Saturday, May 19, 2012

दरिद्र देश, गरिब ‘पर्यटक’




-गोपाल विरही



भारतबाट नेपाल आउने अधिकांश पर्यटकले खानेबस्ने सबै सुविधा भारतबाटै लिएर आउँछन् । यहाँका धर्मशाला र मन्दिरमा उनीहरु बस्छन् । स्मरणीय छ, सन् २०११ मा भारतबाट २ लाख ६५ हजार र चीनबाट १ लाख पर्यटक भिœयाउने सरकारको कागजी लक्ष्य छ । युरोप–अमेरिका र अन्यत्रबाट पनि नेपालमा अधिकांश पर्यटक यति गरिब आउँछन्, जसले १ दिनमा ३ डलर पनि खर्च गर्दैनन् । तिनले ५० सेन्टको मःमः खान्छन् र २ डलरको कोठामा सुत्छन् । यस्ता पर्यटक भिœयाएर हाम्रो देशलाई के फाइदा ?
१० लाख पर्यटक भिœयाउने, १० दिन बस्ने पर्यटकलाई १३ दिन बस्ने बनाउने र १ दिनमा ५० अमेरिकी डलर खर्च गर्ने पर्यटकलाई ७० डलर खर्च गर्ने बनाउने कागजी लक्ष्य र ‘पर्यटनका लागि सँगसँगै’ भन्ने नारासहितको पर्यटन वर्ष सन् २०११ अहिले चर्चामा छ तर पर्यटकलाई लोभ्याउने पूर्वाधारका दृष्टिले नेपाल सक्षम छैन । हवाईजहाजबाट ७ लाख र सडकबाट ३ लाख पर्यटक ल्याउने सरकारी लक्ष्य छ तर ‘तीन टी’ अर्थात् ट्याक्सी, ट्रली र ट्वाइलेटको संकट विमानस्थलबाटै सुरु हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस वरपर ट्याक्सीका लागि पार्किङको पर्याप्त सुविधा छैन भने पुरानो ट्याक्सी विस्थापित गरी नयाँ ट्याक्सी भिœयाउन पनि सरकारले सकेको छैन । संसारका सबै विमानस्थलमा सामान ओसार्ने ट्रली निःशुल्क प्रयोग गर्न पाइन्छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रली सशुल्क छ । विमानस्थलको शौचालयमा सहिनसक्नु दुर्गन्ध हुन्छ । नेपालका आन्तरिक विमानस्थलहरु गुणस्तरहीन बसटर्मिनलजस्ता छन् । सडक पूर्वाधार एकदमै कमजोर छ । पर्याप्त बिजुली छैन । अत्याधुनिक प्रविधिको युगमा अत्यन्त पुरानो खालको भिसा प्रणाली नेपालमा छ ।
विदेशी वायुसेवा निगमहरुले नेपालमा मजाले पैसा कमाइरहेका छन् तर राष्ट्रिय ध्वजावाहकको बेहालत छ ।  सरकारचाहिँ ‘सि¨ल इञ्जिन हवाईजहाज’ ल्याउने महŒवाकांक्षी गफ गर्छ भने पर्यटन व्यवसायीहरु ‘कन्फरेन्स टुरिजम’ र ‘होम स्टे टुरिजम’ का गफ हाँक्छन् । आफूसँग बेच्ने स्वदेशी उत्पादन नभएपछि विदेशीसँग बसेर सेमिनार, गोष्ठी, सभासम्मेलन  बाहेक अरु के गर्न सकिन्छ र ? बन्दहड्तालका कारण पर्यटन नफस्टाएको तर्क गरेर उम्किन मिल्दैन । बन्दहड्ताल नभएको हेर्नमात्र पर्यटक आउँदैनन् किनभने बन्दहड्ताल नहुने त अमेरिका–युरोप नै छन् । बन्द हड्ताल समस्यै होइनन् भन्न नमिले पनि बन्दहड्तालमात्रै समस्या होइनन् । राजनीतिक हड्तालहरु चलिरहे पनि कम्तीमा पर्यटक बसलाई पर्यटकमात्रै बसेर हिँड्दा अप्ठेरो नपर्ने वातावरण बनाउन सकिन्छ । एकातिर देशसँग उसको झण्डा बोक्ने हवाईजहाज पर्याप्त छैन, भएका हवाईजहाज महिनौँ अवतरित रहन्छन् भने अर्कातिर सडक कहिले महिनौँ र कहिले हप्तौँ बन्द हुन्छ । पर्यटन वर्ष–२०११ घोषणा गर्दा पनि दूरदृष्टि नपुगेकोजस्तो लाग्छ किनभने जुन सरकारले यसलाई घोषणा गर्यो, उसले चाहेजस्तो गरी राजनीति बगेको भए अहिलेसम्म यो देशमा नयाँ संविधान लेखिसकिएको हुने थियो र सन् २०११ को अवधिभरि देश नयाँ संसदीय चुनावमा व्यस्त रहने थियो ।
विदेशी पर्यटकलाई तल फोहर कुल्चाउँदै माथिमाथि हिमालपहाड देखाउँदै विगत ५० वर्षदेखि नेपालको ‘पर्यटन व्यवसाय’ चलिरहेको छ । प्रायः सांस्कृतिक सम्पदाक्षेत्र खुला शौचालय र ढलका दुर्गन्धले कुरुप छन् । प्रधानमन्त्रीको कुर्सीमा बसुञ्जेल ‘शान्ति’ भन्ने र बाहिर निस्किएपछि ‘क्रान्ति’ भन्ने अनुशासनहीन राजनीतिक नेतृत्वको रोग सर्वसाधारणमा पनि सरेको छ । गम्भीर प्रश्न,  १० लाख पर्यटक आएपछि होटलवालाहरुले मात्रै फाइदा पाउने हुन् कि अरु नागरिकले पनि फाइदा पाएको महशुष गर्नेछन् ? सानो समयमा सानो लगानीबाट पर्यटन व्यवसायलाई आमनागरिकसम्म कसरी पुर्याउन सकिन्छ ?
स्थायी सरकार र शान्तिसुरक्षा नभएको देशमा पर्यटन व्यवसाय फस्टाउन सक्दैन । सुरक्षाको बाक्लो उपस्थिति भएको राजधानीमा त दिनदहाडै गोलीकाण्डका अभियुक्त फरार हुन्छन् भने प्रहरीप्रशासनको उपस्थिति र पहुँच नभएका कुनाकन्दरामा पर्यटक कसरी जालान् ? अमेरिका, क्यानाडा, अस्टे«लिया, जापान र बेलायतजस्ता देशका दूतावासहरुले ‘ट्राभल एड्भाइजरी’मा ‘नेपाल घुम्न नजानुस्’ भनेर आफ्ना नागरिकलाई चेतावनी दिइरहेको अवस्थामा यो सरकारले १० लाख पर्यटक कुन देशबाट ल्याउँछ ? अर्कातिर, गोरो छाला नभएका नेपाली नागरिक हरियो प्लेटका पर्यटक बसमा चढ्न पाउँदैनन् र, चढिहाले पनि बस व्यवसायी र तिनले पालेका मानिसका हातबाट कुटिनुपर्ने डर हुन्छ । के नेपाली नागरिक नेपालका आन्तरिक पर्यटक होइनन् ?
 अहिले ‘भिलेज टुरिजम’, ‘इको टुरिजम’ र ‘कल्चरल टुरिजम’ का नयाँ कागजी अवधारणा सतहमा ल्याइएका छन् तर यिनलाई सरकारी–निजि साझेदारीले मात्रै साकार पार्न सक्ने छैन । गाउँमा पर्यटक भित्रिएपछि संस्कृति जोगिँदैन भन्ने सोच पूरै गलत छैन । संस्कृतिका मूल कुरालाई जोगाएर पर्यटनलाई पनि साथसाथै लैजाने कुरामा हामी दिनप्रतिदिन पछि परिरहेका छौँ ।  बाहिरबाट भित्रिने डलर आमनागरिकको घर–घरमा पुग्ने वातावरण अहिले छैन । सबै क्षेत्र र भू–भागले आफ्ना संस्कृतिलाई प्रदर्शन गर्ने उचित वातावरण नहुँदा पर्यटन व्यवसायमा आमनागरिकको सहभागिता हुन नसकेको हो । नेपालको पर्यटन क्षेत्रको समस्या र सम्भावनाका बारे गफ गर्दा पर्यटकबाट आउने मुनाफा नागरिकका घरदैलोमा कसरी पुर्याउने भन्ने सन्दर्भलाई सरकार र निजि क्षेत्रले महŒव दिइरहेका छैनन् । ‘पर्यटनका लागि सँगसँगै’ नारा दिएर अनि सिजनमा धेरै पर्यटकका लागि धेरै कोठाको समस्या समाधान गर्न ‘होम स्टे’ को कागजी अवधारणा ल्याएर मात्र हुन्न । पर्यटन व्यवसायीले सञ्चालन गरेका होटल सफासुग्घर राखेर मात्रै हुन्न, विदेशी पर्यटकले पहिलो पाइला टेक्ने विमानस्थलहरु पनि सफासुग्घर हुनुपर्छ । प्रशस्त पूर्वाधार भएका देशमा मात्रै धनी र धेरै पैसा खर्च गर्न सक्ने पर्यटक आउँछन् भन्ने नबुझ्दासम्म नेपालमा वास्तविक अर्थमा पर्यटन व्यवसाय प्रारम्भ हुन सक्दैन । करिब ६५ प्रतिशत नेपाली गरिब रहेको हालै प्रकाशित अन्तर्राष्ट्रिय तथ्यांकलाई हेरेर कस्ता पर्यटक नेपाल आउलान् ?
 

No comments: