-गोपाल विरही
कुनै जमानामा २७ प्रतिशत विद्यार्थीमात्रै एलएलसी पास भए । कहिले ४८ र कहिले ३६ प्रतिशत पास भए । अहिले ६४ प्रतिशत पास भए भनिएको छ । ९ कक्षाको पाठ्यक्रमलाई हटाएर परीक्षा लिन थालेको पनि ४ वर्ष भयो तर पनि पोहोरभन्दा यस वर्ष करीब ४ प्रतिशत कम विद्यार्थी पास भए । यी तथ्यांकले केही अर्थ राख्दैनन् किनभने हाम्रो पद्धतिले विद्यार्थीको क्षमता मापन गर्न सकेको छैन । हाम्रो देशमा रहेको विद्यार्थीको मूल्यांकन गर्ने प्रणाली क्षमतामा आधारित प्रणाली होइन । यो अंकमा आधारित प्रणाली हो र अंकले नै विद्यार्थीको क्षमता मापन गर्छ भन्ने विश्वास साह्रै परम्परागत र पुरानो मूल्यांकन प्रणाली हो । विश्वका ठूला–ठूला राष्ट्रहरुमा यस्तो प्रणाली अप्रचलित र विस्थापित भइसकेको छ । विद्यार्थीले एलएलसी पास गर्नु हाम्रा लागि निकै ठूलो उपलब्धि हो तर ठूला राष्ट्रहरुमा १५–१६ वर्षको विद्यार्थीले कक्षा १० उत्तीर्ण हुँदा गणितमा गर्नुपर्ने उपलब्धि के हो, भाषामा, सामाजिक शिक्षामा, वातावरणमा, स्वास्थ्यमा गर्नुपर्ने उपलब्धि के–के हुन् भनेर पहिला सूचिबद्ध गरिन्छ र, ती उपलब्धीहरु हासिल गरिसकेपछि मात्रै सम्बन्धित विद्यार्थीलाई माथिल्लो कक्षामा चढाइन्छ । यसो गर्नाले कोही विद्यार्थी फेल हुँदैन र उनीहरुको क्षमतामा पनि अभिवृद्धि हुन्छ । हाम्रो चाहिँ अंकमा आधारित प्रणाली हो जसमा ३२ अंक ल्याए पास, ३१ ल्याए फेल भइन्छ । विद्यार्थीले त्यो ३२ अंक कसरी ल्यायो भन्ने उसलाई बाहेक अरु कसैलाई थाहा छैन । ३२ अंक ल्याउने र ४० ल्याउनेको बीचको फरक के हो, ४० ल्याउने र ६० ल्याउनेको बीचको फरक के हो, ६० ल्याउने र ८० ल्याउनेको बीचको फरक के हो, प्रथम श्रेणी र विशिष्ट श्रेणी ल्याउनेको बीचको फरक के हो कसैलाई थाहा छैन । केवल अंकका आधारमा यो पास, यो प्रथम, यो विशिष्ट भनेर छुट्याइएको छ । जसले धेरै कण्ठ गर्न–घोक्न सक्यो र जसले धेरै लेख्न सक्यो त्यसको विशिष्ट अंक आउँछ । कण्ठ गर्नु र घोक्नु क्षमता हो कि होइन ? वास्तवमा यो कुनै विशिष्ट क्षमता होइन । तसर्थ, अंकमा आधारित परीक्षाप्रणालीले हाम्रो देशका विद्यार्थीहरुको क्षमतालाई लुकाइराखेको छ, प्रष्फुटन हुन दिएको छैन र अहिलेको एसएलसी परीक्षाप्रणाली र भर्खरै प्रकाशित नतिजा पनि यसैको निरन्तरता हो ।सरकारले सन् २०१५ सम्ममा ९ देखि १२ कक्षालाई माध्यामिक विद्यालयमा गाभ्ने र सन् २०१६ मा राष्ट्रिय परीक्षा बोर्डले एलएलसी लिने गरी विद्यालय सुधार योजना लागू गर्ने बताइरहेको छ तर विश्वविद्यालयबाट प्रमाणपत्र तह खारेज गर्ने यो पूर्वाधारविहीन तयारीको व्यापक विरोध गरिएको छ । स्मरणीय के छ भने धेरैजसो सामुदायिक विद्यालयहरुमा दश जोड दुई कक्षाहरु सञ्चालनमा छैनन् र गरिब अभिभावकका छोराछोरीहरु कक्षा दशसम्म सामुदायिक विद्यालयमा र त्यसपछि त्रिभुवन विश्वविद्यालयमा पढ्छन् ।
हामीकहाँ धेरै पहिले जुन गुरुकुल पद्धति थियो, त्यो क्षमता अभिवृद्धि गर्ने र क्षमता जाँच्ने राम्रो पद्धति थियो । त्यही पद्धतिलाई अहिले पश्चिमी राष्ट्रहरुले अपनाएका र पछ्याएका छन् । हामीचाहिँ आधुनिकताका नाममा त्यो पद्धतिलाई छाडेर अंकको पद्धतिलाई अपनाउँदैछौँ । विद्यार्थीको सामान्य सैद्धान्तिक ज्ञान मापन गर्न अंकको पद्धतिले पनि बाधा त पुर्याउँदैन तर विद्यार्थीबाट खोजिएको चाहिँ के हो त ? १० कक्षाको राष्ट्रिय परीक्षा दिइसकेपछि मान्छेले ‘अहो १ फलानोले त १०० मा ८५ ल्याएछ, यसको क्षमता त साह्रै ठूलो होला ’ भनेर मापन गर्छन् र हाम्रो देशमा शिक्षा मन्त्रालयले गर्ने मूल्यांकन पनि त्यही हो । एउटा पाठ्यक्रम तय गरी त्यसभित्रका प्रत्येक पाठ्यक्रमको एउटा पाठ्यपुस्तक बनाई त्यही पुस्तक पढाएर हामीकहाँ परीक्षा लिइन्छ । विद्यार्थीले पाठ्यपुस्तकमात्रै घोकेर परीक्षा पास गरेको भए जतिसुकै विशिष्ट अंक ल्याए पनि उसलाई विषयको समग्र ज्ञान हुँदैन । उसलाई पुस्तकभन्दा बाहिर जान दिनुपर्छ । सन्दर्भ पुस्तकहरु पढ्न दिनुपर्छ र इन्टरनेटबाट संसारका थुप्रै ज्ञानहरुलाई सिक्न दिइनुपर्छ । त्यसो भएन भने उसले पाठ्यपुस्तकमा पढेको ज्ञान एउटा साँचोभित्र माटो हालेर इँटा पारेको जस्तो हुन्छ । अहिले ६४ प्रतिशत एलएलसी पास भनेर एउटा चाङ निकालिएको छ, त्यो चाङसँग उही कण्ठ घोकेको ज्ञानबाहेक अरु केही छैन । त्यो चाङमा कुनै इँटा ‘ए’ ग्रेडको होला, कुनै ‘सी’ ग्रेडको होला तर आखिरमा तिनै इँटा हुन् जसबाट घरहरु बनाइएका छन् र यस्तो चाङको क्षमतामा एकअर्कामा खासै धेरै फरक छैन ।
जसरी गाडीको ‘ओभरअल सर्भिसिङ गर्ने’ भनिन्छ, जसमा मोबिल फेर्नेदेखि लिएर सबै इञ्जिन सफा गरिन्छ, त्यसैगरी हामीले १५–१६ वर्षका केटाकेटीबाट के खोजेको हो, विश्वले के मागिरहेको छ, हाम्रा छिमेकीले त्यसलाई कसरी अगाडि बढाइरहेका छन् भन्ने अध्ययनका आधारमा क्षमता निक्र्यौल गर्नुपर्छ । उदाहरणार्थ, भाषाको कुरा गर्दा, १६ वर्षको उमेरमा उसको भाषा कस्तो हुनुपर्ने हो, अंग्रेजी भाषा कस्तो हुनुपर्ने हो, नेपाली भाषामा के गर्न सक्नुपर्ने हो, गणितमा उसले कतिसम्म व्यवहारिक उपलब्धि हासिल गरिसक्नुपर्ने हो, त्यसलाई निश्चित गरिनुपर्छ । त्यो क्षमता हासिल नगरेसम्म उसलाई माथि उकाल्नु हुँदैन । यसलाई विज्ञान वा पेसामा आधारित सिकाइ भनिन्छ । यसो भएमात्रै जुम्ला र काठमाडौंका विद्यार्थी समदूरी र समकक्षमा आउँछन् । अहिले त एउटा जिल्लाबाट उत्पादन हुने विद्यार्थी एउटा क्षमताको छ भने अर्को जिल्लाबाट अर्कै क्षमताको विद्यार्थी उत्पादन भइरहेको छ । कोहीचाहिँ चिट चोरेर पनि पास भइरहेकै छन् र ती विद्यार्थीको क्षमतामा प्रश्नचिन्ह खडा भएको छ ।
No comments:
Post a Comment