Saturday, July 21, 2012

मानव–अधिकार

कविता
मानव–अधिकार

-गोपाल विरही









(१)
मानव–अधिकार कागतिजस्तो–
जति टुक्रा हुञ्जेल काटे पनि हुने
जसरी निचोरे पनि हुने
जसरी चुसे पनि हुने
पानीमा हालेर सर्बत बनाउन सकिने
चियामा हालेर ‘लेमन टी’ पनि बन्ने
भातमा मुछेर पनि खान सकिने
बारीमै फलाउन पनि सकिने
बजारबाट किन्न पनि सकिने
चुसेर निचोरेर खोक्रो भएपछि
जता फाले पनि हुने
जे गरे पनि हुने !
(२)
मानव–अधिकार चुइङ्गमजस्तो–
सस्तोमा किन्न सकिने
मुखमा हालेर खेलाउन सकिने
फाल्न मन नलागे चपाइरहन सकिने
फुकेर फुल्याएर प्याट्ट फुटाउन सकिने
मुखभित्रै राखेर बाजा बजाउन सकिने
  जसरी चपाए पनि हुने
  जसरी खेलाए पनि हुने
खेलाउन र चपाउन मन नलागे
जसरी हुत्याए पनि हुने
जता हुर्र्याउन पनि हुने
जे गरे पनि हुने !
(३)
मानव–अधिकार रोटी पकाउने पिठोजस्तो–
पानी हालेर मुछ्न सकिने
मुछेर डल्लो पार्न सकिने
डल्लोमाथि मुक्का हिर्काउन सकिने
गोल्याउन सकिने, चेप्ट्याउन सकिने
बेल्न सकिने, पेल्न सकिने
तातेको ताबामाथि हाल्न सकिने
परौठा, तन्दुरी जे बनाए पनि हुने
चटनी, तर्कारी जेसँग खाए पनि हुने
जे गरे पनि हुने !
(४)
मानव–अधिकार फूटबलजस्तो–
बजारबाट ल्याएपछि
लात्ताले मनपरी हान्न सकिने
जसले जता हाने पनि हुने
जसले जसरी खेले पनि हुने
बेकह्याम र म्याराडोनाले खेले पनि हुने
पेले र रोनाल्डोले खेले पनि हुने
यताबाट उता र उताबाट यता ल्याउन सकिने
हावामा उडाए पनि हुने, भुइँमा गुडाए पनि हुने
फुटेर काम नलाग्ने भएपछि
जुनसुकै डम्पिङ्–साइटमा हाले पनि हुने
जे गरे पनि हुने !
(५)
मानव–अधिकार सार्वजनिक शौचालयजस्तो–
जतिबेला गएर बसे पनि हुने
जतिबेला गएर उभिए पनि हुने
जसरी प्रयोग गरे पनि हुने
प्रयोजन सिद्धिएपछि नाक थुन्दै
बाहिर निस्कन सकिने
सफा भए पनि हुने, फोहरै रहे पनि हुने
जे गरे पनि हुने !
(६)
मानव–अधिकार कस्तो–कस्तो
कुमालेको हातको माटोजस्तो
डिलरको सस्तो मट्टितेलजस्तो
तर,
किन हुँदैन आगोजस्तो ?
किन हुँदैन भुङ्ग्रोजस्तो ?
  भूत बनेर तर्साऊ ।
  काल बनेर लखेट ।
नत्र रहन्छौ सधैँ यस्तो ?
कागती, पिठो आदिजस्तो !?

gopalbir@yahoo.com



No comments: