षालाई त्यति नै महत्त्व दिइन्थ्यो, जति आज हामी देख्दछौँ । त्यसकारण पंक्तिकारका दृष्टिमा कार्यकारिणी शासक शिक्षित र सुविनीत हुनु आवश्यक छ । यो पनि ज्ञातव्य छ कि बौद्ध संघहरूमा कुनै पनि विवादलाई सल्ट्याउन मतदान हुन्थ्यो, जुन गणराज्यहरूमा प्रचलित थियो । तिनमा तीन प्रकारका मतदान बताइएको छ, गुप्त मतदान, कानमा अत्यन्त सानो स्वरमा बोलेर र हात उठाएर या खुला रूपले मतदान । तात्पर्य यति नै हो कि प्रत्येक जटिल विषयमा लोकतान्त्रिक विधिद्वारा आम सहमति प्राप्त गरी निर्णय लिइन्थ्यो । निष्कर्षमा, दण्डका तुलनामा मनुष्यका मूल आवश्यकता पूर्तिमाथि अधिक बल दिने बुद्ध-परिकल्पित शासकीय-अवधारणाले नागरिकलाई उसका कर्तव्यप्रति जागरुक गराउन, समाजको व्यवस्थालाई सुन्दर बनाउन र नयाँ नेपाललाई राजनीतिक स्थायित्व प्रदान गर्न सक्छ ।

No comments: