Saturday, May 19, 2012

गद्दाफी, ओबामा र राष्ट्रसंघ





-गोपाल विरही
संयुक्त राष्ट्र संघको ६४ औँ साधारणसभामा सन् २००९ सेप्टेम्बर २३ बुधबारका दिन बोल्दै साना राष्ट्रहरुको हितरक्षाको प्रतिनिधित्व गर्ने महान् नेता तथा लिबियाका सम्माननीय मार्गदर्शक मुअम्मर कज्जाफी (गद्दाफी) ले भनेका थिए– ‘विशेष रुपमा जो अफ्रिकाको मूल निवासी हो, उसका लागि यो ठूलो खुसी र गर्वको कुरा हो कि अफ्रिकीहरुमध्ये एक संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएको छ । यो एक ऐतिहासिक परिवर्तन हो । कुनै समय यस्तो थियो कि काला जाति त्यस चिया पसलमा छिर्न सक्दैन थिए, जसमा गोराहरु बसेका हुन्थे । अब सारा अमेरिकी जनताले केन्याका एक अफ्रिकी काला युवकलाई उत्साहका साथ भोट दिएका छन्, ताकि उनी संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बनून् । हामीलाई त्यसमाथि गर्व छ, हामी मान्छौँ कि अब परिवर्तनको सुरुवात सम्भव छ, र यो परिवर्तनको एउटा ठूलो संकेत हो । तर, मलाई डर लाग्छ कि कतै फेरि गोराहरु फर्केर आए भने पुराना चिजहरु फर्केर आउनेछन् ।’ मुअम्मर गद्दाफीले त्यसै भाषणमा भनेका थिए– ‘ओबामा अरु सबै अमेरिकी राष्ट्रपतिभन्दा अलग छन् । हामी उनका साथ छौँ । पहिलेका राष्ट्रपतिहरु भन्ने गर्थे कि हामी तिमीहरुमाथि ज्यानमारा नयाँ गोली र बम (अर्डिनन्स बेनिट्रेट मिसाइल) को वर्षा गर्नेछौँ ।’ तर बाराक ओबामा अरु अमेरिकी राष्ट्रपतिभन्दा फरक हुनेछन् भन्ने कज्जाफीको आशा नै उनको मृत्युको मुख्य कारण बन्न पुग्यो ।
संयुक्त राष्ट्रसंघमा ओबामाभन्दा पहिलेका धेरै राष्ट्रपतिहरुका भाषणहरु गद्दाफीले सुनेका थिए । जब अमेरिकी राष्ट्रपतिहरु संंयुक्त राष्ट्रसंघको मञ्चमा उभिन्थे तब उनीहरु गद्दाफीजस्ता वीर सिपाहीहरुलाई धम्क्याउँदै भन्थे कि तिमीहरुमाथि बिजुलीको झड्का छोड्ने छौँ र लिबियाली बच्चाहरुका लागि विषालु गुलाफ पठाउनेछौँ, जसरी १९८६ मा पठाइयो । गद्दाफीले भनेका थिए, ‘तपाईँ विचार गर्नुहोस् कि यति ठूलो देशको राष्ट्रपतिसँग हामी सन्तुष्ट छौँ । उसको सुरक्षा परिषद्मा स्थायी सिट छ र हामी ऊबाट यो आशा गर्दछौँ कि उसले हाम्रो सुरक्षा गर्नेछ, हामीलाई शत्रुहरुबाट बचाउनेछ र तिनीहरु यो भनिरहेका छन् कि हामीले लिबियाली बच्चाहरुका लागि विषालु गुलाफ पठाउने निर्णय गरेका छौँ, जसले त्यसलाई सुँघ्नेछ, त्यो मर्नेछ १’ गद्दाफीले अगाडि भनेका थिए, ‘तपाईँ अचम्म मान्नुहोस् वा नमान्नुहोस्, यस समय जुन कुरा हाम्रा छोरा ओबामाले गरेका छन्, ती बिलकुल अलग छन् । उनी अपिल गर्दछन् कि परमाणु हतियारबाट छुटकारा पाऔँ । यो यस्तो कुरा हो, जसलाई ताली बजाएर स्वागत गरौँ ।’ स्मरण रहोस्, उक्त साधारणसभामा ओबामाले भनेका थिए कि अमेरिकाका लागि एक्लै यो सम्भव छैन कि उसले पूरा संसारका कठिनाइहरुको हल गर्न सकोस् । ओबामाले भनेका थिए, ‘लोकतन्त्र विदेशबाट लाद्न सकिँदैन । हरेक देशको आफ्नै कला र सँस्कृति हुन्छ । यो एउटा आन्तरिक मामिला हो ।’
गद्दाफीले सोही साधारणसभामा भनेका थिए, ‘हे संसार १ एकै छिन पर्खनुस्, यो वाक्यभन्दा पहिले ‘बहु–धु्रव’ । के यो जरुरी छ कि संसार ध्रुवीकरण होस् ? के यी सबै मानिसहरु बराबर हुन सक्दैनन् ? मलाई उत्तर दिनुहोस् । के यहाँ कसैसँग उत्तर छ ? उनीहरु भन्छन् कि बहु–ध्रुवको संसार राम्रो छ । के हामी कुनै ध्रुवबिना बराबरी हुन सक्दैनौँ ? के हाम्रा लागि कुनै ‘शिक्षक’को आवश्यकता छ ? के हाम्रा लागि कुनै ‘नमुना’ हुनु आवश्यक छ ? हामीलाई बहु–ध्रुवीय संसार चाहिँदैन । यसको अर्थ ध्रुवीकरणले द्वन्द्व बढाउँछ र हामी यसलाई अस्वीकार गर्दछौँ । हामी यस्तो संसार चाहन्छौँ जसमा सबै राष्ट्रहरु चाहे ठूला हुन् या साना, कुनै पनि धु्रव बिना नै समान् होऊन् ।’
गद्दाफीको प्रस्ताव थियो, ‘अमेरिकाले संयुक्त राष्ट्र संघको मुख्यालयको जिम्मेवारीकोे थकावटलाई सहन गर्छ, प्रतिनिधिहरुको जिम्मेवारीको थकावटलाई सहन गर्छ, ती १० देशका राष्ट्रपतिहरु जो हरेक वर्ष यहाँ आउँछन्, त्यसको जिम्मेवारीको थकावटलाई सहन गर्छ, मजबुत सुरक्षा र व्यस्तता र हिचकिचाहटलाई सहन गर्छ, जबकि न्यूयोर्क र अमेरिका मज्जा गरिरहेका छन् । म चाहन्छु कि अमेरिकाको यस बोझलाई कम गरौँ । तपाईँहरु अमेरिकाबाट यस बोझलाई कम गरिदिनुहोस् र अमेरिकालाई धन्यवाद दिनुहोस् । हामी तपाईँहरुको सहायता गर्नेछौँ । हामी चाहन्छौँ कि ए न्यूयोर्क तिमी सन्तुष्ट होऊ, ए अमेरिका तिमी सन्तुष्ट होऊ र तिमी ती १० देशहरुका राष्ट्रपतिहरुको बोझ नउठाऊ, जो यहाँ आउँछन् ।’ २००९ मै गद्दाफीले भनेका थिए, ‘हरेक ५० वर्षपछि संयुक्त राष्ट्रसंघको मुख्यालयलाई पृथ्वीको कुनै अर्को स्थानमा स्थानान्तर गरियोस् । ५० वर्षमा मध्यपश्चिममा हुन्छ, ५० वर्ष अर्को ठाउँमा पृथ्वीको मध्य या त्यसको मध्यपूर्वमा । यसरी हरेक ५० वर्षमा एक ठाउँबाट अर्को ठाउँमा सारियोस् । कहिले पूर्व, कहिले पश्चिम, कहिले मध्यपूर्व । हामी (राष्ट्रसंघ) ६४ वर्षसम्म अमेरिकामा बस्यौँ, जुन हामीले मानेको उदाहरणभन्दा १४ वर्ष धेरै हुँदैछ, जसमा मुख्यालयलाई स्थानान्तरित गरिदिनु पर्ने थियो ।’
मुअम्मर गद्दाफीले अन्तर्राष्ट्रिय मञ्चहरुमा दिएका प्रस्तुतिहरु स्पष्ट, सत्यता एवं सच्चाइमा आधारित थिए, जसले संयुक्त राष्ट्र संघ र सुरक्षा परिषद्को सुरुवातमा महŒवपूर्ण सहायता गरेका थिए । गद्दाफीका भाषणहरुमा ती दस्तावेजहरुको खुल्लमखुल्ला उल्लंघनलाई स्पष्ट गरिएको छ र ती चिजहरुको वर्णन गरिएको छ, जसमाथि संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद् निर्भर छन् । अर्थात् ती चिज जसको फलस्वरुप ठूला साम्राज्य देश हावी छन् र जो स्वतन्त्रतापूर्वक साना (एफएसएस) र कमजोर देशहरुलाई डर देखाउने, धम्काउने काम गर्दछन् ।
महान् लेखक मुअम्मर अल गद्दाफीको महान् पुस्तक ‘अल किताब अल अखजर’लाई पढ्नुहोस्, यसले औषधिहरु बेच्ने अनुमति दिँदैन । वास्तवमा ‘ठूला’ मानिसहरुले नै ‘रियल जुस’ जस्ता भाइरसहरु उत्पन्न–उत्पादन गर्छन् र यसको ‘समाधान’का लागि औषधि र खोप बनाउँछन्, जसलाई बेचेर पूँजी बनाउन सकून् । गद्दाफी औषधि र खोपहरुलाई निःशुल्क घोषणा गरिनुपर्ने पक्षमा वकालत गर्दथे । वास्तवमै भाइरस बनाएर पूरै संसारमा फैलाइन्छ, ताकि कम्पनीहरु औषधि बेचेर पूँजी प्राप्त गर्न सकून् । यो मूर्खता हो । ‘ठूला देश’हरुले कालो बजारी, खाद्यान्न अभाव, भोकमरी, अराजकता, गैरनागरिक घुसपैठ, शरणार्थी, सरुवा रोगहरु, परमाणु हतियार आदिद्वारा डराउने, धम्काउने, त्रास फैलाउने, भेदभाव र नैतिक पतनजस्ता क्रियाकलापहरु गरिरहेका छन् र हामी सबैका लागि शत्रुको रुप धारण गरिसकेका छन् ।
गद्दाफीको हत्या संयुक्त राष्ट्रसंघ एवं सुरक्षा परिषद्को असफलताको एउटा ऐतिहासिक प्रमाण हो । यसअघि सद्दाम हुसेन मारिँदा पनि यस्तै भएको थियो । अर्थात् संयुक्त राष्ट्र संघ एवं सुरक्षा परिषद् सुरक्षा एवं शान्ति स्थापना गर्नमा असफल रहेको छ । यी दुवै कमजोर मानिसहरुका सहायताबाट टाढै रहेका छन् । संसारभरिका स्वाभिमानी असल मानव–समुदायका लागि यो सबैभन्दा गर्वको कुरा हो कि असल मानिसहरुमध्ये एक मुअम्मर गद्दाफीले संयुक्त राष्ट्र संघको मञ्चमा अधिकारको घोषणा गरे । उनी अरु मानिसहरुझैँ चूप लागेर बसेनन् र उनले अरुलेझैँ चाकडी चाप्लुसी गरेनन् । उनी वास्तविकताको गहिराइसम्म पुग्नका लागि कसैसँग डराएनन् । उनले सुधारको खाका पेश गर्नुका साथै साँचो विश्लेषणका समयमा मानिसहरुको भलाइलाई सामुन्ने राखे, जुन आधारमा मानिस इज्जतका साथ स्वतन्त्रतापूर्वक रहन सकोस् । वास्तविकता यो हो कि मुअम्मर गद्दाफीको कुरा उदाहरणीय रह्यो, जसले संयुक्त राष्ट्रसंघको आधारलाई समेत हल्लाइदियो । न्यायलाई निर्माण गर्न, अधिकारलाई साबित गर्न, कमजोरहरुतर्फ ध्यान दिनका लागि उनी कुरा गर्थे । उनी चाहन्थे कि मानिसहरुले एक–अर्कालाई चिनून्, एक–अर्काका लागि काम लागून्, तर यसको लागि होइन कि एक–अर्कामाथि कब्जा जमाऊन्, एक–अर्कालाई दास बनाऊन् ।
संसार र मानव–जातिसँग सम्बन्ध राख्ने गम्भीर प्रश्नहरु मुअम्मर गद्दाफीको हत्यापछि थप गम्भीर बनेर अनेक सम्भावनाहरुसहित प्रकट भएका छन् । युद्धका कैदीहरुलाई कसरी सजायँ दिइनुपर्छ ? हरेक साना ठूला सबैबाट अन्तर्राष्ट्रिय अपराध न्यायालयको पालन हुनु पर्छ कि पर्दैन ? अमेरिका र ‘ठूला राष्ट्र’ हरुले हजारौँ मुअम्मर गद्दाफीहरुलाई परीक्षण गर्न सक्छन्, मानव–जाति युद्धमा मर्न र मार्न तयार हुन्छ तर कहिल्यै पनि यस्तो अत्याचारको छायाँमा बस्न चाहँदैन । नकाबधारी एवं मूर्ख मानिसहरुले मुअम्मर गद्दाफीलाई मारेका छन् । यो कस्तो ‘सुरक्षा परिषद्’ हो ? के अमेरिकामा आन्तरिक युद्ध थिएन ? त्यसमा कसैले प्रवेश गरेन तर लिवियामा पसेर मुअम्मर गद्दाफीलाई मार्ने अधिकार अमेरिका र ‘ठूला राष्ट्र’हरुलाई कसले दियो ? यो एउटा मानवीय मामला हो जसप्रति कहिल्यै पनि चूप लागेर बस्न सकिँदैन । किन हामी यस कुरामा चूप लागेर बस्ने ?  

 

No comments: