Friday, April 27, 2012

मनवीरे, उपालि, बुद्ध र समाज




-गोपाल विरही
७० वर्षीय वीरभद्दे सुनारका एक्ला छोरा मनवीरेलाई कालिकोट जुविथा–६ माइधाराको एक पसलमा चुलोमा चुरोट सल्काउँदा स्थानीय बालकुमारी शाही र उनका पति जसबहादुरले दुर्बचन लाएछन् भने मीमबहादुर शाही र दीपबहादुर शाहीले कुटपिट गरेर मारेछन् । यथार्थमा नेपालजस्तो महान् देशको जति हानि र दुर्दशा आजसम्म वर्ण–व्यवस्था र जातिभेदले गरेको छ, त्यति सायद अन्य कुनै संस्थाले गरेका छैनन् । वर्ण–व्यवस्था र जातिभेदलाई प्रज्ञा, विवेक र वैज्ञानिक दृष्टिले मूल्यांकन गर्ने हो भने यसका लाभ शून्यवत छन् र हानिहरु धेरै छन् भनेर स्पष्टसँग भन्न सकिन्छ । जो व्यक्तिले वर्ण–व्यवस्था र जातिभेदमा लाभ देख्दछ, तिनका बारेमा उनीहरुको चिन्तन र सोच उनीहरुको स्वार्थको प्रतिफल हो अथवा उनीहरु कुनै मानसिक रोगबाट पीडित छन् भनेर निश्चित रुपमा भन्न सकिन्छ । हाम्रो राजनीतिक एवं सामाजिक जीवनमा जातियताको सिद्धान्त कतिसम्म गहिरोसँग गाड्न खोजिएको छ भने हरेक व्यक्तिले, जसमा नेताहरु पनि सम्मिलित छन्, अव्यक्त रुपले यस सिद्धान्तलाई च्याप्प अँगालेका छन् ।
जन्ममूलक वर्णव्यवस्था र जातिभेदले हिन्दूहरुलाई केवल ४ वर्णहरुमा मात्रै विभाजित गरेन, बरु ती वर्णहरुलाई पनि सहस्रौँ जातिहरु र उपजातिहरुमा विभक्त गर्यो । यसप्रकार सहस्रौँ जन्ममूलक जातिहरु उत्पन्न भई नेपालमा त्यसबाट अनेकत्वको भावनालाई बल मिलेको छ । उदाहरणका लागि आज ब्राह्मणहरुमा सयौँ जाति र उपजातिहरु छन् । उनीहरुमा आवाह–विवाहको सम्बन्ध छैन । वर्ण–व्यवस्था र जातिवादका कारण नेपालले अनेक पल्ट असम्मान र बेइज्जतिको सामना गर्नुपरेको इतिहास र वर्तमान साक्षी छ । अरु त अरु, आफूलाई ‘जन्मजात बौद्ध’ भन्नेहरुमा पनि जातिवादी चिन्तन छ । जन्मजात कोही पनि बौद्ध वा अबौद्ध हुँदैन । लोभ, द्वेष र मोहरहित भएर आचरण गर्न नसक्दासम्म ‘हामी त बौद्ध परिवारमा जन्मेका हौँ’ भन्दैमा कोही बौद्ध हुँदैन । बुद्ध धर्म र दर्शनको विकासमा ब्राह्मण कुलोत्पन्न सारिपुत्र र मौद्गल्यायन आदिको योगदान अग्र थियो र बुद्धकालीन अधिकांश अर्हन्त (मुक्त) भिक्षु ब्राह्मण कुलोत्पन्न थिए । जन्मँदै बौद्ध भइने भए शाक्य भएर पनि बुद्धप्रति अभद्र व्यवहार गर्ने देवदत्तलाई के भन्ने ? अनि शाक्यहरुले प्रसेनदिलाई ढाँट्दा उनका छोरा विडूडभद्वारा शाक्यहरुको कत्लेआम भएको प्रसंग पनि छ, त्यसलाई के भन्ने ? मेरो अघिल्लो लेख पढेर मेरा एक मित्रले आक्रोशको मुद्रामा भने, ‘प्रत्येक दिन विहारमा गएर पञ्चशील लिने काठमाडौँका साहुहरुले तिनीहरुका घर भाडामा बस्नेहरुसँग गर्ने धनको अहंकार मिसिएको व्यवहारले उनीहरुले बुद्धका उपदेशहरुलाई पालन नगरेको देखाउँछ । पहिले आफू त्यागी र उदाहरणीय भएर अरुलाई उपदेश दिनु राम्रो हुन्छ कि ?’ यस भनाइलाई यहाँ उद्धृत गर्नुको अर्थ सबै ‘गरिब’हरु सद्दे छन् वा सद्दे हुन गरिब हुनैपर्छ भन्ने पंक्तिकारको आशयचाहिँ होइन । तिनै साथीले भनेका थिए, ‘काठमाडौँका नेवारहरुले ब्राह्मणहरुलाई बुद्धधर्म विरोधीका रुपमा चित्रण गर्दै विभिन्न ठाउँमा लेख्नुभएको रहेछ, जुन मलाई मन पर्दैन ।’ अर्का साथीको गुनासो थियो, ‘बुद्धलाई ‘शाक्यमुनि’ भन्नुभन्दा गौतमबुद्ध भन्नु राम्रो हुन्छ । अनि काठमाडौँको नेवार समुदायका केहीले नेपालीभाषीहरुलाई ‘पर्वते’ भनेर हेप्न छाड्नुपर्छ ।’ मैले यो कुरा किन उल्लेख गरेको हुँ भने अहिल्यै अलिकति सहिष्णु भएर आफूलाई द्वेषरहित तुल्याउन सके यस्ता साम्प्रदायिक प्रवृत्तिका कारण भविष्यमा हुन सक्ने ठूलो सम्भावित क्षतिलाई रोक्न सकिन्छ । बुद्धप्रति गौरव नहुनेले अभिमानमा दोष नदेखी, आफूलाई राम्रो–ठूलो सम्झी अहंकार बढाइरहने भए पनि बुद्धप्रति गौरव हुनेहरुले आफ्नो अभिमानलाई स्वप्रयत्नले नै दबाउने कोशिस गर्दछन् । भद्दिय, अनुरुद्ध, आनन्द, भगु, किमिल र देवदत्त यी शाक्य राजकुमारहरु उपालि हजामसँग भिक्षु हुन तथागत बुद्धकहाँ पुग्दा उनीहरुले तथागतलाई ‘हामी शाक्यहरुमा अभिमान अति प्रबल छ । उपालि हजाम हाम्रो सेवकका रुपमा धेरै लामो समयसम्म काम गरिआएका हुन् । उसलाई पहिले भिक्षु बनाइदिनुपर्यो । उसलाई हामीले वन्दना (नमस्कार) गर्नेछौँ, गौरव राख्नेछौँ, सेवा गर्नेछौँ’ भनी निवेदन गरेअनुसार तथागतले उपालिलाई पहिला श्रामणेर र भिक्षु बनाउनुभएको थियो ।
अहिले लुम्बिनीको विकासबारे खूब चर्चा सुनिन्छ तर बौद्धदर्शनबारे आम–मानिसलाई थाहा नभई यस कार्यमा सबैको सहभागिता हुन सक्दैन । मेरो विचारमा काठमाडौँभन्दा बाहिरका भिक्षु–गृहस्थ पनि सम्मिलित भएको समावेशी बौद्ध संस्थाले मात्रै ‘लुम्बिनीको विकासमा हामीलाई पनि सहभागी बनाऊ’ भनेर दाबी गर्न सुहाउँछ । यसै सन्दर्भमा धर्मोदय–सभाजस्ता संघसंस्थाको पनि नाम लिने गरिएको छ । तर, उक्त संस्थाका केन्द्रीय पदाधिकारीहरु सबै काठमाडौँका नेवारहरु मात्रै हुनुहुँदो रहेछ । यसरी, बौद्ध–संस्था भनिए पनि जातीय–संस्थाजस्तो देखिने यसको संरचना मलाई मन परेन । काठमाडौँका नेवारहरु प्रधानमन्त्री, मन्त्री आदिलाई भेट्दा नेपालीमा कुरा गर्नुहुँदो रहेछ तर विहारमा धर्मोपदेश आदि चाहिँ नेवारीमा गरिँदो रहेछ, अनि अरु नेपालीभाषीहरुलाई अबौद्ध भन्नु कत्तिको न्यायसंगत छ ? त्यस्तै, सम्राट अशोकले आफ्ना छोराछोरीलाई भिक्षु–भिक्षुणी बनाएकाले प्रचण्डले पनि त्यसै गरेमा मात्रै उनको ‘हृदय परिवर्तन’ भएको मान्न सकिन्छ भन्ने तर्क पनि मलाई ठीक लागेन ।
वैदिक वर्ण–व्यवस्था एवं जातिझैँ वर्णाश्रम–धर्म पनि हिन्दू धर्मको महत्त्वपूर्ण संस्था हो । वैदिक व्यवस्थाका अनुसार ब्राह्मण, क्षत्रिय र वैश्यलाई मात्रै आश्रम–धर्मको पालन गर्नका लागि योग्य एवं सक्षम मानिएको छ । शूद्र एवं समस्त वर्णका नारीहरुलाई यो आश्रम व्यवस्थाबाट वञ्चित राखिएको छ । समग्रमा वर्णाश्रम–धर्मलाई अप्राकृतिक, काल्पनिक, अमनोवैज्ञानिक, अव्यवहारिक, असंभव र अनौचित्यपूर्ण भन्न सकिन्छ । नेपालमा केही सिद्धान्त च्याउझैँ उम्रिरहेका छन्, जसका विचारधारा महात्मा गान्धीसँग मिल्छन् । यथार्थमा महात्मा गान्धी र उनका जस्तै विचारधारा राख्ने व्यक्ति ‘अस्पृश्यता’ को मूल कारण वर्ण–व्यवस्था हो भन्ने जान्न–बुझ्न चाहँदैनन् । वर्ण–व्यवस्थाबाट जातिभेद, जातिभेदबाट जातिवाद र जातिवादबाट ‘अस्पृश्यता’ उत्पन्न हुन्छ । जो व्यक्ति यस स्थितिलाई नकार्छन्, उनको प्रवृत्ति बिरोलोलाई देखेर उड्नुको साटो आँखा चिम्म गर्ने परेवाको जस्तै छ । कर्मको आधारमा ४ वर्णहरुको निर्धारण आजको युगमा आधारहीन, अव्यवहारिक र अमनोवैज्ञानिक भइसकेको छ । आजको वैज्ञानिक युगमा अनेक स–साना व्यवसाय, पेशा र काम उत्पन्न भएका छन् र वर्ण–व्यवस्थाका हिसाबले तिनलाई कुन वर्णमा राख्ने भन्ने महत्त्वपूर्ण समस्या बन्न गएको छ । यसैगरी, आज सेनामा दलित रेजीमेन्टको कुरा उठिरहेको छ, जसले युद्ध अब क्षत्रियहरुको वपौति होइन भन्ने प्रमाणित गर्दछन् । आज हजारौँ ‘दलित’ र ‘अछूत’ वर्णमा पर्ने जातिहरु देशी–विदेशी विद्यालय र विश्वविद्यालयहरुमा अध्यापक र प्रोफेसरको कार्य गर्दैछन् । हजारौँ ‘शूद्र’हरु सफल व्यवसायीका रुपमा वैश्यहरुका कार्य गर्दैछन् । आज महात्मा गान्धी जीवित हुन्थे भने यस अतिक्रमणलाई देखेर जीवितै मर्ने थिए । यथार्थमा वेदहरुमा प्रदत्त वर्ण–व्यवस्थाको कुरा गर्नु विशेषतः आजको युगमा कुनै मनोरोगभन्दा कम होइन । वर्ण–व्यवस्था र जातिवादको खूनी पञ्जाबाट वच्न र स्व–सम्मानका लागि हिन्दूहरुको निकै ठूलो संख्याले इस्लाम र ईसाई धर्महरुलाई ग्रहण गरे । कैयन् मानिसहरु आफ्नो इच्छाका विपरीत विधर्मी भए । जाति–पाति हिन्दूहरुको एकतामा रोकावट हो । यो हानिकारक जाति–पातिका विरुद्ध युवकहरुले आन्दोलन नै गर्नुपर्ने देखिन्छ । जाति–पातिको भित्तालाई ढालिदिएर, फूटको कारणलाई मेटेरमात्रै वास्तविक एकता हुन सक्दछ । जाति–पाति हिन्दू धर्मको सबभन्दा ठूलो कलंक हो । ब्राह्मण र अब्राह्मण, नाममात्रको ऊच–नीच जातिहरुको वैमनश्यको मूल कारण हो र यसैले अछूतपनलाई जन्म दिएको हो । जबसम्म हिन्दू जाति–पातिको संकटबाट मुक्त हुँदैनन्, तबसम्म उनीहरुको एक जाति बन्नु असम्भव छ । जन्ममूलक जाति–पाति र छुवाछूत जस्ता कुरीतिहरु रहँदासम्म हिन्दू जातिले कहिल्यै उन्नति गर्न सक्ने छैनन् । आज सरकारका लागि राष्ट्रिय एकताको समस्या चुनौतीपूर्ण बनेको छ । वर्ण–व्यवस्था र जातिभेदद्वारा धार्मिक कट्टरता र आतंकवादको जन्म भएको छ । यिनलाई भाषावाद र प्रान्तवादका पनि जनक मान्न सकिन्छ । भारतको इतिहासमा पनि उसका लागि शर्मनाक र भयंकर घटना ‘द्वि–राष्ट–सिद्धान्त’ का कारणले भयो, जसबाट भारतको विभाजन भयो । पाकिस्तानको निर्माण हुनु प्रत्यक्ष एवं अप्रत्यक्ष रुपले वर्ण–व्यवस्था र जातिभेदकै परिणाम थियो । भविष्यमा वर्ण–व्यवस्था र जातिवादलाई समाप्त गरिएन भने उनीहरुमाथि हुने अत्याचार र अन्यायहरुका कारण दलित र शोषितहरुद्वारा भारतको विभाजनको माग उठ्न सक्ने देखिन्छ । वर्ण–व्यवस्था र जातिवादको कुनै विवेकपूर्ण आधार छैन । यसको अस्तित्व केवल अन्धविश्वासपूर्ण मान्यता र मानसिक कुण्ठाहरुमा निर्भर गर्दछ । नेपालका प्रायः व्यक्ति चाहे ऊ शिक्षित होस् अथवा अशिक्षित, गरिब होस् अथवा धनी, मजदूर होस् अथवा मालिक, सानो होस् अथवा ठूलो, पोडे होस् अथवा अफिसर, प्रधानमन्त्रि होस् अथवा मन्त्रि र स्थानीय अधिकारी– सबैको दिल र दिमागमा जातिवाद भरिएको छ । सरकारी कार्यालयहरुमा प्रत्येक अधिकारी जातिवादको चश्मा लगाएर फैसला गर्दछ । यो ऊच–नीच भावनाको जन्म वर्ण–व्यवस्था र जातिवादकै कारण हुन्छ । यथार्थमा यो भावना देश र समाजका लागि एकदमै हानिकारक र खतरनाक छ । यो भावनाले नेपालको पतन एवं ह्रासमा प्रभावकारी भूमिका निर्वाह गरेको छ । 

No comments: