Saturday, May 19, 2012

सौरभको ‘प्रज्ञा’ !



-गोपाल विरही

सौरभको एक लेख, जसमा ‘चार्वाक, कपिल र जैमिनीको संयुक्त दर्शनको फ्युजनमा बुद्ध धर्म उभियो’ भनेर मान्नु र ‘नश्लीय शुद्धता र पवित्रताको परिकल्पना मनुस्मृतिबाट आउँदैन’ भनी स्वीकार्नु नै ‘प्रज्ञा’ हो भन्ने आशय थियो, हालै पढियो ।
‘चार्वाक’को शब्दार्थ हो चपाउने कार्यमा निष्णात् अर्थात् जसले खानु पिउनु र भोग गर्नुलाई नै सबथोक मान्छ । चार्वाक मतका संस्थापक व्यक्तिको नाम छैन । परलोक, पुनर्जन्म, देववादलाई अस्वीकार गर्नेलाई गाली गर्न यो शब्द प्रयोग गरिन्थ्यो । बुद्धका समकालिन अजित केशकम्बल पनि जडवादी थिए, तर उनी धार्मिक खोल ओढ्थे । जडवादी दर्शनका आचार्यमा बृहस्पतिको नाम पाइन्छ । उनका केही सूत्र कतै–कतै उद्धृत पनि छन् । तर सूत्र रुपमा दर्शनको विकास ईस्वी सन्पछि सुरु भएको हो । चार्वाक दर्शनलाई मानिस शंका र घृणाका दृष्टिले हेर्थे । स्मरणीय के छ भने चार्वाक दर्शन अनात्म–भौतिकवादी हो भने बौद्ध दर्शन अनात्म–अभौतिकवादी । जडवादी र आत्मवादी दुवैका लागि ब्रह्मचर्यवास (सन्न्यस्त भिक्षु जीवन) व्यर्थ छ । नित्य–ध्रुव आत्मा ब्रह्मचर्यद्वारा संशोधन संवद्र्धनको संभावना झनै हुँदैन ।
कपिललाई केहीले बुद्धभन्दा पहिलेका दार्शनिक भन्ने गर्छन, तर प्राचीनतम बौद्ध उपदेश–संग्रह तथा अरु उपलब्ध सामग्रीमा कपिल र उनको दर्शनको अत्तोपत्तो छैन । बुद्धपछिका श्वेताश्वरमा बल्ल कपिलको नामका साथै दर्शनको स्पष्ट छाप देखिन्छ । ईसाको प्रथम शताब्दीका बौद्ध कवि अश्वघोषले ‘बुद्धचरित’मा बुद्धभन्दा पहिलेका आलारकालाम र उद्दक रामपुत्रमध्ये एकलाई सांख्यवादी (कपिलका अनुयायी) भनेका छन् तर यो नवनिर्मित परम्परामा आधारित देखिन्छ किनभने यसको उल्लेख पुराना साहित्यमा छैन र यी दुवैको शिक्षा पनि सांख्य दर्शनसँग मेल खाँदैन । यस्तो अवस्थामा कपिललाई बुद्धभन्दा पहिलेका दार्शनिक भन्न सकिन्न । बुद्धपछि भए पनि कपिल युनानीहरु भारत आउनु (३२३ ई.पू.) भन्दा पहिलेका चाहिँ थिए र पछिल्ला सबै मौलिक र प्रतिसंस्कृत दर्शनले परमाणुवादलाई अपनाए । तर, सांख्यले त्यसबाट पनि लाभ लिन सकेन ।
जैमिनि त्यस समयका थिए, जब पुरोहितले पुराना ऋषिका नाममा ग्रन्थ लेखी आफ्नो धर्म बलियो बनाउन न्वारनदेखिको बल लगाइरहेका थिए । यसैले मीमांसाकार जैमिनिको जीवनीबारे जान्नु सम्भव छैन । वादरायण र जैमिनि दुवैले एक–अर्काका मत उद्धृत गरेका हुनाले दुवैको समय ३०० ई. आसपास भएको थाहा हुन्छ । श्चेर्बास्की भन्छन्, ‘मीमांसक पुराना पुरोहितका यज्ञका अति कट्टर धर्मशास्त्री थिए । यज्ञबाहेक अर्को कुनै पनि विषयमा तर्क–वितर्कका विरुद्धमा ती थिए । मीमांसकका सबैभन्दा ठूला विरोधी बौद्ध दार्शनिक थिए । दुवैका प्रायः सबै सिद्धान्त एक–अर्कासँग उल्टा छन् ।’ मीमांसकका अनुसार वेद स्वतः प्रमाण हो र यसैले जैमिनिलाई ‘शब्दवादी’ भनिएको छ । अब पाठक आफै भन्नुहोस्, के बुद्ध धर्मलाई सौरभले भनेझैँ ‘चार्वाक, कपिल र जैमिनिको संयुक्त दर्शनको फ्युजन’ भनेर स्वीकार्नु नै ‘प्रज्ञा’ हो ?
वर्ण–व्यवस्थाको कठोरतम रुप मनुस्मृतिमा देखिन्छ । यहाँ केही उदाहरण प्रस्तुत गरिन्छ । ‘शूद्र किनिएको होस् वा नहोस्, ऊबाट दास–कर्म गराउनू, किनभने विधाताले उसलाई ब्राह्मणको दास–कर्म गर्न बनाएको हो ।’ ‘शूद्रलाई भोजनका लागि जुठो अन्न, लगाउन पुरानो वस्त्र तथा ओछ्याउन धानको पराल दिनुपर्छ ।’ ‘शूद्रले ब्राह्मणादि तीन वर्णलाई कठोर वचनले आक्षेप गरेमा उसको जिभ्रो काट्नुपर्छ, किनभने ऊ सबैभन्दा नीच वर्णमा उत्पन्न भएको हो ।’ यसबाट के स्पष्ट हुन्छ भने मनुका युगमा वर्ण–व्यवस्था वर्णगत भएको थियो । त्यस युगमा वर्ण–व्यवस्थाको प्रावधान अनुसार शूद्रको जीवन पशुवत् भएको थियो, जसका केही उद्धरण यहाँ प्रस्तुत छन् । ‘बिरालो, न्याउरी, सर्प, भ्यागुता, कुकुर, माउसुली, लाटोकोसेरो र कागको हत्या गर्दा शूद्र–हत्याको प्रायश्चित्त गर्नू ।’ यसको अभिप्राय के हो भने मनुका अनुसार शूद्रको जीवन कुकुर–बिरालोको जीवनभन्दा माथि छैन । अगाडि मनु भन्छन्, ‘शूद्रले कुनै द्विजको नाम तथा जातिको उच्चारण गर्दै केही भनेमा उसको मुखमा दस अंगुलको आगोमा रातो पारिएको फलाम घुसारिदिनू ।’ ‘शूद्रले हात–खुट्टा आदि जुन अंगले श्रेष्ठ जातिमाथि प्रहार गर्छ, राजाले उसको त्यही अंग काट्न लगाउनू ।’ स्मृति–कालमा वर्ण–व्यवस्था कतिसम्म भयंकर, विकृत एवं अमानवीय थियो भने आजको युगमा त्यसको कल्पना पनि गर्न सकिन्न । पाराशरको भनाइ छ, ‘ब्राह्मण दुःशील नै भए पनि पूज्य हुन्छ र शूद्र इन्द्रियलाई जितेर पनि पूज्य हुँदैन ।’ अब पाठक आफै भन्नुस्, सौरभले भनेझैँ ‘नश्लीय शुद्धता र पवित्रताको परिकल्पना मनुस्मृतिबाट आउँदैन’ भनी स्वीकार्नु नै ‘प्रज्ञा’ हो ?
यो आलेख द्वेषको प्रकटीकरण होइन तर तामाङ आदि विभिन्न जातजातिबोधक शब्द ‘ताम्र’ आदि संस्कृत भाषाका शब्दबाट अपभ्रंश भएका हुन् भनी ‘सिद्ध’ गर्न सौरभले झैँ समय खर्चेर आजको समाजको हित हुँदैन । प्राचीन जम्बुद्वीपीय संस्कृतिमा अन्तर्जातीय, अन्तरधर्मी, अन्तर्राष्ट्रिय विवाह एउटा निकै सुन्दर, प्रशंसनीय एवं उल्लेख्य पक्ष थियो र पूर्वीय संस्कृति लामो समयसम्म फलि–फुलिरहनुको यही प्रमुख कारण थियो । तर, ‘आदि’ शंकराचार्यको प्रादुर्भावपछि जबदेखि वर्ण–विभाजन गरी चार वर्णको कर्म, धर्म, जन्मदेखि मृत्युसम्म षोडश संस्कारद्वारा जातिगत विभाजनलाई झन् संस्थागत गरियो र ईश्वर र धर्मको भय देखाएर क्रूरतासाथ लागू गरियो, तबदेखि अन्तर्जातीय विवाह बन्द भयो । कतै विवाहमा केटी कथित् उच्च वर्ण जातिकी र केटा निम्न जातिको हुँदा तिनलाई देश निकाला अथवा प्राण दण्ड नै दिइन्थ्यो । धेरथोर पिछडिएका एवं अशिक्षित क्षेत्रमा आज पनि त्यही स्थिति छ, जसलाई पत्रिकामा मानिस पढिरहन्छन् ।
आजका हाम्रा ‘धर्म संस्कृतिका विद्वान्’ हरेक ठाउँमा त्यही प्राचीन हिन्दू संस्कृतिका गुणको वकालत गर्छन् तर अन्तर्जातीय विवाहको विरोध गर्छन्, जबकि प्राचीन पौराणिक कालमा अन्तर्जातीय विवाहकै परम्परा थियो । धृतराष्ट्रले अफगानिस्तान गान्धारकी यवनपुत्री गान्धारीसँग विवाह गरेका थिए । अर्जुनले पातालवासी अर्थात् अमेरिकाकी उलूपीसँग बिहे गरेका थिए । दुष्यन्तले कण्व ऋषिकी शकुन्तला, शान्तनुले देवकन्या गंगा विवाह गरेका थिए भने शान्तनुले नै तत्कालीन सबैभन्दा नीच शूद्र वर्ण मानिने निषादपुत्री सत्यवतीसँग विवाह गरेका थिए । पाण्डुकी पत्नी कुन्तीका पाँच पाण्डव पुत्र फरक–फरक जातिका पाँच पतिका सन्तान हुन् । हनुमान पवन सुत, शंकर सुवन, केशरी नन्दन गरी तीन पिताका सम्मिलित सन्तान हुन् । कृष्णकी आमा यशोदा वैश्यका घरकी तथा पिता नन्दराय यादव हुन् । श्रवणकुमारका पिता वैश्य जातिका तथा माता शूद्र जातिकी थिइन् । चन्द्रगुप्तले युनानी सेल्युकसकी पुत्रीसँग विवाह गरेका थिए । प्राचीनकालमा स्वयंवर प्रथा थियो, जसमा केटीले जाति र धर्म नसोधिकनै आफूले चाहेको व्यक्तिलाई आफ्नो पति रोज्दथे । सीता, सावित्री, दमयन्ती सबैले स्वयंवरको शर्त अर्थात् आफ्नो इच्छाले जाति वा धर्म नसोधिकनै आफ्ना पति रोजेका थिए । आज पनि अमेरिका, अस्ट्रेलिया आदि देशमा जर्मन, फ्रान्सेली, इटालेली, अंग्रेज, स्पेनिस, युनानी, मुस्लिम आदि विभिन्न धर्म, देश र भाषाभाषीको सम्मिलित वस्ति छन् तर ती देशमा विवाह सम्बन्धमा जाति, धर्म, देश र भाषा आदिको कुनै प्रतिबन्ध छैन । अतः त्यहाँ कतै साम्प्रदायिक झगडा सुन्नमा आउँदैन ।
बुद्धकालीन समाजमा उच्च कुलको पुरुषले निम्न कुलकी कन्यासँग विवाह गर्दा ‘अनुलोम विवाह’ र निम्न कुलको पुरुषले उच्च कुलकी कन्यासँग विवाह गर्दा ‘प्रतिलोम विवाह’ भनिन्थ्यो । एक राजाले मालीकी छोरीसँग विवाह गरेका थिए । चाण्डाल बालिका सक्षयमालासँग मुनि वशिष्ठको विवाह पनि अनुलोम विवाह अन्तर्गत पर्छ । सेनजीतकी छोरीको बिहे चाण्डालसँग भएको थियो । शार्दूलकर्ण र प्रकृतिको विवाह प्रतिलोम विवाहको उदाहरण हो ।
अन्तर्जातीय विवाहको चलनले प्राचीन संस्कृति टुट्ने–छुट्ने खतरा पनि हुँदैन । किनभने प्राचीन समयमा अन्तर्जातीय विवाहलाई सामाजिक तथा धार्मिक मान्यता प्राप्त थियो । तर, आजको २१ औँ शताब्दीको वैज्ञानिक युगमा आपसी मैत्री, बन्धुत्व, एकता, समानताका लागि अन्तर्जातीय विवाह निकै जरुरी छ । आज के आवश्यक छ भने एक भाइको हिन्दूसँग विवाह होस्, अर्की बुहारी बौद्ध होऊन् र पिता सिख छन् भने आमा ईसाई होऊन् । एकै परिवारमा सबै धर्म, जाति र देशका बुहारीहरु भए र मिलीजुली बसे भने त्यो ‘स्वर्ग’भन्दा सुन्दर हुनेछ ।
एकै देशमा बस्ने नागरिक योग्यता, गुण, स्वभावमा सर्वथा मेल खाँदाखाँदै पनि धर्म या जातिका नाममा दुवैको इच्छा, सहमति हुँदाहुँदै पनि विवाह सूत्रमा बाँधिन नपाउनु आफैमा पिछडापन नभएर के हो त ? वैवाहिक सम्बन्धको यो अन्तर्जातीय विचारधाराको प्रचार–प्रसार गरिनुपर्छ तथा अन्तर्जातीय विवाह गर्ने जोडीलाई सरकारी जागिर, सम्मान, पदक, प्रोत्साहन आदि दिइने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रयास शीघ्र गरिनुपर्ने आजको सामयिक आवश्यकता हो ।      


No comments: