Wednesday, May 16, 2012

लुम्बिनी र पुनर्जागरण



–गोपाल विरही

लुम्बिनी भ्रमण वर्ष सन् २०१२ औपचारिक रुपमा सुरु भएको छ । काठमाडौँका स्थानीयले जे कुराको पनि काठमाडौँमै मात्र विकास होस् भनी सोच्नु अन्यथा होइन । यसैको परिणामस्वरुप लुम्बिनीको विकासलाई पछिल्ला दिनमा धेरै मिडियाहरुलाई प्रयोग गरी विवादास्पद बनाउने यत्नहरु पनि भए । महायान, बज्रयान, तन्त्रयानजस्ता अनेक विरोधाभासपूर्ण उट्पट्याङ् ‘शाखा’ले विदेशी र जातीय प्रभावमा प्रश्रय पाइरहँदा  गौतम बुद्धको मूल सिद्धान्त अर्थात् विभज्जवाद (जसले स्थविरवादका नामले बीसौँ शताब्दीको पूर्वाद्र्धमा एसिया र नेपालमा पुनस्र्थापित हुने अवसर पायो) बारे चर्चा गरेरमात्रै हामीले बुद्धजन्मस्थलका नागरिकका रुपमा आफ्नो पहिचानलाई सही अर्थमा चिरस्थायी गर्न सक्नेछौँ । विशेषतः म्यानमार (बर्मा) र श्रीलंका (सिलोन) का भिक्षु चन्द्रमणि महास्थविर, अनागारिक धर्मपाल, भिक्षु नारद महास्थविर आदिले स्थविरवादी बौद्ध परम्परालाई पुनर्जागृत गर्न ठूलो भूमिका खेलेका हुन् भने भारतीय दलित नेता डा. भीमराव अम्बेडकरले एकैपटक १० लाख नागरिकलाई स्थविरवादमा दीक्षित गराएका थिए । तर, वि.सं. २०६७ सम्ममा नेपालमा ६२८ जनामात्र विभज्ज–स्थविरवादी भिक्षु, श्रामणेर र अनागारिकाहरु भएको तथ्यांक छ । विहार (भिक्षुको विश्रामस्थल) र भिक्षा–दाता पनि पर्याप्त छैनन् । दान संकलन गरी बनाइएका नयाँ–पुराना विहारलाई पनि लोभवश सकभर व्यक्तिगत सम्पत्तिसरह नै उपयोग गर्न चाहने काठमाडौँकेन्द्रित केही प्रमुख कहलिएका टाठाबाठा ‘बौद्ध उपासक’को झिँजोलाग्दो देखावटी, यथास्थितिवादी, परपीडक प्रवृत्ति देखिन्छ । निर्वाण (मुक्ति) र समाज–परिवर्तन–हेतु स्थविरवादी श्रमण–भिक्षुका रुपमा जीवन जिउन इच्छुक शिक्षित–सजग नेपाली नागरिकका लागि देशभित्र स्वतन्त्र सहयोगी वातावरण छैन–बनाउनुपर्छ ।
बुद्धको युगदेखि आधुनिक युगसम्म आउँदा विश्वको संस्कृति–विकासमा बौद्ध–समाजको अनौठो योगदान रहेको छ । नेपालमा सांस्कृतिक उपलब्धिहरुका लागि बौद्ध–समाजलाई सर्वदा स्मरणीय तुल्याउने हो भने प्राचीन बौद्ध इतिहास प्रेरक शिक्षा हुन सक्छ । यथार्थमा प्राचीन जम्बुद्वीपमा बौद्ध–समाज अनुशासन र मानव–कल्याणको पर्याय बनेको थियो र, यसलाई त्यस युगमा श्रेष्ठ समाजका रुपमा बुझिन्थ्यो ।
बुद्धत्वको प्राप्तिपछि बुद्धले सोच्नुभयो, ‘उनीहरुले मेरा लागि धेरै गरे, मेरो ठूलो सेवा गरे, मेरा लागि धेरै कष्ट उठाए, मैले उनीहरुलाई नै सर्वप्रथम उपदेश दिँदा कसो होला ?’ बुद्धले ती ५ परिव्राजक (घुमन्ते सन्न्यासी) का विषयमा सोच्नुभएको थियो, जसले निरञ्जना नदी तटमा उहाँको सेवा गरेका थिए र जो सिद्धार्थ गौतमको तपस्या र काम–क्लेश–पथको परित्यागसँग असन्तुष्ट भई उहाँलाई छाडी गएका थिए । उनीहरु बसिरहेको स्थान पत्ता लगाएर, बुद्ध सारनाथ ऋषिपत्तनको मृगदायमा जानुभयो । कुशल–क्षेम (औपचारिक कुराकानी) पछि परिव्राजकहरुले आफ्ना शंका–समाधानार्थ बुद्धसँग केही प्रश्न सोधे । प्रश्नका उत्तर प्राप्त भएपछि जब तिनलाई सिद्धार्थ गौतमलाई बुद्धत्वको प्राप्ति भइसकेको छ भन्ने स्पष्ट ज्ञात भयो, तब ती सबै बुद्धका अनुयायी भए र तिनले प्रव्रज्या (दीक्षा) लिए उपरान्त संघको जग बसाले र बौद्ध–समाजको आरम्भ भयो । यिनै पञ्चवर्गीय भिक्षुहरु बौद्ध–समाजको जगको प्रारम्भिक इँटा थिए ।
बुद्धको दर्शनको प्रचार योजनामा दीक्षाका २ अर्थ थिए, जसका फलस्वरुप बौद्ध–समाज सुदृढ र व्यापक हुँदै गयो । प्रथम योजना अन्तर्गत भिक्षुको दीक्षा आउँछ, जसलाई सामूहिक रुपले ‘संघ’ भनिन्छ । दोस्रो योजना अन्तर्गत ‘उपासक’ को दीक्षा आउँछ, जो गृहस्थ बौद्ध हुन्छन् । भिक्षु र उपासक दुवै नै बौद्ध–समाजका आवश्यक अंग हुन्छन् । भिक्षु र उपासकका जीवनमा मुख्य ४ भेद हुन्छन् । उपासक गृहस्थ नै रहिरहन्छ तर भिक्षु गृह–त्यागी परिव्राजक बन्दछ । उपासक र भिक्षु दुवैले केही नियमहरुको पालन गर्नुपर्दछ । भिक्षुका लागि जो ‘ब्रत’ (विनय) छन्, तिनको पालन नगर्नु दण्डनीय हुन्छ । उपासकका लागि केवल ‘शील’ हुन्छन्, जसलाई उसले आफ्नो सामथ्र्यभर धेरैभन्दा धेरै पालन गर्ने प्रयत्न गर्दछ । उपासकले सम्पत्ति राख्न सक्दछ, तर भिक्षुले कुनै सम्पत्ति राख्न सक्दैन । उपासक बन्नका लागि ‘संस्कार’को आवश्यकता हुँदैन तर, भिक्षु बन्नका लागि ‘उपसम्पन्न’ हुनु आवश्यक छ ।
बुद्धले दीक्षाको इच्छा राख्नेको इच्छानुसार कसैलाई ‘उपासक’ र कसैलाई ‘भिक्षु’ बनाउनुभयो । एक उपासक जहिले चाहन्छ, उहिले भिक्षु बन्न सक्दछ । एक भिक्षुले यदि आफ्ना मुख्य ब्रतमध्ये कुनै एकमात्र पनि भंग गरेमा वा स्वेच्छाले संघको सदस्यका रुपमा रहन नचाहेमा ऊ ‘भिक्षु’ रहँदैन । बुद्धको समाजदर्शन वैदिक र जैनझैँ अतिशयवादी नहुनाले मध्यममार्गी छ । शोषण, उत्पीडन र अन्यायको बोलवाला रहेको र वैदिक–व्यवस्थाबाट अत्यधिक दुःखी र विचलित जलिरहेको तत्कालीन समाजमा बुद्ध शीतल जल–वर्षाझैँ आउनुभएको थियो । बुद्धद्वारा सारनाथमा धर्म–चक्र–प्रवर्तन गरिएपछि समाजका दलित र शोषितले बौद्ध–समाजमा तिनलाई पूरा सम्मान मिल्दछ भन्ने अनुभव गरे । बौद्ध–समाजमा न जाति छ, न ‘वर्ण’ छ, न उच–नीच, न शोषण, न अन्याय । यसमा स्वतन्त्रता छ, समानता छ, न्याय छ र बन्धुत्व छ । यसकारण समाजको निकै ठूलो हिस्सा बौद्ध बन्यो र यसबाट बौद्ध–समाज विस्तृत, व्यापक र सम्वृद्ध हुँदै गयो । बौद्ध–समाजमा सबै वर्गका मानिस आएर समाविष्ट भए । राजा–महाराजा, रानी–महारानी, ठूल्ठूला सेठ–साहूकार, शूद्र, ‘अस्पृश्य’, दास, गरिब, धनी, चोर–डाँकू सबै बुद्धका शरणमा गए र बौद्ध–समाज एक विशाल सागरका रुपमा परिवर्तित भयो ।
बुद्धद्वारा पञ्चवर्गीय परिव्राजकहरु कोण्डिन्य, वप्प, भद्दीय, महानाम र अश्वजित्लाई दीक्षा दिइए उपरान्त भिक्षु (पालि भाषामा भिक्खु)–संघको स्थापना गरी एक महŒवपूर्ण कार्य प्रारम्भ भयो । तब बुद्धले भिक्षुहरुलाई सम्बोधित गर्दै भन्नुभयो, ‘भिक्षु हो, जति पनि दिव्य (नदेखिने) र मानुस बन्धन छन्, तीबाट म मुक्त छु । तिमीहरु पनि मुक्त होऊ । भिक्षुहरु, बहुजनको हितका लागि, बहुजनको सुखका लागि, लोकमाथि अनुकम्पाका लागि विचरण गर । यस्तो विचारबारे उपदेश देऊ, जुन आरम्भ, मध्य र अन्तमा पनि कल्याणकारी होस् । म स्वयं उरुवेलतिर धर्मोपदेश निमित्त प्रस्थान गर्नेछु, र तिमीहरु सबै दिशाहरुमा गमनशील होऊ । दुईजना एकैतिर नजाऊ । उपासकको कपाल र दाह्रीजुँगा खौरेर काषाय–वस्त्र (चीवर) लगाइदिनु नै इच्छुकलाई प्रव्रज्या (दीक्षा) को प्रक्रिया हुनेछ । भिक्षुहरुका पद–वन्दना गराऊ । थपक्क बसेर हात जोडी तिनलाई प्रतिज्ञा गराऊ ।’
श्रमण समाजदर्शन (भिक्षु–संघ–परम्परा) को उत्पत्ति विषयमा २ प्रधान मत छन् । प्रथम, श्रमण समाजदर्शन अधिक या कम परम्परावादी वैदिक समाजदर्शन (वर्ण–व्यवस्था) प्रति विरोधस्वरुप उत्पन्न भयो । द्वितीय, श्रमण समाजदर्शनको मूल र प्रादुर्भाव निरपेक्ष रुपले स्वतन्त्र चिन्तनको परिणाम थियो । यी दुवै तŒवले घुमक्कड श्रमणहरुका निर्माणमा सहायता प्रदान गरेको मान्न सकिन्छ । तर, वेदानुयायीद्वारा दिइने बलि र मिथ्या कर्मकाण्ड–पुरोहितवाद विरुद्ध घुमक्कड श्रमणहरुले निर्माण–आविष्कारका कुरालाई अधिक बल दिए । श्रमण समाजदर्शन र वैदिक समाजदर्शनमा ३ कारणले भेद देखिन्छ । समाजप्रतिको दृष्टिकोण, जीवनको उद्देश्य र जीवहरुप्रतिको दृष्टिकोण । श्रमणहरुलाई समुच्च जातिभेद निरुपयोगी लाग्यो र त्यसको उनीहरुले सर्वदा विरोध गरे । श्रमणहरुमा कुनै प्रकारको जातिभेद थिएन–हुनु हुँदैन । श्रमणहरुमा जीवनप्रति सौहार्द एवं भ्रातृत्वपूर्ण दृष्टिकोण थियो । तिनका अनुसार प्रत्येक व्यक्तिले परिश्रमद्वारा निर्वाण प्राप्त गर्न सक्दछ । यसकारण, श्रमण समाजदर्शनले सबै व्यक्तिका लागि निर्वाणको मार्गप्रशस्त गरिदिएको थियो । यथार्थमा श्रमण समाजदर्शनको प्रादुर्भावलाई त्यस युगमा महानतम् क्रान्तिको उदय भन्न सकिन्छ ।
कुनै पनि पुरुष वा स्त्री त्रिशरण (बुद्ध, धर्म, संघ) र पञ्चशील ग्रहण गरी बौद्ध उपासक वा उपासिका बन्न सक्दछ । जसरी एक स्थविरवादी भिक्षु र भिक्षुणीले अष्टशीलको पालन गर्नुपर्दछ, त्यसरी नै उपासक र उपासिकाहरुले आफ्नो सामथ्र्यअनुसार पञ्चशीलहरुको पालन गर्ने प्रयत्न गर्दछन्–गर्नुपर्दछ । बुद्धले उपासक–उपासिकाहरुलाई उपदेश दिँदै भन्नुभएको छ, ‘६ दिशा यी हुन्, माता–पिता पूर्व, आचार्य दक्षिण, स्त्री–पुत्र–पुत्री पश्चिम, मित्र–अमात्य–आफन्त उत्तर, सेवक अधः (तल) र श्रमण ऊध्र्व (माथि) ।’ बुद्धले गृहस्थहरुलाई अगाडि भन्नुभएको छ, ‘माता–पितारुपी पूर्व दिशाको सेवा ५ प्रकारले गर्नु पर्दछ । आचार्यरुपी दक्षिण दिशाको सेवा ५ कुराले गर्नु पर्दछ । पत्नी–पुत्रपुत्रीरुपी पश्चिम दिशाको सेवा ५ प्रकारले गर्नुपर्दछ । मित्र–आफन्तरुपी उत्तर दिशाको सेवा ५ प्रकारले प्रेमपूर्वक गर्नु पर्दछ । सेवक–श्रमिकरुपी अधः दिशाको सेवा (तलब–भत्ता दिएर आदि) ५ प्रकारले गर्नु पर्दछ । श्रमण–सन्न्यासीरुपी ऊध्र्व दिशाको सेवा ५ प्रकारले गर्नु पर्दछ ।’
समग्रमा भिक्षु, भिक्षुणी र उपासक, उपासिकाका कर्तव्यहरुलाई संक्षेपमा उपरोक्तानुसार बताइएपछि के भन्न सकिन्छ भने सबै अकुशल कर्म नगर्नु र समस्त कुशल कर्मको सम्पादन गर्नु नै श्रेष्ठतम् कर्तव्य हो । यिनैलाई पालन गरी सर्वोच्च साध्य प्राप्त गर्न सकिन्छ । प्रसिद्ध वैज्ञानिक अल्वर्ट आइन्स्टिनले भनेका छन्, ‘भविष्यको धर्म एउटा विश्व–धर्म हुनेछ । यसले व्यक्तिगत ईश्वरको धारणालाई नाँघेर जानुपर्छ र कोरा सिद्धान्त र नारालाई हटाउनु पर्छ । यस्तो धर्म सार्थक एकताको रुपमा प्राकृतिक र अभ्यान्तरिक सबै कुराको अनुभवबाट उत्पत्ति भएको नैतिक चेतनामा आधारित हुनुपर्नेछ । केवल बुद्ध–धर्मले यस्तोे वर्णनलाई पूरा गर्छ ।’ अन्त्यमा, लुम्बिनी भ्रमण वर्ष सन् २०१२ पर्यटक भित्र्याउनेमा मात्रै सीमित नरही त्यसै अवधिभित्र नेपाली भिक्षुहरुको विहार (विश्रामस्थल) लुम्बिनीमा बन्न सक्यो भने नेपालमा गौतम बुद्धको वास्तविक सिद्धान्त स्थविरवादको पुनर्जागरण, सुदृढीकरण र अभ्यासका लागि त्यो कोसेढुंगा साबित हुनेछ ।  
gopalbir@yahoo.com

 

No comments: