-गोपाल विरही
पोखराका तिलकमान गुभाजूले लेख्नुभएको ‘अनागारिका धर्मशीला र उहाँका कार्यहरु’ पुस्तक पढिरहँदा धेरै ठाउँमा म रोएँ । त्यसैको एउटा प्रेरणादायी अंश बुद्धभूमिका नागरिकहरुका लागि उपयोगी होला भनेर केही छाँटकाँटबाहेक जस्ताको तस्तै साभार गरेको छु ।
‘धर्मशीला गुरुमा (भिक्षुणी–अनागारिका) सँग बौद्ध–दर्शनका किताब लिँदै केही वर्षदेखि अध्ययन गरिआउनुभएका तथा उहाँ सँग–सँगै बौद्ध–दर्शन सम्बन्धी शिक्षा सिक्नुभएका कास्की जिल्ला अन्तर्गत घाचोक निवासी जयलाल लम्साल बौद्ध गतिविधि देखेर ज्यादै प्रभावित भई उहाँले आफू प्रब्रजित (भिक्षु) हुने निर्णय गर्नुभयो । एउटा ब्राह्मण कुलमा जन्मेका वयोवृद्ध समाजसेवी एवं राजनैतिक कार्यकर्ता जयलाल लम्साल कुशीनगरमा गएर २०३५ सालमा ७५ वर्षको उमेरमा प्रब्रजित हुनुभयो । प्रब्रज्यापश्चात उहाँ सुभद्र नामले परिचित हुनुहुन्छ । २०३९ सालमा उहाँले गुरुमाकै दायकत्वमा काठमाडौँमा उप–सम्पदा (पूर्ण भिक्षुत्व) प्राप्त गर्नुभएको थियो ।
जयलाल लम्साल कसरी बौद्ध भिक्षु हुनुभयो भन्ने कुरा एउटा रोचक विषय हो । उहाँ एउटा प्रतिष्ठित परिवारमा जन्मनुभएकाले समाजमा उहाँको मान र मर्यादा थियो । इज्जत र प्रतिष्ठा थियो र समाजमा हाँक र ढाँक थियो । सम्पत्ति र वैभवको कुनै कमी थिएन । उहाँको भौतिक इच्छा र चाहना पूरा हुन त्यति कठिन थिएन । तर पनि उहाँ सादा जीवन यापन गर्न चाहनुहुन्थ्यो । उहाँको उद्देश्य ठूलो थियो । विशाल थियो । देश आत्मनिर्भर हुनुपर्दछ भनेर उहाँले २००७ सालदेखि नै आफ्नै गाउँमा बनेको खस्रो घरबुनाको लुगा लगाउने गर्नुभयो । उहाँको त्यो पहिरन भिक्षु नभएसम्म कायम थियो । उहाँले जे कुराको पनि आफै उदाहरण बनेर देखाउने गर्नुहुन्छ । यो उहाँको बानी हो, स्वभाव हो ।
पछि उहाँले धर्मशीला गुरुमाबाट १–२ वटा बौद्ध–दर्शनसम्बन्धी किताब लगेर हेर्नुभयो । उहाँले हिन्दू र बौद्ध–दर्शनको सिद्धान्त र व्यवहारको तुलनात्मक अध्ययन गर्नुभयो । विहारमा उहाँको आवत–जावत अरु बढ्न लाग्यो । केही ब्राह्मणहरु बुद्धलाई विष्णुको नवौँ अवतार भन्छन् तर कहिल्यै विहारमा गएर बुद्धोपदेश श्रवण गर्ने, पञ्चशील ग्रहण गर्ने गर्दैनन् । उनीहरु बौद्ध–दर्शनलाई हिन्दू धर्मको शाखा भनेर प्रचार गर्न मन पराउँछन् तर उनीहरुले कहिल्यै एउटा बोटले आफ्नो शाखालाई दिनेजस्तो टेवा (सहयोग) बौद्ध–अभ्यासलाई दिएको उहाँले देख्नुभएन । त्यसका विपरीत, आफू बौद्ध विहारमा गएकोलाई पनि आपत्ति जनाएझैँ गरी असन्तुष्टि प्रकट गर्दछन् । उहाँलाई यो आश्चर्य लाग्दछ । आश्चर्य नलागोस् पनि किन ? उहाँलाई पो बुद्ध विष्णुको नवौँ अवतार भन्नेमात्र थाहा छ । विद्वान्हरुले त ‘हस्तिना ताड्ये मानोपि नगच्छेत बौद्ध मन्दिरम्’ अर्थात् हात्तीले कुल्चे पनि बुद्ध मन्दिरमा नजाऊ भनेर आदेश भएको पनि त थाहा पाएका छन् । शास्त्र पनि कति जटिल १ कति जेलिएको १ एकातिर बुद्धलाई विष्णुको अवतार भन्ने अर्कोतिर हात्तीले कुल्चे पनि बुद्ध मन्दिरमा नजाऊ भनेर आदेश दिने १ कसलाई मान्ने ? कसलाई नमान्ने ? कुन सत्य ? कुन असत्य ? कस्तो रनभुल्लमा पार्ने कुरा ? तैपनि ब्राह्मणहरुलाई थाहा छ, आदेश भनेको आदेश हो । त्यो आदेश शिरोधार्य गरेर ब्राह्मणहरु बुद्ध विहारमा त्यसरी नआउने गरेका हुन् कि ? त्यो जे भएपनि जयलाल लम्सालज्यूले त्यो ‘रहस्य’को कुरा बुझ्न सक्नुभएन । त्यो कुरा बुझ्न उहाँले अरु अध्ययन गर्नुभयो । उहाँले जति अध्ययन गर्दै जानुभयो, उति बौद्ध–दर्शनप्रति आकर्षित हुँदै जानुभयो । धम्मपदमा पालि भाषामा लेखिएको छ, ‘न जच्चा वसलो होति, न जच्चा होति ब्राह्मण, कम्मना वसलो होति, कम्मना होति ब्राह्मण’ अर्थात् जन्मले होइन कर्मले ब्राह्मण र चण्डाल हुन्छ । यो बुद्ध–वाक्यले उहाँको हृदयलाई छोयो । उहाँमा एक किसिमको संवेग उत्पन्न भयो र एक दिन उहाँले आफूले वर्षौँदेखि लगाउँदै आएको जनैको कुनै औचित्य नभएको महशुस गरी ७२ वर्षको उमेरमा जनै लगाउन नै छोड्नु भयो । उहाँको त्यो व्यवहारले ब्राह्मण समाजमा खैलाबैला मच्चियो । स्थानीय चेतनशील बुद्धिजीवी समूहलाई विचार विमर्शका लागि नयाँ खुराक प्राप्त भएको अनुभूति भयो । त्यसबेला त्यो घटना सनसनीपूर्ण समाचार बनेर फैलिएको कुरा आजभोलि पनि कहीँ कतै चर्चा परिचर्चा गरिएको सुनिन्छ ।
बौद्ध–दर्शनतिर अग्रसर हुने उहाँको त्यो एउटा ठूलो साहसिक पाइला हो । किनभने कतिपय बुद्धिजीवी विद्वान्हरु छन् जो गौतम बुद्धलाई महामानव भनी स्वीकार्दछन् र बौद्ध–दर्शनलाई शान्तिवादी, वैज्ञानिक किसिमको दर्शन भनेर पनि व्याख्या गर्दछन् तर बुद्धको पञ्चशील ग्रहण गर्न हिच्किचाउँछन्, बुद्धको शाश्वत सन्देशलाई समेट्ने साहस जुटाउन सक्दैनन् । यो एक किसिमको मानवीय कमजोरी हो । प्रायः मानिसहरु युवावस्थामा क्रान्तिकारी विचारका हुन्छन् । उनीहरु परिवर्तन चाहन्छन् र खूब सुधार गर्न खोज्दछन् । साहसिक व्यक्तिहरुले कहिले गरेर देखाउँछन् पनि तर जब बुढेसकाल लाग्छ तब उनीहरुको क्रान्तिकारी भावना सेलाउँदै जान्छ । परिवर्तनको चाहना त्यसै अधुरो रहन्छ र सुधारको नाममा ठोस काम कुरा गर्न नसकी जीवन त्यसै बर्बाद भएर जान्छ । त्याग र तपस्या हराउँछन् । इतिहास मेटिन्छ । यो कालचक्रको साधारण नियम हो । यो परिस्थितिको दास हुनेहरुका लागि लागू हुने शाश्वत धर्म हो । तर जयलाल लम्सालले ७५ वर्षको वृद्ध उमेरमा पनि युवा जोश कायम राखी परिवर्तन चाहनुभयो । पारिवारिक घुर्की अवरोधलाई अस्थायी सम्झेर, सामाजिक वहिष्कारको कुरालाई अनर्गल प्रलाप मात्र ठानेर, परम्पराको बन्धनलाई तोड्नुभयो । परिस्थितिको दासताबाट आफूलाई मुक्त पार्नुभयो, विवेकको आवाजलाई पूरा गरिदिनुभयो र शाश्वत सत्य कुरा अंगाल्ने साहस गर्नुभयो र बौद्ध–संघमा उहाँ प्रब्रजित हुनुभयो । बौद्ध भिक्षु हुनुभयो ।
भिक्षु सुभद्र अहिले (२०६५) ८६ वर्षको हुनुहुन्छ । नम्र बोली, शीलयुक्त स्वभाव र सादा जीवन यापन गर्न रुचाउने उहाँलाई झट्ट हेर्दा उहाँको जीवन–दर्शन कस्तो छ भनेर अड्कल गर्न सकिँदैन । उहाँमा देखावट गर्ने प्रवृत्ति छैन, लामो–लामो कुरा गरेर आफ्नो विचार प्रकट गर्ने स्वभाव छैन र ठूल्ठूलो स्वरले बोलेर प्रचार गर्ने बानी पनि छैन । उहाँ आफ्नो काम आफ्नै किसिमले खुरुखुरु गर्नुहुन्छ, अथक परिश्रमले । उहाँमा जोश छ, जाँगर छ र अदम्य साहस छ । त्यो जोश र जाँगर देखेर उहाँका निकटतम सहयोगी पं. मुक्तिनाथ तिमिल्सनाले उहाँलाई ८५ वर्षको ‘युवा’ भन्नुभएको थियो । हुन पनि उहाँमा युवोचित गुणहरु पर्याप्त छन् । उहाँ युवासरह दौडधुप गर्न सक्नुहुन्छ र युवाजस्तै क्रान्तिकारी विचार लिनुहुन्छ ।
भिक्षु सुभद्रले माछापुच्छ्रे हिमालको काखमा रहेको आफ्नो गाउँमा माछापुच्छ्रे विहारको स्थापना गर्नुभएको छ । त्यहाँ त्यो विहार स्थापना भएपश्चात बुद्धप्रति श्रद्धावान्हरुको अभिवृद्धि भएको मात्र होइन, विहारका माध्यमबाट समाजसेवाका कामहरु पनि भएका छन् । त्यसलाई अरु विस्तृत र व्यापक पार्न सकिन्छ । संक्षिप्तमा भनौँ भने माछापुच्छ्रे बुद्ध विहारलाई केन्द्रविन्दु मानेर त्यसको माध्यमबाट त्यहाँ धेरै जनोपयोगी कार्यक्रमहरु लागू गर्न सकिन्छ । तर त्यस्ता कार्यक्रमहरु माथिबाट लाद्नुभन्दा स्थानीय नागरिककै सक्रियतामा हुनु धेरै राम्रो हुन्छ । त्यो भएमा सम्बन्धित पक्षहरुबाट सहयोग र सहायताको अपेक्षा पनि गर्न सकिन्छ र त्यसो भएमा त्यो बुद्ध विहार घाचोकको लागि सामाजिक दृष्टिले पनि वरदान सावित हुन सक्छ ।’
तिलकमान गुभाजूले उहाँकै शब्दाधिक्यसहित तयार पारिएको यो लेख पढिरहनुभएको छ भने म उहाँलाई साधुकार भन्न चाहन्छु । उहाँको आलेखले गम्भीर प्रश्नहरु गरेको छ । गर्ने के त ? विपश्यना ठूलो सहयोगी हुन सक्छ । विपश्यनाचार्य सत्यनारायण गोयन्काका शब्दमा ‘स्वयंलाई स्वयंद्वारा हेर्ने कला नै विपश्यना हो ।’ मनहर जे. शाह भन्छन्– ‘म यस ध्यान–पद्धतिलाई विशेषतः जापानका आधुनिक व्यवसायी वर्गका लागि (जसलाई जीवनमा तनावको अधिक सामना गर्नुपर्दछ) अनूमोदन गर्दछु । विपश्यनाले हामीलाई तनाव र बोझरहित जीवन जिउने, सुगमतापूर्वक प्रयत्न गर्ने र प्रसन्नतापूर्वक काम गर्ने कला सिकाउँछ ।’ एउटा भ्रान्ति के छ भने बुद्ध स्वयं गृहत्यागी भएकाले उहाँका शिष्य केवल गृहत्यागी भिक्षुहरु मात्रै थिए, अतः उहाँका शिक्षा केवल गृहत्यागी भिक्षुहरुका लागि हो, गृहस्थहरुका लागि होइन । वास्तविकता के हो भने गृहत्यागी भिक्षु र भिक्षुणीहरुका तुलनामा बुद्धका गृही–शिष्यहरुको संख्या कैयन् धेरै थियो । मगध–नरेश बिम्बिसार, कोसल–नरेश प्रसेनजित, महारानी मल्लिका, महारानी खेमा, अभय राजकुमार, बोधि–राजकुमार, सेनापति बन्धुल, सेनापति सिंह, राजमहिषी श्यामावती, दासी खुज्जुत्तरा, राजपुरोहित–पुत्र कात्यायन, राजवैद्य जीवक, दानवीर साहु अनाथपिण्डिक, भिखारी कोढी सुप्पबुद्ध, जटिल काश्यप बन्धु, परिब्राजक दारुचीरिय, सद्गृहिणी विसाखा, नगरवधू अम्बपाली, ब्राह्मण महाकाश्यप हुन्, स्वीपर सुनीत, ब्राह्मण सारिपुत्र, चण्डालपुत्र सोपाक, सदाचारी सीलवा, हत्यारा अंगुलिमाल आदि जो–जसले विपश्यना साधनाको अभ्यास गर्यो, ऊ बदलियो ।
केही मानिसहरुमा बुद्धका बारेमा ‘उहाँले जन्म–मरणको संसारचक्रबाट अनासक्त–मुक्त हुने उपदेश दिनुहुन्थ्यो, त्यसैले व्यक्तिगत, पारिवारिक, राजनैतिक र सामाजिक विषयहरुमा उहाँ अन्यमनस्क र विचारविहीन हुनुहुन्थ्यो’ भन्ने भ्रम छ । बुद्धले गृहस्थ जीवनका हरेक पक्षमाथि उपदेश गर्नुभएको छ । माता–पिता र सन्तान, पत्नी र पति, मालिक र नोकर, गुरु र शिष्य, मित्र, शासक र नागरिकहरुका पारस्परिक सम्बन्धहरुका बारेमा दिइएका उहाँका उपदेशहरु आज पनि उत्तिकै प्रासङ्गिक, उत्तिकै उपादेय र समसामयिक छन् । स्वदेशको समुचित सुरक्षाका लागि लिच्छवी प्रजातन्त्रवादीहरुलाई दिइएको उहाँको उपदेश आजका कुनै पनि लोकतान्त्रिक सरकारका लागि आदर्श रुपमा अपनाउन–प्रयोग गर्न सकिने गरी योग्य छन् । यसै गरी अन्य शासकहरुका लागि पनि उहाँका शिक्षाहरु अनमोल हुन सक्छन् र छन् । ‘राजा रक्खतु धम्मेन, अत्तनो व पजं पजं’ अर्थात् ‘शासकले आफ्ना नागरिकहरुको रक्षा त्यसरी नै गर्नुपर्दछ, जसरी उसले आफ्ना सन्तानहरुको रक्षा गर्दछ ।’ उहाँका शिक्षाहरुको यही परम्पराबाट प्रभावित भएर सम्राट अशोकले जुन कल्याणकारी शासन व्यवस्थाको आदर्श उपस्थित गरे, त्यो समस्त मानव–इतिहासमा अनौठो, अनुपम, अद्वितीय र अनुकरणीय छ । बुद्धका उपदेशहरु जम्बुद्विपमा मात्रै होइन, अपितु समग्र विश्वको प्रशासकीय इतिहासको जाज्वल्यमान प्रकाश–स्तम्भ हुन् । केसमुत्तका कालामहरुलाई दिइएको उहाँको प्रसिद्ध उपदेश मानव–जातिका लागि विचार–स्वातन्œयको पहिलो प्रभावशाली घोषणापत्र हो । जुन व्यक्तिको सदुपदेशहरुका कारण नेपाल विश्व–प्रसिद्ध भयो, उसका वाणीहरुबारे पूर्वाग्रहरहित भएर अध्ययन, मनन् र चिन्तन गरिनु देशका लागि कल्याणकारी मात्रै होइन, गौरवपूर्ण पनि हुनेछ ।
अन्त्यमा फेरि गुभाजूजीसँगै म पनि सोध्न चाहन्छु, एकातिर बुद्धलाई ‘विष्णुको अवतार’ भन्ने अर्कातिर हात्तीले कुल्चे पनि बुद्ध विहारमा नजाऊ भनेर ‘आदेश’ दिने, किन ? केही ब्राह्मणहरु बौद्ध–दर्शनलाई ‘हिन्दू धर्मको शाखा’ भनी प्रचार गर्न मन पराउँछन् तर उनीहरुले कहिल्यै एउटा बोटले आफ्नो हाँगालाई दिनेजस्तो टेवा बौद्ध–संघलाई दिएको देखिन्न, किन ? उनीहरु बुद्धलाई ‘विष्णुको नवौँ अवतार’ भन्छन् तर कहिल्यै विहारमा गएर बुद्धोपदेश श्रवण गर्ने र पञ्चशील ग्रहण गर्ने गर्दैनन्, किन ?
No comments:
Post a Comment