Saturday, May 19, 2012

संविधानसभामा इतिहासकारहरु




-गोपाल विरही


नेपालमा पहिलोपल्ट हुने संविधानसभाद्वारा लेखिने संविधान यस मुलुकको पहिलो जनलिखित इतिहास हुनेछ । राजामहाराजाका भाइभारदारहरुले स्तुतिपरम्पराका धारामा आधारित रहेर लेखेका इतिहासका पानाहरुमा व्यापक संशोधन, परिमार्जन र सम्पादनद्वारा मात्र धरातलीय यथार्थमा आधारित इतिहासका दस्तावेजहरु प्राप्त हुनेछन् र संविधानसभाको सार्थक अभ्यासका अभावमा नेपालको राजनैतिक इतिहासको लेखनमा आधाुनिक इतिहासलेखनका मूल्यहरुको प्रयोग आरम्भ हुन सक्दैन । इतिहासकारहरु, पुरातत्वविद्हरु, उत्खनन्कर्ताहरु, अनुसन्धाताहरु र अन्वेषकहरु स्वविवेकको प्रयोग नगर्दा, गर्न नदिइँदासम्म वस्तुगत र विश्वसनीय हुन सक्दैनन् । संविधानसभा मूल कानुनको लेखनकार्यमा नागरिक–भावनाको प्रत्यक्ष प्रतिविम्बनका हेतु हुने भएकाले यस्तो सभाले इतिहासकारहरुलाई धरातलीय यथार्थबारे पर्याप्त सामग्री दिन्छ । इतिहासको लेखनमा सामग्री सङ्कलन एक प्रमुख समस्या हो । परम्परागत इतिहासकारहरुका लागि राज्यका राजाहरुले आधिकारिक भनेर लालमोहर लगाइदिएका दस्तावेजहरु नै मुख्य सामग्री हुन् र उनीहरुले आजसम्म त्यसैका आधारमा आजसम्मको इतिहास लेखे, लेख्न बाध्य बनाइयो । इतिहासलेखनमा मूल कानुन तगारो बन्ने स्थिति सधैँ रहनु तर, मूल कानुनको निर्माणमा इतिहासकारको कुनै भूमिका नरहनु संदेहास्पद हो । इतिहास–लेखनलाई जीविकोपार्जनको माध्यम ठान्ने सँस्कार र त्यो सँस्कारको पूरा फाइदा उठाउने खराब शासकवर्गका बीचमा द्विपक्षीय सम्झौताबाट नेपालको परम्परागत इतिहासलेखन प्रभावित छ । शासकहरुका जीवनी ज्यादाजसो स्तुतिमा सीमित छन् । खास गरी शासकको जीवनीगत उत्कृष्टता र निकृष्टता शासितसँगको उनीहरुको भावनात्मक एकतामा निर्भर गर्दछ । शासितहरुद्वारा सम्बद्ध शासकका शासनकालमा विभिन्न विधा र माध्यमद्वारा व्यक्त भावना र विचारहरुको सङ्कलन, सत्यापन र परीक्षण नगरी गरिएको जीवनीमूलक इतिहासलेखनले इतिहासकारको भ्रष्टता प्रदर्शित गर्दछ । राजनीतिक इतिहासकारहरुका लागि सामग्री सङ्कलनबारेको व्यापक र आधुनिक दृष्टिकोण अत्यावश्यक वस्तु हो । नेपालको आधुनिक इतिहासलेखनमा संविधानसभापछि बन्ने स्वतन्त्र परिवेशले उत्प्रेरकको भूमिका निर्वाह गर्नेछ । इतिहासकारहरुले लुकाइएका दस्तावेजहरुलाई हेर्ने अधिकार पाउनेछन् । इतिहासकारहरुले राजनीतिलाई नागरिकका आँखाले हेर्न पाउनेछन् । राजामहाराजाले उपलब्ध गराएका सामग्रीहरुलाई इतिहासको नाम दिने परम्पराको अन्त्य हुनेछ ।
इतिहास कथा हो तर, कल्पना र भावनाको जलप लगाएर साँचो इतिहास बन्न सक्दैन । इतिहासकारहरु कथाकार हुन् तर, भावुकताको वायुपङ्खी घोडा चढेर कसैद्वारा शासित भई भरपर्दो इतिहासको पुस्तक जन्मन्न । इतिहासकार त प्रयोग, परीक्ष्ँण र अवलोकन गर्न चाहन्छ, भयमुक्त र त्रासरहित वातावरणमा अन्तक्र्रिया गर्न चाहन्छ, सुनेकोमा चित्त बुझाउँदैन, हेर्न खोज्छ । राजनीतिको इतिहासलेखन निकै संवेदनशील हुन्छ तर नेपालको राजनीतिक इतिहासको लेखनमा संवेदनाहरु मारिएका छन्, तथ्यहरु उपलब्ध गराइएका छैनन्, लेख्ने मानिसहरु विक्षिप्त छन्, उनीहरुलाई आदेशहरुले रोकेका छन् ।
संविधानसभा आफैमा नेपालको नयाँ इतिहास हो । इतिहासका पानाहरुमा यो शब्द त्यतिखेर लेखियो, जतिबेला यही शब्दलाई रक्ष्ाँकवच बनाएर राजाहरु आफ्नो गुमिसकेको स्वर्गमा देखापरे । शब्द आफैँमा इतिहास होइन, इतिहास त घटनामा आधारित हुन्छ, सत्यकथा, सत्यपरिवेश र सत्यावलोकनबाट इतिहासको फूलबारीका फूलहरु फुल्छन् । नेपालमा इतिहासका विद्यार्थीहरुको सङ्ख्या किन बढ्न नसकेको होला ? कहिलेकाहीँ म आफैँसँग प्रश्न गर्छु । इतिहासमा धेरै नेपालीलाई रुचि छैन र यो अरुचिलाई देखेर मेरा मनमा बिम्बहरु नाच्न थाल्छन् । इतिहासकारले आँखामा कालोपट्टि बाँधेर इतिहास लेख्छ, लेख्न लगाइन्छ र त्यसलाई इतिहासविभागले आधिकारिक पाठ्यक्रम स्वीकार्नु पर्छ । इतिहासका विद्यार्थीले यो बुझेका छन् र नेपालीको इतिहासप्रतिको अरुचि एक झिल्का विद्रोहझैँ देखिन्छ । पृथ्वीनारायण शाहको पाठ्यक्रममा भएको जीवनी पढेर कीर्तिपुरको आठ कक्षामा पढ्ने विद्यार्थी नाक खुम्च्याउँछ । उनै शाहका जीवनीमा बीसै नगर्ची नभेटिँदो गोर्खाको दलित विद्यँर्थीको अनुहार फुङ्ङ उड्छ । कीर्तिपुर र गार्खाका तिनै विद्यार्थी भाइहरु संविधानसभाको चुनावलाई हर्षोेत्फुल्ल दृष्टिले हेर्छन्, ओठमा लाली देखापर्छ, आँखा रसाउँछन् । इतिहासकारका कलमहरु संविधानसभा कुरिरहेछन्, साँचो इतिहास नेपाललाई दिनु छ, धेरै काम बाँकी छन्, भत्केका–बिग्रकालाई पुनर्निर्माण गर्नुछ, पुनर्संरचित गर्नुछ । संविधानसभा इतिहासकारको अधिकारको लेख्यीकरणका लागि हो, उसको मनमा पैदा गरिएका भय, त्रास र चिन्ताहरुको विनाशका लागि हो । आफू समेतले बनाएको संविधानअन्तर्गत भयमुक्त बसेरमात्र इतिहासकार र उसले लेखेको इतिहास स्वस्थ हुन सक्छ ।
हिजो ‘मकैको खेती’ लेख्नेहरुको हत्या गरियो । इतिहासकारहरुले बाँच्नका लागि गैरइतिहास लेखे, कथा लेखे, घटना उनीहरुलाई थाहा थिएन । आज संविधानसभाको पूर्वसन्ध्याले नारायणहिटी दरवार हत्याकाण्डको इतिहास लेख्ने बल दिएको छ । राजाहरुका दरबारमा काम गर्ने नोकर नोकर्नीहरु अझै पनि इतिहासकारहरुसँग कुरा गर्न मुक्त छैनन् । इतिहासकारलाई सामग्री चाहिएको छ तर स्रोत उपलब्ध छैनन् । स्रोतहरुलाई धम्क्याइएको छ भन्ने स्रोतका आँखा र अनुहारले भन्छन् । स्रोतहरु लुकाइएका छन्, नष्ट गरिएका छन्, मारिएका छन् । इतिहासकारलाई गो.द.बा. र अरु यस्तै केही चाहिएका छैनन्, तर निरीह उनीहरुलाई गो.द.बा.दिएर गोरु बनाइएको छ, उनीहरुमध्यै केही जोतेका छन् पनि । केहीले गो.द.बा. लिन मानेनन् र उनीहरुले सामग्री खोज्ने प्रयास गरे तर, राज्यद्वारा उनीहरुको इतिहास पाठ्यक्रमको विषयवस्तु बनाइएन । संविधानसभाको व्यग्र प्रतीक्षा उनीहरुलाई बढी छ, जो सङ्कलित सामग्रीको परीक्ष्ँण गर्न चाहन्छन् भयमुक्त भएर ।


No comments: