Saturday, May 19, 2012

कुलचन्द्र–प्रवृत्ति, लुम्बिनी र देश




-गोपाल विरही

राष्ट्रसंघका पूर्वउपमहासचिव कुलचन्द्र गौतमले राष्ट्रसंघका महासचिव वान कि मुनको लुम्बिनी भ्रमणलाई रोक्न कसरत गरिरहेको नयाँ पत्रिकामा प्रकाशित समाचार पढेपछि म स्तब्ध भएँ । लुम्बिनीबारे विवाद खडा गर्न के कस्ता प्रयत्न भइरहेछन् भन्ने चर्चा गर्नु यस लेखको उद्देश्य हुनेछ ।
भारतको उडीसाका राजकीय संग्रहालयका निर्देशक चन्द्रभान पटेलले आफ्नो एक शोध–प्रबन्धमा उडीसाको राजधानी भुवनेश्वर नजिक गौतम बुद्धको जन्मस्थल घोषित गरेर दुर्भाग्यपूर्ण विवादलाई जन्म दिने दुस्साहस गरेका छन् । उनले त्यहाँको कपिलेश्वर नामक स्थानलाई शाक्यहरुको राजधानी कपिलवस्तु र त्यससँगैको कथित् ‘लुम्बिनी’लाई बुद्धको वास्तविक जन्म–स्थल घोषित गरी भ्रामक विवाद खडा गर्ने प्रयत्न गरेका छन् । उनको उक्त शोध–प्रबन्धलाई पढेर भारत र अन्य देशका बौद्ध तीर्थ–यात्री एवं पर्यटक असमञ्जसमा पर्ने गरेका छन् । बुद्धको जन्मस्थल नेपालको तराईस्थित लुम्बिनीमा नभएर भारत उडिसाको भुवनेश्वर नजिक छ भन्नु शतप्रतिशत अप्रामाणिक एवं तथ्यहीन कथन हो । यो विश्वका बौद्ध–धर्मावलम्वीहरुको आस्थामाथि विश्वासघात गर्नुसमान हो ।
लुम्बिनीको इतिहासमा ईसा पूर्व तेस्रो शताब्दीलाई युगान्तकारी मानिन्छ । कलिंग युद्धको विभीषिकापछि सम्राट अशोक तथागतप्रति श्रद्धालु भए, जसको छायाँ उनका यात्राहरुका पृष्ठभूमिमा प्रकट भयो । बुद्धको जन्म–स्थल लुम्बिनीको यात्रा र त्यहाँस्थित स्तम्भमा अंकित अभिलेख तथागतप्रति उनको श्रद्धाको चिर–स्थायी संस्मरण बनिसकेको छ । लुम्बिनी र निग्लीहवाका स्तम्भ–अभिलेख तथा गोटीहवा–स्तम्भका रुपमा उनको स्मरणकारी यात्रा आज पनि नेपालको तराईमा सुरक्षित छ ।
सम्राट अशोकको लुम्बिनी–यात्राको विस्तृत विवरण बौद्ध ग्रन्थहरुमा सुरक्षित छ । ‘दिव्यावदान’का अनुसार सम्राट अशोकले आफ्नो प्रथम यात्रा लुम्बिनीबाट सुरु गरेका थिए । यस यात्रामा प्रमुख अमात्य–गण उनका साथ थिए । यस ऐतिहासिक यात्राको मार्ग–दर्शन उनका गुरु भिक्षु उपगुप्तले गरेका थिए । लुम्बिनी पुगेर उनले सम्राट अशोकलाई उक्त शालोद्यान देखाए र भने, ‘महाराज १ यहाँ तथागतको जन्म भएको थियो ।’ त्यसै गरी ‘अशोकावदान’ मा पनि भदन्त उपगुप्तले अशोकलाई लुम्बिनी–यात्रामा लिएर गएको देख्न सकिन्छ । साथै के पनि उल्लेख छ भने अशोकले लुम्बिनीमा स्वर्ण–मुद्राहरु दान पनि गरेका थिए ।
बौद्ध–ग्रन्थहरुका विवरण अनुसार अशोकले ८४ हजार स्तूपहरुको निर्माण गराएका थिए । उनले जुन–जुन धर्म–स्थलहरुको यात्रा गरे, त्यहाँ–त्यहाँ शिला–अभिलेख उत्खनन् गराए तथा स्तम्भहरुको निर्माण गराए र ती स्तम्भहरुमा ब्राह्मी भाषामा अभिलेखहरु पनि अंकित गराए । अशोक आफ्नो राज्याभिषेकको बीसौँ वर्षमा बुद्धको जन्म–स्थल लुम्बिनीको शालोद्यानमा पुगेका थिए र आफ्नो यस यात्राको स्मृति स्वरुप उनले त्यहाँ एक सुन्दर गोलाकार स्तम्भ खडा गरेका थिए । स्तम्भमा अंकित अभिलेखमा भनिएको छ, ‘देवानं पियेन पियदसिना लाजिना वीसतिवसामिसितेन अतन आगाच महीयते हिदबुधे जाते साक्यमुनीति सिलाविगड भी च कालपित सिलाथमेंच उपपापिते–हिद भगवं जातेति लुम्मनिगामे उबलिके कटे अठभागिए च’ अर्थात् ‘देवनां प्रिय प्रियदर्शी (अशोक) ले राज्याभिषेकको बीसौँ वर्षमा यहाँ आएर पूजा गरे । यहाँ शाक्यमुनि बुद्धको जन्म भएको थियो । उनले यहाँ शिलाभित्ति बनाए र शिला–स्तम्भ स्थापित गरे । किनभने भगवान् (बुद्ध)को लुम्बिनी ग्राममा जन्म भएको थियो । यसैले यस ग्रामलाई बलिकरबाट मुक्त गरिदिए र तीमाथि भूमिकरको केवल आठौँ भाग नियत गरियो ।’
उपर्युक्त स्तम्भ अभिलेखबाट के पुष्टि हुन्छ भने अशोकले आफ्नो राज्याभिषेकको बीस वर्षपछि लुम्बिनी ग्रामको यात्रा गरेका थिए । उनले यस ग्रामलाई भगवान् बुद्धको जन्म–स्थल हुनाको कारणले राज्य–करबाट मुक्त गरिदिएका थिए । यसै पवित्र ग्रामको नजिक शालोद्यानमा गौतम बुद्ध सिद्धार्थ कुमारका रुपमा उत्पन्न हुनुभएको थियो, यसैले लुम्बिनी ग्रामको आठौँ भाग जुन शुल्क (बलि)का रुपमा लिने गरिन्थ्यो, त्यसलाई पनि छाडिदिइयो ।
लुम्बिनीको यात्राका क्रममा अशोकले शाक्यहरु र कोलियहरुका प्राचीन गणराज्यहरुका महŒवपूर्ण स्थलहरुको पनि यात्रा गरेका थिए । यस अवसरमा उनले उनले ती स्थानहरुमा पनि आफ्नो यात्राको स्मरणार्थ स्तम्भ स्थापित गरेका थिए । नेपालको तराईमा यस्ता दुई अशोक–कालीन स्तम्भहरुको खोज गरिसकिएको छ । लुम्बिनी र तिलौराकोट (कपिलवस्तु) का मध्यमा प्राप्त निग्लीहवा–स्तम्भमा अभिलेख पनि अंकित छ तर अर्को गोटिहवा–स्तम्भ दुई टुक्रामा टुक्रिएको पाइएको र यसको अभिलेख भएको भाग अझैसम्म अप्राप्त रहेको बताइन्छ ।
नेपालको तराईमा प्राप्त यी तीनै स्तम्भहरुमा प्रशस्त समानताहरु छन् । अन्य स्तम्भहरुमा झैँ यिनमा पनि समान किसिमका ढुंगाको प्रयोग भएको छ । यिनमा पनि त्यस्तै प्रकारका चमकदार पालिस गरिएको छ । यिनमा अभिलेखहरु कुँदिएका छन् । यी दुवै स्तम्भहरुमा अभिलेख कुँद्ने एकै व्यक्ति थियो होला झैँ थाहा लाग्दछ ।
जब लुम्बिनीको अशोक–स्तम्भको खोजी गरियो, त्यस बेला त्यो भूमितलबाट केवल १० फुटमात्रै माथि थियो । यसको शेष भाग भूमिमै गाडिएको थियो । मूल रुपमा यो भूमितलबाट २२ फुट माथि थियो । आजभोलि यो भूमितलबाट केवल १५ फुट माथि छ । शेष १५ फुट जमीनभित्र बलिया इँटाहरुका आधारशिलामा अडिएको छ । यस स्तम्भको शीर्ष भागमा घोडाको सुन्दर प्रतिमा स्थापित थियो, जुन अहिले अप्राप्त छ ।
अशोकले लुम्बिनीमा यो स्तम्भका अतिरिक्त स्तूप र संघारामहरु (बौद्ध विहारहरु) को पनि निर्माण गराएका थिए । यसप्रकार लुम्बिनीको शालोद्यानमा बौद्ध–स्मारकहरुको निर्माणको नयाँ युग प्रारम्भ भयो । यसपछि लुम्बिनीमा दोस्रो शताब्दी ईसा पूर्वमा मायादेवीको मन्दिर (वास्तवमा यसलाई मन्दिर नभनेर ‘विहार’ भन्नुपर्ने थियो–छ) तथा त्यसको पूर्व–पश्चिममा विशाल चौकोर स्तूपजस्ता सांस्कृतिक सम्पदाहरुको निर्माण भयो । अरु पनि नयाँ संघारामहरु बनाइए, जसमा अनेक विनयधर भिक्षुहरुको निवास थियो । अशोकको यो लुम्बिनी–यात्रा उनको बुद्धप्रतिको श्रद्धाको एक ज्वलन्त उदाहरण हो ।
लुम्बिनीमा अनेक स्तूप र संघारामहरुका भग्नावशेषहरु छरिएर रहेका छन् । यिनै भग्नावशेषहरुको उत्खनन्का क्रममा गुप्तकालीन एक प्रतिमा भेटिएको छ, जसमा माता महामाया शाल वृक्षको शाखा समातेर उभिइरहेकी छिन् । बुद्ध जन्म सम्बन्धी यो प्रतिमा पुरातत्व प्रमाणको उत्कृष्ट दस्तावेज हो । के चन्द्रभान पटेल यस प्रमाणलाई झुठो मान्दछन् ? यी सबै प्रमाणहरुलाई देखेको–नदेखेझैँ गरेर उनी कुन ‘सत्य’लाई बताउन चाहन्छन् ? उनले जानी–जानी असत्य एवं अप्रामाणिक प्रचारको सहारा लिएर उडीसाको कपिलेश्वर र कथित् ‘लुम्बिनी’ नामक गाउँलाई  क्रमशः शाक्यहरुको राजधानी र बुद्ध–जन्म–स्थल भनी भ्रामक र दुर्भाग्यपूर्ण विवाद उठाएका छन् । पटेलद्वारा उठाइएको यस विवादलाई सबै नेपाली पुराविद् र इतिहासकारहरुले जोरदार खण्डन र विरोध गर्नुपर्ने देखिन्छ र धेरैले गरिरहेका पनि छन् ।
बाह्रौँ शताब्दीसम्म आइपुग्दा लुम्बिनी पूर्णतः खण्डहर भइसकेको थियो । अगाडिका पाँच–छ सय वर्षहरुसम्म लुम्बिनीलाई मानिसहरुले भुल्दै गइरहेका थिए । लुम्बिनीका लागि यो घोर अन्धकारको युग थियो । भारतमा बौद्ध–धर्म आफ्नो अवनतिको अवस्थामा पुगिसकेको थियो । बौद्ध धर्म–स्थलहरुबारे सोच–विचार गर्ने कोही रहेनन् । लुम्बिनी घना जंगलहरुका बीचमा गुमनाम भयो । उन्नाईसौँ शताब्दीमा इतिहासले फेरि कोल्टे फेर्यो । भारतमा ऐतिहासिक बौद्ध पुरावशेषहरुको खोजको सिलसिला आरम्भ भयो । अनेक पुरावेत्ताहरुको अथक प्रयासहरुका कारण विस्मृत बौद्ध–स्मारकहरुको खोजी हुन थाल्यो । भारतीय पुरातत्व सर्वेक्षण विभागका एक अधिकारी भनिएका डा. फुहरेरले सर्वप्रथम १८९६ मा नेपालको घना जंगलहरुका बीचबाट अशोकको शिला–स्तम्भको फोटो ल्याएर लुम्बिनीको प्रामाणिकतालाई सिद्ध गरिदिए । लुम्बिनीको इतिहासमा यो एक चिर–स्मरणीय घटना हो । बौद्ध धर्मको २५०० वर्षपछि समारोहको आयोजनको उपलक्ष्यमा विश्वका बौद्ध देशहरुको ध्यान लुम्बिनीको विकासतिर गयो । तर माथिका हरफ पढेर लुम्बिनीको वर्तमान परिचय केवल विदेशीहरुले स्थापित गरिदिएका हुन् भनी सोच्नु गलत हुनेछ । लुम्बिनीसम्बन्धी प्रमाणहरु खोजी गर्न र उक्त स्थानलाई विश्व सम्पदा सूचीका रुपमा सूचिकृत गर्न नेपालमा रहेका संघ–संस्था र व्यक्तिहरुको ठूलो योगदान छ । आज भगवान् बुद्धको यो पावन जन्मस्थल नव–निर्माणतिर अग्रसर छ । शीघ्र नै लुम्बिनी विश्वका बौद्धहरुका लागि ‘अन्तर्राष्ट्रिय तीर्थाटन एवं पर्यटन’का रुपमा विकसित हुन जाँदैछ ।
भगवान् बुद्धले संसारमा मानिसहरुले रोगी भएर, बूढो भएर बाँच्नुपर्ने र अन्त्यमा दुःख पाएर मर्नुपर्ने देखेर सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबैको कल्याण होस्, कसैले पनि दुःख भोग्न नपरोस् भनेर कठोर तपस्या गरी बुद्धत्व प्राप्त गरी बुद्ध धर्म विश्वमा चलाउनुभयो । बुद्ध धर्मका प्रभावले जापानले आफूलाई विश्वको विकसित राज्यका रुपमा चिनाएको छ । चीनले पनि आफूलाई विकसित राष्ट्रको रुपमा पुर्याएको छ । कोरियाली नागरिकहरु पनि आफ्नो समाज शिष्ट, श्लील र समृद्ध हुनुमा बुद्ध–शिक्षाकै योगदान ठान्दछन् । तर कुलचन्द्र गौतमजस्ता बुद्धको देश नेपालका नागरिक हामी नेपालीहरुले उहाँका उपदेशहरु पालन नगरेकाले विश्वमा हामी बद्नाम र भ्रष्टहरुको पंक्तिमा छौँ ।

 

No comments: