-गोपाल विरही
चितवन बगौडा गाविस–२ की एकल महिला ढेगनीदेवी महतोलाई ‘बोक्सी’ भन्दै आफन्तहरुले नै हत्या गरे । ‘बोक्सी–प्रथा’ ले निरन्तरता पाइरहनुको एउटा कारण पूर्वीय समाजमा विद्यमान ‘आत्मा’सम्बन्धी अन्धविश्वास पनि हो । त्यसैले यस आलेखमा ‘आत्मा’को पृष्ठभूमिमाथि प्रकाश पार्दै बुद्धको अनात्मवादबारे संक्षिप्त चर्चा गर्ने प्रयास हुनेछ ।
‘आत्मतत्त्व’ पूर्वीय दर्शनको यस्तो महत्त्वपूर्ण समस्या रहेको छ, जसबारे प्रत्येक ‘दार्शनिक’ले केही न केही भन्नु आफ्नो ‘दार्शनिक कत्र्तव्य’ सम्झने गरेको छ । ‘आत्मतत्त्व’ वस्तुगत नभएर मान्छेको मन र मस्तिष्कमा अधिक निर्भर गर्दछ । यसैले यस विषयमा एउटा सर्वसम्मत सिद्धान्त उपलब्ध नहुनाले आज एक–अर्काका विरोधी बीसौँ ‘सिद्धान्त’ उपलब्ध छन् ।
जब मानिसले संसारमा ‘लौकिक धन’ अत्यन्त आवश्यक छ र धन नहुँदा सबै नष्ट हुन्छ भन्ने देख्यो, तब उसले ‘धन’लाई नै ‘आत्मा’ मान्न सुरु गरिदियो । धनपछि मानिसले पुत्रलाई महत्त्व दिन थाल्यो, अनि श्रुतिले ‘आत्मा वै जायते पुत्रः’ अर्थात् पुत्रलाई नै ‘आत्मा’ मान्न थाल्यो । अधिकांशतः मानिस पुत्रभन्दा पनि आफ्नो शरीर या देहप्रति आसक्त रहेको देखिन्छ, यसैले श्रुति भन्न थाल्यो, ‘आत्मनस्तु कामाय सर्व प्रियं भवति’ अर्थात् मानिस शरीरलाई नै ‘प्रिय आत्मा’ भन्न थाल्यो । यो ‘सिद्धान्त’लाई ‘देहात्मवाद’का नामले चिनाइयो, किनभने मानिसले ‘म दुब्लो छु’, ‘म कालो छु’, ‘म गोरो छु’ भन्दछ । केही मानिसले के सोचे भने शरीर इन्द्रियका अधीनमा कार्य गर्छ र मानिस ‘म दृष्टिविहीन छु’, ‘म श्रवण–शक्तिविहीन छु’ आदि भन्छन्, त्यसैले तिनले इन्द्रियलाई ‘आत्मा’ मान्नाले ‘इन्द्रियात्मवाद’को जन्म भयो । यसपछि मानिस सूक्ष्मतातिर अगाडि बढे र प्राणलाई ‘आत्मा’ भन्न थालियो र ‘प्राणात्मवाद’ जन्मियो ।
केही मानिसले उपर्युक्त मतसँग सहमत नहुनाले अझ सूक्ष्मतातिर अग्रसर हुँदै ‘अन्योऽन्तर आत्मा मनोमयः’ अर्थात् ‘आत्मा नै मन हो’ भनेर ‘आत्म–मनोवाद’लाई जन्माए । यस क्रमले स्थूलबाट सूक्ष्मतिर बढ्ने प्रवृत्ति दृष्टिगोचर हुन्छ र यसरी धन, पुत्र, शरीर, इन्द्रिय, प्राण तथा मन यी सबैलाई कुनै न कुनै दृष्टिले ‘आत्मा’ मानिएको छ ।
चार्वाक दर्शनका अनुयायी र अजित केसकम्बली (उच्छेदवादी)का अनुसार जसरी पान, कत्था, चुना, सुपारी खाँदा रातो रंग र झरी–वर्षाका दिनमा किरा र भ्यागुता स्वतः पैदा हुन्छ, त्यसैगरी पृथ्वी, जल, तेज र वायुको विशेष मिश्रणबाट ‘आत्मा’ स्वतः उत्पन्न हुन्छ । आध्यात्मवादी एवं ईश्वरवादी ‘ईश्वर वा ब्रह्माको अंश’ हुनाले यसलाई ‘आध्यात्मिक तत्त्व’ भन्दछन् ।
केही उपनिषद्हरुमा ‘आत्म–तत्त्व’का बारेमा दिइएका कल्पना हेर्दा के ज्ञात हुन्छ भने यथार्थमा ऋषिहरुले कल्पनाका आधारमा यसको व्याख्या गर्ने प्रयास गरेका थिए, यथार्थसँग ती पनि अवगत थिएनन् । त्यसैले बुद्धले ती सबै मतका लागि ‘मिथ्या दृष्टि’ विशेषण प्रयोग गर्नुपरेको थियो । उदाहरणका लागि एउटा कल्पना देखिन्छ, जसमा ‘आत्मा’लाई चामल र जौभन्दा पनि सानो मानिएको छ र त्यो हृदयको रुपमा रहन्छ । ‘एष म आत्मान्तर्हृदयेऽणीयान्व्रोहेर्वा यवाव्दा सर्षपाद्वा श्यामाकाव्दा श्यामाकतण्डुलाव्दा’ अर्थात् ‘यो मेरो आत्मा अन्तर्हृदयमा (रहन्छ), त्यो चामल, जौ, तोरी, श्यामाक नामक धान या त्यसको चामलभन्दा पनि सानो हुन्छ ।’ अनि त्यो उत्तिकै ठूलो पनि छ, ‘मनोमयोऽयं पुरुषो भाः सत्यस्तस्मिन्नतहृदये यथा ब्रीहिर्वा यवो वा’ अर्थात् ‘यो पुरुषरुपी आत्मा मनोमय भास्वान् तथा सत्यरुपी छ र त्यस अन्तर्हृदयमा चामल या जौका दानाझैँ रहन्छ ।’ यसपछि ‘आत्मा’ बुढी–औँलोजत्रो छ भन्ने कल्पना प्रचलित भयो अर्थात् ‘अंगुष्ठमात्रः पुरुषे मध्य आत्मनि निष्ठति’ । छान्दोग्य उपनिषद्मा ‘डोरीले जकडिएको पंक्षी चारैतिर उड्दछ तर बन्धनमै पर्दछ । त्यसैगरी सौम्य मनका कारण आत्मा चारैतिर उड्छ र स्थान नमिल्नाले प्राणकै आश्रय ग्रहण गर्छ, किनभने प्राण मनको बन्धन हो’ भनिएको छ । ‘आत्म–तत्त्व’बारे यस्ता विचित्र एवं विविध कल्पना बुद्धका समकालीन परिब्राजक ऋषिहरुमा व्याप्त थियो, जसलाई दुई वर्गमा विभाजित गर्न सकिन्छ । यीमध्ये एक, जसलाई ‘शाश्वतवाद’ अन्तर्गत राख्न सकिन्छ, को कथन छ, ‘आत्मा र जगत् शाश्वत छ । त्यो (आत्मा) बंध्य, कूटस्थ नगर–द्वारमा उभिएको स्तंभसमान स्थिर छ ।’ यसपछि द्वितीय श्रेणीमा ‘उच्छेदवाद’ आउँछ, जसअनुसार ‘यो आत्मा जड छ, चतुर्भूतले बनेको छ, आमा–बुवाबाट उत्पन्न भएको हो । त्यो शरीर–भेदपछि छिन्न हुन्छ, विनाश हुन्छ, मृत्युपछि त्यो रहँदैन ।’
गीतामा ‘आत्म–तत्त्व’का विषयमा धेरै कुरा भनिएको छ । श्रीकृष्ण ‘आत्मा’का बारेमा बताउँदै अर्जुनसँग भन्छन्, ‘यो आत्मा कुनै कालमा न त जन्मिन्छ र न मर्छ किनभने यो अजन्मा, नित्य, सनातन र पुरातन छ । शरीर मारिएपछि पनि यो मर्दैन । यस आत्मालाई न शस्त्रले काट्न सक्छ, न त आगोले जलाउन सक्छ, न त पानीले भिजाउन सक्छ, न वायुले सुकाउन सक्छ । किनभने यो आत्मा अच्छेद्य छ । यो आत्मा अदाह्य, अक्लेद्य र निःसन्देह अशोष्य छ तथा नित्य, सर्वव्यापी, अचल, स्थिर रहन्छ र सनातन हो ।’
यसरी ‘आत्म–तत्त्व’ वस्तुगत नहुनाले यसका विषयमा अनेक मत, ‘विचारधारा’ एवं ‘सिद्धान्त’ प्रचलित छन् । यदि सम्पूर्ण विश्व सर्वेक्षण गर्ने हो भने के भन्न सकिन्छ भने ‘आत्मा’का विषयमा हजारौँ प्रकारका मत छन् । यीमध्ये धेरै मत केही अन्तर प्रकट गर्दै सहगामी छन् भने केही अन्योन्याश्रित एवं केही एक–अर्काका विरोधी छन् । उपर्युक्त ‘आत्म–तत्त्व’का विषयमा कुनै वैज्ञानिक कुरा भन्न नसकिनाले यो विषय आज पनि विश्वका चिन्तक, दार्शनिक र साधु–सन्न्यासीका लागि अल्झिएको समस्या बनेको छ ।
बुद्ध ‘आत्मवाद’का दुष्परिणामसँग राम्ररी परिचित हुनुहुन्थ्यो । उहाँ यस तथ्यलाई जान्नुहुन्थ्यो कि चार्वाक र अन्य उच्छेदवादी मतले विलास र इन्द्रिय–सुखमै लिप्ततालाई जीवनको सर्वश्रेष्ठ उद्देश्य मान्दथ्यो । पूरण कस्सप त यहाँसम्म भन्थे कि ‘आत्माले कसैलाई मार्दैन भने आफ्नो सुख र भोगका लागि अरुलाई हत्या गर्नमा के आपत्ति छ ?’ अर्कातिर आत्मालाई शाश्वत, अजर र अमर मान्नेहरु ‘आत्म–मुक्ति’का लागि यज्ञमा पशु–बलि दिनु उचित ठान्दथे । बुद्धले यी दुवै ‘सिद्धान्त’को आलोचना गर्दै यिनलाई नैतिक मूल्यतिर अग्रसर हुने मार्गमा ठूलो व्यवधान ठान्नुभयो । यसैले बुद्धलाई सुखको भोग र कठोर तपश्चर्या दुवै मार्ग त्याज्य प्रतीत भयो, किनभने त्यसबाट मानव–जातिको दुःख कम हुँदैन ।
बुद्धले पंचवर्गीय भिक्षुहरुलाई सम्बोधन गर्दै भन्नुभयो, ‘भिक्षुहरु १ जड शरीर अनात्मा हो । शरीर यदि आत्मा हुन्थ्यो भने यो उपद्रवकारी हुँदैनथ्यो र यो भन्न सकिन्थ्यो कि मेरो शरीर यस्तो होस् तथा यस्तो नहोस् ।’ रुप, वेदना, संज्ञा, संस्कार र चित्त पनि अनित्य हुन् । जो अनित्य छ, त्यो दुःखकारक हो । जो दुःखकारक, विपरीतगामी छ, त्यसबारे ‘यो मेरो हो’, ‘यो म हुँ’, ‘त्यो मेरो आत्मा हो’ भनी मान्नु उचित होइन । बुद्धले भन्नुभयो, ‘अतः यथार्थ तथा सम्यक्–ज्ञानले के जान्नुपर्छ भने जुनसुकै जड पदार्थ अतीत, अनागत, प्रत्युत्पन्न, आफ्नो शरीरका या शरीर बाहिरका, स्थूल, सूक्ष्म, हीन, उत्कृष्ट, टाढा या निकटका छन्, ती सबै मेरा होइनन्, त्यो म होइन, त्यो मेरो आत्मा होइन । हे भिक्षुहरु १ यसरी जान्ने विद्वान् आर्य–श्रावक जड पदार्थ वेदना, संज्ञा, संस्कार र चित्तका विषयमा विरक्त हुन्छ र विरागका कारण मुक्त हुन्छ ।’
‘आत्मा’लाई शाश्वत एवं अशाश्वत भन्दा गडबडीको संभावना रहन्छ । अतः बुद्धले ‘आत्मा’को व्याख्या एवं विश्लेषणका लागि तिनको पृथक्करण पाँच स्कन्धमा गर्नुभयो– रुप, वेदना, संज्ञा, संस्कार र विज्ञान (चित्त) । यसरी ‘आत्मा’लाई पाँच भागमा देख्न सकिन्छ । यी विभागलाई हेर्दा स्पष्ट हुन्छ कि ‘आत्मा’ शाश्वत या अशाश्वत होइन, किनभने पाँच स्कन्ध सर्वदा परिवर्तनशील अर्थात् अनित्य छन्, दुःखका कारण हुन् र यसैले यी ‘मेरा हुन्’ या ‘यो मेरो आत्मा हो’ भन्नु उचित हुने छैन । शरीरका उपर्युक्त पञ्चस्कन्धलाई अनर्थ किसिमले बुझ्नु नै ‘आत्मा’ मान्नुको कारण हो । आफ्नो शरीरका बारेमा उल्टो किसिमले बुझ्ने खेमा महारानीको घटना यहाँ उल्लेख्य छ । खेमा अति राम्री भएकीले उनलाई आफ्नो रुपप्रति धेरै घमण्ड र आसक्ति थियो । बुद्धले ‘यो शरीर सधैँ स्थिर हुँदैन, राम्रो रहिरहँदैन’ भन्नुभएकाले खेमाले बुद्धप्रति द्वेषभाव राखिन् । समयको अन्तरालमा बूढी भएपछि आफ्नो रुप–अभिमान हटाई बुद्धको शरणमा गएर दुःख–मुक्त अरहन्त भइन् । ‘म’, ‘मेरो’ भनी आसक्ति–भाव रहेसम्म शान्ति हुँदैन र हाम्रो जीवन दुःख–मुक्त हुन सक्तैन । ‘आत्मा’ प्रतिको अन्धविश्वासका कारणले नै ‘बोक्सी–प्रथा’को कलंक जन्मिएको हो र ढेगनीदेवी महतोका हत्याराले झैँ कैयौँले आफ्नै दाजु–भाइ, दिदी–बहिनीलाई समेत शोषण गरेर जीवन बिताइरहेका छन् । ती अरुलाई दबाउनेतिर ध्यानकेन्द्रित गरिरहन्छन् । ती धार्मिक क्षेत्रमा जजमानहरु बढाउनेतिर दत्तचित्त छन् ।
gopal.prasad.paudel@facebook.com
साभार- नयाँ पत्रिका
No comments:
Post a Comment