-गोपाल विरही
चमेलिया, भाटभटेनी डिपार्टमेन्टल, मारुति र विश्वकर्मा सिमेन्ट, मोरङ अटो वक्र्स लगायत ४ सय ३७ व्यापारिक घरानाहरु भ्याट चोरीमा संलग्न भएको समाचार सार्वजनिक भएपछि फेसबुकमा तिनीहरुले निकै ‘प्रसंशा’ र ‘आशीर्वाद’ खाए । यो प्रकरणले मलाई बुद्धकालीन व्यापारीहरुको स्मरण गरायो । बौद्ध वाङ्मयमा हामी के देख्छौँ भने प्राचीन पूर्वीय समाजको आर्थिक विकासमा यी गृहपति (व्यापारी) हरुको महŒवपूर्ण योगदान थियो । समाजलाई धनधान्यले युक्त बनाउन ती व्यापारीहरुले कठिनभन्दा कठिन कार्य गर्न कत्ति पनि संकोच गरेनन् । उनीहरुको जीवनको उद्देश्य नै प्रतिष्ठामय शिल्पको ज्ञाता बन्नु, योग्य भौतिक पदार्थहरुको संग्रह गर्नु एवं गृहस्थीको कार्य सम्पन्न गर्नु थियो । उनीहरु टाढा–टाढासम्म गएर व्यापारका कार्य गर्दथे तथा रत्न एवं धातुहरुको संग्रह गर्दथे । व्यापारी–वर्ग व्यापारलाई समुचित ढंगबाट चलाउनका लागि व्यापार–समितिहरु निर्माण गर्दथे । यी व्यापार–समितिहरु यिनका व्यापारमा सहायक सिद्ध हुन्थे । यी व्यापारीहरु मूल्यहरुको निर्धारण आफैले गर्दैनथे, यो यिनको एक विशेषता थियो । यिनीहरुको धारणा के थियो भने वस्तुहरुको मूल्य निश्चित गर्नु मनुष्यहरुको प्राण लिनुजस्तै हो । यिनीहरु निश्चित गरिएको मूल्यमा वस्तु बेच्दथे । बाहिरबाट आएको व्यापारीले पनि आफैले मूल्य निर्धारण गर्दैनथ्यो, सरकारी कर्मचारी (अर्धकारक)द्वारा निश्चित गरिएको मूल्यमा नै आफ्नो सामानलाई बेच्दथ्यो । त्यस समयको यो एक विशेषता थियो कि वस्तुहरुको मूल्यनिर्धारण लाभ (मुनाफा) लाई दृष्टिगत गरेर व्यापारी आफैले गर्दैनथ्यो, यसले गर्दा सामान्य–जनलाई उचित मूल्यमा वस्तुहरु प्राप्त हुन्थ्यो । गृहपति–जन (महाजन)हरुले अवश्य नै लाभका दृष्टिले नै व्यापार गर्दथे, तर उनीहरुको दृष्टिकोण सामान्य–जनका हितमा नै निहित थियो ।बौद्ध–साहित्यबाट के ज्ञात हुन्छ भने तात्कालीन समयमा व्यापारीहरुको नाम उनीहरुको सम्पूर्ण धनको मूल्यका आधारमा रहन्थ्यो । महाबोधिजातकमा ८० करोड धन भएका महासारवान् उदीच्य, या १८ करोड धन भएका सेठको उल्लेख प्राप्त हुन्छ र यिनीहरुलाई ‘सेट्ठिक’, ‘वणिक्’ उपाधिहरुद्वारा सम्बोधित गरिएको छ । यसबाट यो परिलक्षित हुन्छ कि त्यस समयमा व्यापारीहरु आफ्नो धन लुकाएर (अघोषित) राख्दैनथे । उनीहरुको धन दान एवं सामाजिक कार्यहरुमा प्रयोग हुन्थ्यो । अनाथपिण्डिकजस्ता महाव्यापारी यसका स्पष्ट उदाहरण हुन् । केही वणिक् कञ्जूस अवश्य थिए, जसको उल्लेख बौद्ध–साहित्यमा आएको छ । तर, कुनै न कुनै प्रकारले उनीहरुमा दान दिने प्रवृत्ति उत्पन्न हुन्थ्यो । यी व्यापारीहरुकहाँ दानशालाहरु रहने गर्दथे । यी दानशालाका सञ्चालकहरु नगर एवं जनपदहरुमा सम्मानित हुन्थे । विनय पिटकको चुल्लवग्गका अनुसार राजगृहका एक व्यापारीले बुद्ध एवं संघको आवासहेतु ६० विहारहरुको निर्माण गराएका थिए ।
व्यापारीहरु आशायुक्त हुने गर्थे । यिनीहरु आफ्ना विचारहरुप्रति दृढ र कर्मठ हुन्थे । आशाले प्रेरित भएर धनको खोजीमा निस्कन्थे । यिनीहरु डुंगामा चढेर समुद्रमा जान्थे । कहिले–काहीँ उनीहरु त्यहाँ डुब्थे र धनविहीन भएर विनाश प्राप्त गर्दथे, तर आफ्ना संकल्पबाट विचलित हुँदैनथे । आर्थिक सन्दर्भहरुमा लेन–देनको प्रक्रिया चल्दथ्यो । यस प्रक्रियामा मानिसहरु ऋण दिएर, ब्याज लिएर जीविका चलाउँथे । ब्याजबाट जीविका चलाउनेहरुको बौद्ध–साहित्यमा विरोध गरिएको छ । महाकण्हजातकमा राजाले सोध्दा देवराज शक्रद्वारा भनिएको गाथा शिकारीले भन्दछ, ‘जसले ऋण दिएर त्यसको ब्याजबाट जीविका चलाउनेछ, त्यसलाई मारेर मेरो कुकुर मुक्त हुनेछ ।’
यसरी बौद्ध साहित्यको अध्ययनबाट के ज्ञात हुन्छ भने तात्कालीन समाजको आर्थिक व्यवस्थालाई सुदृढ बनाउनमा व्यापारीहरुको योगदान महŒवपूर्ण रहेको थियो । यी व्यापारीहरुले सम्पूर्ण उत्पादनका क्षेत्रहरुमा कुनै न कुनै रुपले आफ्नो स्वामित्व बनाएका थिए । तर, यी राज्यलाई सम्पूर्ण सहयोग गर्दथे । एक पटक ८० करोडवाला व्यापारी राज्यबाट सम्मानित भयो र उसलाई ‘श्रेष्ठी’ पद प्राप्त भयो । यसरी राज्यको सहयोग लिएर नै उनीहरुले कार्य गर्दथे ।
त्यस सयम एउटा धारणा के बनेको थियो भने अधर्मबाट जीविका चलाउनुभन्दा पात्र (गोलो भाँडो) बोकेर अनागारिक (सन्न्यस्त) भएर भिक्षावृत्तिद्वारा जीविका चलाउनु नै राम्रो हो । साथै के पनि विचार थियो भने यस्तो एश्वर्यलाभ तथा धनलाभलाई धिक्कार छ, जो नर्कगामी कर्म वा अधर्मयुक्त आचरणबाट प्राप्त हुन्छ । यसबाट पूर्णतया स्पष्ट हुन्छ कि समाजमा मानिसहरु धर्म (सेवा–सदाचरण) का माध्यमबाट ऐश्वर्यलाभ या धनलाभ गर्दथे । यसकारण भन्न सकिन्छ, तात्कालीन समाजको आर्थिक जीवनमा भ्रष्टाचार कम थियो । यो सत्य होे कि त्यस समय पनि गरीब र धनी २ वर्ग थिए र गरीबहरुको स्थिति शोचनीय थियो । तर, आर्थिक जीवनमा पनि इमानदारिता कम थिएन । सूत्रपिटक हेर्दा माप, तौल एवं विनिमयका साधनहरुमाथि प्रकाश पर्छ । दीघनिकायको अध्ययनबाट के स्पष्ट हुन्छ भने यदि कम तौलद्वारा छलेर धन आर्जित गर्दछ भने त्यसलाई मिथ्या–आजीविका मानिन्थ्यो । कूट तुलाको प्रयोग गरी छल गर्ने व्यक्ति विशेष अवसरहरुमा बोलाइन योग्य मानिँदैनथ्यो । बुद्धका समयमा वस्तुहरुको तौलका लागि तुलाघरहरु पनि हुन्थे । पहिले चामलको एक परिमाण वस्तुहरुको विनिमयका रुपमा प्रचलित थियो । तर, बौद्ध युगमा सिक्काहरुको प्रचलनको प्रमाण भेटिन्छ तथा यिनलाई क्रय–विक्रयको माध्यमका रुपमा प्रयोग गरिएको कुरा पनि ज्ञात हुन्छ । जातकहरुमा यी सिक्काहरुलाई निष्क, कार्षापण, सुवर्ण, मासक, कंस, पाद एवं काकणिक भनिएको छ । कार्षापण त्यस समयको प्रचलित सिक्का थियो । सूत्रपिटकबाट बजारहरुको विवरण प्राप्त हुन्छ । नगरहरुको विकास सँगसँगै बजारहरुको पनि विकास भयो । जातकहरुबाट के विदित हुन्छ भने व्यवसाय अनुरुप विभिन्न विधिहरु बनेका थिए । खाद्यान्न सामग्रीलाई नगरको मुख्य द्वारमा ल्याएर एकत्रित गरिन्थ्यो । त्यहीँ मुख्य बजारको भाग पनि हुन्थ्यो । बजारहरुमा कपडा, रथ, तेल, अन्न, शाक, रत्न, सुन, चाँदी एवं आभूषण इत्यादिको क्रय–विक्रय हुन्थ्यो । गाउँहरुमा उत्पादित सामानहरु गाउँकै बजारमा खरिद गरिन्थ्यो । रहल–पहल सामानलाई सहर पुर्याइन्थ्यो । यसरी बजार गाउँ र नगर दुवै एक–अर्काका पूरक हुन्थे । जातकहरुमा केही अन्य प्रकारका सामानहरुका बजारको पनि उल्लेख छ, जसबाट भद्र व्यक्तिहरु टाढै रहन्थे । यिनमा मासु, रक्सी, अस्त्र एवं दासहरुको क्रय–विक्रय हुन्थ्यो । निगम, ग्राम एवं नगरजस्ता स्थानहरु व्यापारका केन्द्र हुन्थे, जहाँ साना–ठूला सबै व्यापारी खरिद–विक्रीका लागि जाने गर्दथे ।
व्यापार आर्थिक जीवनमा उत्पादनको अधिकता, जनसामान्यको समृद्धि एवं सम्पन्नताको परिचायक हो । प्राचीन कालमा व्यापारको निकै प्रगति भएको थियो, जसको आँकलन बौद्ध साहित्यका माध्यमबाट गर्न सकिन्छ । बौद्ध साहित्यको अध्ययनबाट के स्पष्ट हुन्छ भने जल एवं स्थल दुवै भागबाट वणिक्हरु व्यापार गर्दथे । व्यापार गर्नेहरुका अघि जो अनेक कठिनाइहरु आउँथे, तिनको पनि उल्लेख प्राप्त हुन्छ । व्यापार अन्तर्देशीय एवं विदेशी दुवै प्रकारका हुने गर्दथे । शासक प्रमादी भएमा कर्मचारीहरुको प्रवृत्ति घृणित हुन जान्थ्यो र तिनले मनमानी ढंगले कर उठाउँथे । यस प्रकारका आतंकबाट गरीब नागरिक भयातुर भई लुक्ने यत्न गर्दथे । दिउँसो कर्मचारीले लुट्थे भने राति चोरहरुले । यस्तो स्थितिमा नागरिकद्वारा शासक नष्ट होस् भन्ने कामना पनि गरिन्थ्यो, जसको विस्तृत विवेचना गण्डतिन्दु–जातकमा पाइन्छ । उक्त जातकको अन्तमा के पनि भनिएको छ भने शासकले राज्यको स्थितिलाई अध्ययन गरी आफ्नो प्रमाद छाडिदियो र धर्मानुशासन गर्न थाल्यो । यसबाट के स्पष्ट हुन्छ भने कर्मचारीहरुद्वारा अनुचित कर लिइनु पनि पाप मानिन्थ्यो । शुल्क ग्रहण गर्ने अधिकारीलाई शौल्कक भनिन्थ्यो । महासमुद्रावतरण गर्ने व्यापारीहरुसँग तटपण्य शुल्क लिइन्थ्यो ।
राष्ट्रको उन्नति र सुरक्षाका लागि सप्ता¨को वर्णन प्राचीन साहित्यमा पाइन्छ । तिनमा कोषको स्थान मुख्य छ । राज्य–कोषको सञ्चयका साधनहरुमा राष्ट्र, दुर्ग, सेतु, खानी, बन, ब्रज र वणिक्पथ प्रमुख छन् । राज्यकोषमाथि नै राज्यको उन्नति आश्रित हुन्छ, त्यसैले राज्यकोषका आयस्रोतहरुमा अर्थदण्ड, कर (कृषिकर, बलिकर, धार्मिककर, वाणिज्यकर) पनि सम्मिलित गरिएको छ । बौद्ध साहित्यमा कोषवृद्धि सुन्दर राज्यको महान् लक्षण मानिएको छ । चक्रवर्ती शासकसँग कोषको पूर्णता आवश्यक हुन्थ्यो जसको वर्णन दीघनिकायमा गरिएको छ– ‘परिपूर्ण कोष–कोष्ठागार भएको, बलवती, चतुर¨िणी सेनायुक्त, दान दिने तथा जससँग बहुश्रुत, विद्वान्हरु भेट्न आउँछन् । यीमध्ये परिपूर्ण कोष्ठागारको विशेष महŒव छ ।’ यसबाट यो स्पष्ट हुन्छ कि कोषको पूर्णता राज्य–प्रशासनलाई सुचारु रुपले चलाउनका लागि आवश्यक थियो । दीघनिकायका अनुसार महाविजितको यज्ञ गरेपछि नैगम जनपद अनुयुक्तक, क्षत्रिय, अमात्य पार्षद, महासाल (धनी) ब्राह्मण, नैचयिक गृहपति (धनी व्यापारी) हरुले धेरै धनधान्य ल्याएर शासक महाविजितसँग भने, ‘यी धेरै धनधान्य तपाईँका लागि ल्याएका छौँ, यसलाई स्वीकार गर्नुहोस् ।’ शासकले भने, ‘होइन, भोे १ मसँग धर्मपूर्वक उपार्जित धेरै धनधान्य छ, यी तपाईँहरुसँगै रहून्, तपाईँहरु चाहनुहुन्छ भने यहाँबाट अरु (धन) लिनुहोस् ।’ शासकले निषेध गरेपछि एकान्तमा उनीहरुले सल्लाह गरे, ‘यो हाम्रा लागि उचित छैन कि यी धनधान्य आफ्ना घरमा लगौँ । किन हामी पनि यिनकै अनुगामी नबनौँ ?’ यसबाट स्पष्ट हुन्छ कि बुद्धकालीन समाजको धनी वर्ग स्वेच्छापूर्वक उन्मुक्तहस्त भएर आफ्नो धन राजकोषलाई दिन्थ्यो ।
यसैबीच, हीनयान र महायानको फरकलाई जोड्नु नितान्त आवश्यक लाग्छ । गौतम बुद्धका मूल उपदेशहरुको प्रतिनिधित्व र अभ्यास मुख्यतः हीनयान (स्थविरवाद) ले गर्दछ । स्थविरवादमा भिक्षु, भिक्षुणी र विहार भनिन्छ भने महायानमा लामा, आनी र गुम्बा । बुद्ध स्वयं एक भिक्षु हुनुहुन्थ्यो । दलाई लामा र तिब्बत मुद्दालाई उकास्ने अमेरिकी योजनामा नेपालमा गुम्बाहरु धेरै बनाइएका छन् तर लुम्बिनीमै नेपाली भिक्षुहरुको विहार (सामूहिक वासस्थान) छैन जबकि कोरियाली, जापानी, थाई, श्रीलंकाली भिक्षुहरुका विहार भने छन् । कतिपय समीक्षकहरुले अल्पज्ञानवश लामा र आनीहरुलाई भिक्षु र भिक्षुणी भनेर लेखिदिनाले भ्रम सिर्जना भएको छ । यस्ता भ्रान्तिहरुको निराकरणका लागि पिटक–साहित्यको अध्ययन अपेक्षित छ । पश्चिमा मिडियाहरु लामा, आनी र भिक्षु, भिक्षुणीबीच विभेद नै देख्दैनन् । तर, नेपाली मिडियाहरुमा पनि लामा, आनीहरुलाई भिक्षु, भिक्षुणी भनेर पटक–पटक फोटो क्याप्सनहरुमा पनि लेख्ने गरिएको छ । बुद्धजन्मस्थलमा यस्तो हुनु दुर्भाग्यपूर्ण, दुःखपूर्ण र लज्जाजनक छ । भ्याट छल्ने व्यापारीहरु प्रशस्त भएको नेपालमा बुद्धजन्मस्थल लुम्बिनीमा नेपाली भिक्षुहरुको सामूहिक आवास (विहार) बनाएर संघ–दान दिनसक्ने अनाथपिण्डिकजस्ता पुण्यवान् व्यापारी–उद्योगपतिहरु कहिले जन्मेलान् ?
No comments:
Post a Comment