Saturday, May 19, 2012

वेदान्त, बुद्ध ः विषय र व्याख्या




-गोपाल विरही
भारतीय राजनीतिकर्मी एवं वेदान्ती करण सिंहका प्रशंसामा शब्द खर्च गर्नुभएछ शारदा शर्मा र डा. भागवत आचार्य आदिले । करण सिंहका लहैलहैमा लागेर ‘बौद्ध दर्शन र उपनिषद्हरुको प्रतिपाद्य विषय एउटै होे’ भन्ने अर्थ लगाउन पनि उहाँहरुले खर्चिएका शब्द पढेर असहमति लेख्न म बाध्य भएको छु । उहाँहरुले प्रसंगवश नेपालको राष्ट्रपति भवनमा तस्विर बनेर झुण्डिएका भारतीय वेदान्ती राधाकृष्णन् र देवघाटका वेदान्तज्ञाता डा. रामानन्द सरस्वतीलाई समेत उल्लेख गर्नुभएको रहेछ । बुद्धका दर्शनमा ईश्वर, आत्मा, ब्रह्म आदि कुनै पनि नित्य ध्रुव पदार्थको गुञ्जाइश नरहँदा–नरहँदै पनि, उपनिषद् र ब्राह्मणग्रन्थहरुका ‘तŒवज्ञान’ (सत्–चिद्–आनन्द) भन्दा एकदम विपरीत तŒवहरु असत् (अनित्य, प्रतीत्य, समुत्पन्न) अ–चित् (अनात्म) अन्–आनन्द (दुःख) लाई घोषणा गरिँदा पनि यदि सर राधाकृष्णन् जस्ता वेदान्तीले गैरजिम्मेवारीका साथ निम्न वाक्यहरु लेखेर बौद्ध–दर्शनको अपव्याख्या गर्ने धृष्टता गर्छन् भने यसलाई धर्मकीर्तिका शब्दमा ‘धिग् व्यापकं तमः’ भन्नैपर्छ । राधाकृष्णन् भन्छन्– १. ‘बुद्धले ध्यान र प्रार्थनाको बाटोलाई समात्नुभयो ।’ कसको प्रार्थना ? २. ‘बुद्धको मतानुसार केवल विज्ञान (चेतना) क्षणिक छ, अरु चिज होइन ।’ बुद्धले त ‘सबै धर्म (जीवन–जगत् र त्यसको स्वभाव) प्रतीत्य समुत्पन्न छ’ भन्नुभएको थियो । ३. ‘बुद्धले ब्रह्मबारे स्पष्ट शब्दमा हो वा होइन भन्नुभएन, यसलाई ‘परमसत्ता’ (ब्रह्मा) लाई उहाँ मान्नुहुन्नथ्यो भन्ने अर्थमा लिन सकिन्न । बुद्धले दुनियाँको यस बहावमा कुनै वस्तुलाई धु्रव (नित्य) मान्नुभएन र सारा विश्वमा भइरहेको अशान्तिमा कुनै यस्तो विश्रामस्थल स्वीकार्नुभएन जहाँ मान्छेको हृदयले शान्ति पाओस् भनी सम्झनु असम्भव छ ।’ यहाँ राधाकृष्णन्ले बौद्ध निर्वाणलाई ‘परमसत्ता’ भनाउने चेष्टा गरेका छन्, जबकि बौद्ध निर्वाणलाई अभावात्मकबाहेक अन्य (भावात्मक) मान्नै सकिँदैन । बुद्धले उपनिषदीय शान्तिको प्राप्तिकर्ता ‘आत्मा’ लाई भारी मूर्खता (बालधर्म) भन्दै भन्नुभएको छ, ‘यो निरन्तर प्रवाह या घटना हो, जसमा केही पनि नित्य छैन । विश्वमा न नाम (विज्ञान) न रुप (भौतिकतŒव) कुनै चीज नित्य (स्थिर) छैन ।’  ४. ‘बुद्ध उपनिषद्मा वर्णित आत्माका बारेमा मौन हुनुहुन्छ, उहाँ न यसलाई स्वीकार गर्नुहुन्छ, न अस्वीकार ।’ राधाकृष्णन् यो बिर्सेझैँ गर्छन् कि बुद्धको दर्शनको नाम नै अनात्मवाद हो । ‘अनित्य, दुःख अनात्म’को घोषणा गर्नुहुने व्यक्तिका सम्बन्धमा राधाकृष्णन्का यी उद्गारले उनी दर्शनको इतिहास लेख्न सर्वथा अयोग्य छन् भन्ने साबित गर्छन् । राधाकृष्णन् अगाडि लेख्छन्, ‘यस (आत्मा) तŒवबिना जीवनको व्याख्या गर्न सकिँदैन । यसैले बुद्ध हरेक पटक आत्माको सत्यतालाई निषेध गर्न इन्कार गर्नुहुन्थ्यो ।’ बुद्धका सम्मुख गएका भए राधाकृष्णन्को के हालत हुन्थ्यो होला ? यसका लागि पाठकहरुले मज्झिम निकायमा मालुंक्यपुत्रको घटनालाई पढ्नुहोला । ५. मिलिन्दप्रश्नका रचयिता नागसेन (१५० ई.पू.) ले जसरी बौद्ध दर्शनको व्याख्या सरलतासँग यवनराजा मिनान्दर (मिलिन्द) सामु गरे, त्यसबारे सर राधाकृष्णन्को कथन छ, ‘नागसेनले बौद्ध विचारलाई उनको पैतृक शाखा (उपनिषद्?) बाट भाँचेर शुद्ध बौद्धिक क्षेत्रमा रोपिदिए । बुद्धको लक्ष्य (मिशन) उपनिषद्को श्रेष्ठ विज्ञानवाद (आइडियालिजम) लाई स्वीकारी त्यसलाई मानव जातिको दिनप्रतिदिनको आवश्यकताका लागि सुलभ बनाउनु थियो । ऐतिहासिक बौद्ध धर्मको अर्थ हो, उपनिषद्का सिद्धान्तको जनतामा प्रचार ।’ स्वयं बुद्ध, उहाँका समकालीन शिष्य, नागसेन, नागार्जुन (१७५ ई.), असंग (३७५ ई.), बसुबंधु (४०० ई.), दिन्नाग (४२५ ई.), धर्मकीर्ति (६०० ई.), धर्मोत्तर, शान्तरक्षित (७५० ई.), ज्ञानश्री, शाक्यश्रीभद्र (१२०० ई.) आदिले जुन रहस्यलाई जान्न सकेनन्, तिनलाई ‘खोजी निकाल्ने’ श्रेय सर राधाकृष्णन्लाई दिनुपर्ला, जसले अनात्मवादी बुद्धलाई ‘उपनिषद्को आत्मवादका प्रचारक’ ‘सिद्ध’ गरे । २५०० वर्षहरु तथा भारत, लंका, बर्मा, थाइल्याण्ड, चीन, जापान, कोरिया, मंगोलिया, तिब्बत, मध्य एशिया, अफगानिस्तान र अन्य देशहरुमा कति ठूलो भ्रम फैलिएको रहेछ कि उनीहरुले बुद्धलाई अनात्मवादी अनीश्वरवादी सम्झिइरहे १ र, अक्षपाद, वादरायण, वात्स्यायन, उद्योतकर, कुमारिल, वाचस्पति, उदयनजस्ता ब्राह्मणहरुले पनि बुद्धको दर्शनलाई जस्तो ठानेका थिए, त्यो पनि उनीहरुको ठूलो ‘अविद्या’ रहेछ १ 
प्रसंग योगको पनि छ । योग–दर्शनका कुल (१९४) सूत्रहरुमध्ये चौथाई (४९) ‘योगबाट प्राप्त हुने अद्भूत शक्ति’ को महिमा गाउन खर्च गरिएको छ । यी ‘सिद्धी’हरुमा ‘सबै प्राणीहरुको भाषाको ज्ञान’, ‘अन्तद्र्धान’, ‘भुवन (विश्व)–ज्ञान’, ‘क्षुधा–प्यासको निवृत्ति’, ‘अर्काको शरीरमा घुस्ने’, ‘आकाशगमन’, ‘सर्वज्ञता’, ‘इष्ट देवतासँग मिलन’ जस्ता कुराहरु छन् । सूर्यमा संयम गरेर कति योगीहरुले ‘भुवन ज्ञान’ प्राप्त गरे त्यो भन्न सकिन्न, तर हामी अझै पनि त्यही पुरानो भुवन ज्ञानको भरोसामा छौँ, जबकि अरु देशहरुले आधुनिक उन्नत वैज्ञानिक–तार्किक शास्त्रहरुलाई पछ्याएर अनेक प्रगति गरेका छन् ।
‘सिद्धी’ हरुका कुरा छाडिदिने हो भने योग–सूत्रमा प्रतिपादित विषयहरुलाई मोटामोटी २ भागमा बाँड्न सकिन्छ, दार्शनिक विचार र योग–साधना सम्बन्धी विचार । दार्शनिक विचारलाई १. चित्त–चेतन, २. बाह्य (दृश्य) जगत् र, ३. तŒवज्ञान गरी तीन भागमा बाँड्न सकिन्छ । तर, स्मरणीय के छ भने योगसूत्रको प्रतिपाद्य विषय दर्शन नभएर योगिक साधनाहरु हुन् । तसर्थ, यसमा केवल प्रसंगवश मात्र दार्शनिक विचार प्रकट हुन आएका हुन् । अविद्या, प्रत्ययालम्बन, क्लेश, सविचार, निर्विचार, शुक्ल, कृष्णकर्म, आशय (आस्रव), चित्त, समापत्ति, वासना, वैशारद्य, प्रसाद, भवप्रत्यय, मृदु–मध्य–अधिमात्र, मैत्री–करुणा–मुदिता–उपेक्षा, श्रद्धा–वीर्य आदि धेरै पारिभाषिक शब्दार्थ पतंजतिले जस्ताको तस्तै बौद्ध–साहित्यबाट लिएका छन्, साथै पतंजलिले जोड दिन चाहेको ‘मौलिक सत्य’ पनि बौद्धहरुको ४ आर्यसत्यहरुकै रुपान्तरण हो । यसबाट पतंजति बौद्ध विचारहरुबाट कति प्रभावित थिए भन्ने थाहा हुन्छ । बौद्ध आर्य–सत्य हुन्, १. दुःख, २. दुःख–समुदय (दुःख–हेतु), ३. दुःख निरोध (दुःखको विनाश), ४. दुःख–निरोध–गामिनी–प्रतिपद् (दुःख निरोधतिर लैजाने मार्ग या उपाय) । अब पतंजतिलाई हेरौँ, १. हेय (त्याज्य), २. हेय–हेतु, ३. हान (नाश), ४. हान–उपाय । ‘हेय’ बारे पतंजति आफै ‘यो दुःख हो’ भनेर स्पष्ट गर्छन् । यसकारण योगले बौद्ध ४ आर्य–सत्य सापटी लिएकोमा शंका रहँदैन ।
प्रसंग वेदान्त साहित्य र वेदान्त सूत्रको पनि छ । वेदान्त सूत्रहरुमाथि बौधायन र उपवर्षले वृत्ति (छोटा टीका) लेखेका थिए भन्ने कुरा बौधायन वृत्तिका केही उद्धरण रामानुज (जन्म १०२७ ई.) ले दिएबाट स्पष्ट भएपनि यी दुवै वृत्तिहरु आज उपलब्ध छैनन् । परम्पराबाट के थाहा लाग्छ भने बौधायन वेदान्त सूत्रको भाव अर्थात् शारीरिकवादी द्वैतवादका र उपवर्ष अद्वैतवादका समर्थक थिए भन्ने थाहा लाग्छ । वेदान्तसूत्रमाथि सबभन्दा पुरानो ग्रन्थ शंकर (७८८–८२० ई.) को भाष्य हो । हर्षवद्र्धन (६४० ई.) को शासन र धर्मकीर्ति (६०० ई.) को दर्शनपछि सामाजिक र आर्थिक समस्याहरु, तिनका कारण उत्पन्न भएका विषमता, बहुसंख्यक नागरिकका पीडा–प्रताडना र अल्पसंख्यक शासक–शोषितको मानसिक विलासिता, अनिश्चित भविष्यसम्बन्धी आशंकाले पूर्वीय मस्तिष्कहरु वस्तुस्थितिका आधारमा हल खोज्न यति असमर्थ थिए कि उनीहरु योगाचार, परलोकवाद, भाग्यवादको हावामा उडेर आत्मसन्तोष–आत्मसम्मोह या छललाई नै एकमात्र बाटो देख्दथे । असंग, बसुवन्धुको विज्ञानवाद (योगाचार)द्वारा बौद्धहरुले शिक्षित शासक–शोषक वर्गबीच प्रिय र सम्मानित बन्ने मौका पाएका थिए, तर पनि बौद्ध विज्ञानवाद त्यस समय अतिसम्म पुगेको थिएन भन्ने कुरा दिङनाग (४५० ई.) र धर्मकीर्ति (६०० ई.) योगाचरणवादी हुँदाहुँदै पनि उनीहरुमा वस्तुवादको जत्ति प्रभाव योगाचारवादको नहुनुले थाहा हुन्छ । धर्मकीर्तिलाई त स्पष्टसँग स्वातंत्रिक (वस्तुवादी) विज्ञानवादी भनिएकै छ । बौद्धहरुको सफलता देखेर शंकरले उपनिषद् दर्शनलाई शुद्ध विज्ञानवादका रुपमा परिणत गर्ने इच्छाले पनि वेदान्त भाष्य लेखे । यिनलाई यसमा आशातीत सफलता मिल्यो भन्ने कुरा दर्शनमा शौखिन आजका शिक्षित हिन्दूहरुमा सबभन्दा अधिक संख्या शंकर–वेदान्तका अनुयायीहरु वा ‘वेदान्ती’हरुकै हुनु र शंकर–वेदान्तसँग सम्बन्ध राख्ने तथा शंकर भाष्यमाथि लेखिएका पुस्तकहरुको संख्या हजारौँ हुनुले थाहा लाग्छ ।
वेदान्त साहित्यपछि अब वेदान्त सूत्रहरु हेरौँ । जगत् र ‘ब्रम्ह’लाई शरीर र शरीरधारीका रुपमा वर्णित गरिएकाले वेदान्त सूत्रहरुलाई शारीरक सूत्र पनि भनिन्छ, जुन शंकर–मतका विरुद्ध जान्छ । वेदान्त सूत्रको अर्को नाम ‘ब्रम्ह मीमांसा’ हो, जुन ‘कर्म–मीमांसा’का तुलनाले राखिएको छ । वेदान्तसूत्रमा ४ अध्याय र हरेक अध्यायमा ४ पाद छन् भने जम्मा ५४५ सूत्र र १५१ अधिकरण (प्रकरण) । पहिलो पादको विषय हो, ‘उपनिषद् ब्रम्हलाई मात्रै जगत्को उत्पत्ति, स्थिति, प्रलयको कारण मान्दछ । युक्तिले पनि जगत्को कारण ब्रम्ह हो, प्रधान (प्रकृति) आदि होइन ।’  दोस्रो पादका विषय अन्य दर्शनको खण्डनका साथै चेतन र जड प्राण र इन्द्रियहरु हुन् । तेस्रो पादका विषय पुनर्जन्म, स्वप्न सुषुप्ति आदि अवस्थाहरु, ‘ब्रम्हज्ञानबाट नै मुक्ति किन्तु कर्म पनि सहकारी’ । चौथो पादको विषय ‘ब्रम्हज्ञानको फल शरीरान्तपछि मुक्ति–यात्रा’, ‘अन्तिम यात्राको मार्ग’, ‘मरेपछि मुक्तिको अवस्था र अधिकार ।’ वेदान्तको प्रथम सूत्र छ, ‘अब यहाँबाट ब्रम्हको जिज्ञासा सुरु हुन्छ ।’ ब्रम्ह के हो ? दोस्रो सूत्रमा भनिएको छ, ‘जगत्को जन्म आदि (स्थिति र प्रलय) जसबाट हुन्छ (त्यही ब्रम्ह हो) ।’ यहाँ सूत्रकारले ब्रम्हलाई सिद्ध गर्न अनुमान प्रमाणलाई प्रयोग गरेका छन्, ‘हरेक वस्तुको कुनै कारण हुन्छ, यसैले जगत्को पनि कारण हुनुपर्छ ।’ यस तर्कद्वारा उनले जगत्–स्रष्टा ब्रम्हलाई ‘सिद्ध–प्रमाणित’ गरेका छन् । तेस्रो सूत्रमा भनिएको छ, ‘किनभने शास्त्र (उपनिषद्) यसको प्रमाण छ–हो ।’ (शब्दार्थ ‘किनभने शास्त्र यसको योनी हो ।’) ‘त्यो (शास्त्रको प्रमाण हुनु सबै उपनिषद्को) सर्वसम्मत (समन्वय) हो ।’ बाँकी सबै वेदान्त–सूत्र यसै चौथो सूत्रको विस्तृत व्याख्या हो । सर्वसम्मत या समन्वय साबित गर्न सूत्रकारले उपनिषद्का भित्री विरोधाभासहरुको परिहार गर्न एकातिर खोजेका छन् भने अर्कोतिर भिन्न–भिन्न उपनिषद्का वक्ताहरुले ब्रम्हज्ञानसम्बन्धी दिएका खास–खास ‘विद्या’हरु ‘उनै एक ब्रम्हाका बारेमा हुन्’ भनी ‘प्रमाणित’ गर्न खोजिएको छ । यसबाट वेदान्तको प्रयोजन उपनिषद्हरुको समन्वय हो भन्ने स्पष्ट थाहा हुन्छ । ब्रम्ह, जीव, जगत् आदिबारे आफ्नो ‘सिद्धान्त’ के हो र ‘विरोधी दार्शनिक सिद्धान्त युक्तिसंगत छैनन्’ भन्ने देखाउनु, यी २ भित्र वेदान्तसूत्रमा प्रतिपादित सबै कुरा समेटिन्छन्, जो माथि आइसकेको छ । उसो त निर्णयसागर प्रेस (मुम्बई) ले ११२ उपनिषद्हरु छापेको छ, तर यो बढ्दो संख्याका पछाडि हिन्दू धार्मिक पंथहरुको आफूलाई वेदोक्त साबित गर्ने धूनको उपज कारण हो । यिनमा ७०० ई.पू.का ईश, छांदोग्य, बृहदारण्यक– ६००–५०० ई.पू.का ऐतरेय, तैत्तिरिय– ५००–४०० ई.पू.का प्रश्न, केन, कठ, मुंडक, मांडूक्य– २००–१०० ई.पू.का कौषीतकि, मैत्री, श्वेताश्वर गरी १३ वटालाई ‘असली उपनिषद्’मा गणना गरिएको छ । उपनिषद्का ज्ञात–अज्ञात दार्शनिकको आपसमा विचार भिन्नता थियो । आरुणि र उनका शिष्यहरु याज्ञवल्कल्यझैँ एकथरि एकप्रकारको अद्वैतवादमा जोड दिन्छन् भने अर्काथरि द्वैतवादमा । उपनिषद् यी दार्शनिकका विचारहरुलाई तिनका शिष्य–परम्परा र शाखा–परम्पराद्वारा अपूर्ण रुपमा घोकेर राखिएका संग्रह हुन् तर यी संग्रहमा न दार्शनिकको प्रधानता छ, न द्वैत या अद्वैतको । यिनमा त कुनै वेदका शाखामा जो–जो राम्रा मन्त्रकर्ता भए, तिनका विचारलाई यहाँ एक ठाउँमा जम्मा गरियो । यसो हुनु ‘जरुरी’ पनि थियो किनभने प्रत्येक ब्राह्मणले ‘आफ्नो शाखा’को मंत्र, ब्राह्मणग्रन्थ, आरण्यक, उपनिषद्, कल्पव्याकरणको स्वाध्याय गर्नु ‘परम कत्र्तव्य’ थियो । वेदहरुका मुख्य दर्शन ‘ईश्वर’ र ‘आत्मा’ हुन् भने उपनिषद्हरुका मुख्य विषय पनि लोक, ‘ब्रम्ह’, ‘आत्मा’ (जीव), पुनर्जन्म हुन् ।
स्थानाभावले धेरै कुरा छुटाएर पनि लेखनी स्थगित गर्नैपर्छ । विट मार्नुअघि, यदि पाठकले ३ अस्वीकारात्मक र १ स्वीकारात्मक गरी निम्न ४ सिद्धान्तहरुलाई बुझ्नुभयो भने बुद्धका उपदेशहरु बुझ्न सहायता मिल्नेछ । १. ईश्वरलाई नमान्नु (अन्यथा ‘मनुष्य स्वयं आफ्नो मालिक हो’ सिद्धान्तको विरोध हुन्छ), २. ‘आत्मा’लाई नित्य नमान्नु (अन्यथा नित्य एक रस मान्नाले उसको परिशुद्धी र मुक्तिको गुञ्जाइस रहँदैन), ३. कुनै ग्रन्थलाई स्वतः प्रमाण नमान्नु (अन्यथा बुद्धि र अनुभवको प्रामाणिकता समाप्त हुनेछ), ४. जीवन–प्रवाहलाई यसै शरीरसम्म परिमित नमान्नु (अन्यथा जीवन र यसका विचित्रताहरु कार्यकारण नियमबाट उत्पन्न नभई केवल ‘आकस्मिक घटना’ रहन जान्छ ।)
‘धेरै पढिने’ बुद्धजन्मभूमिका लेखकहरु पनि राष्ट्रपति भवनको भित्तामा झुण्ड्याइएका बौद्ध–दर्शनका अपव्याख्याता राधाकृष्णन् र यिनैका विचार पछ्याउँदै ‘वेदान्ती’ भएका करण सिंहहरुका ‘फ्यान’ हुनुहुँदो रहेछ भन्ने थाहा पाएर मलाई रुन मन लागिरहेछ ।  

 

No comments: