Saturday, May 19, 2012

तिब्बत, काश्मिर र नेपाल




-गोपाल विरही

भारतका प्रधानमन्त्री मनमोहन सिंह, जो तुलनात्मक रुपले ‘नरम वक्ता’ मानिन्छन्, ले हालै भने, ‘चीनको दक्षिण एसियामा बढ्दो गतिविधिप्रति हामी चिन्तित छौँ । हाम्रो समस्या काश्मिर हो । त्यहाँ पनि चीनले चासो राख्न थालेको छ ।’ उनको भनाइ घुमाइफिराइ ‘दक्षिण एसिया त हाम्रो प्रभाव क्षेत्र हो । चीन किन सक्रिय भयो ? यसलाई हामी ‘टलरेट’ गर्न सक्दैनौँ’ भन्ने थियो । अहिले नेपालमा चीनको हस्तक्षेप बढिरहेको छ भनेर भारतीय ‘विश्लेषक’हरुले निकै चर्को स्वरमा भनिरहेका छन् । केही समयअघि चीनले यहाँ नेपाल आएर त्यसलाई एक किसिमले जवाफ दिएको थियो किनभने चीन भन्छ, ‘चीनको दक्षिण एसियाका देशहरु अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल भूटान, म्यानमार, यति धेरै देशसँग सीमा जोडिएको छ भने के चीनलाई दक्षिण एसियाको गतिविधिबाट अलग राख्न सकिन्छ ?’ त्यसमाथि पनि गएको ओलम्पिकदेखि अहिलेसम्म पटक–पटक चीनका विखण्डनवादीहरुको गतिविधि नेपालको भूमिमा दक्षिण र पश्चिमले चर्काइदिएको छ  । गम्भीर रुपले हामीले सोच्नुपर्ने कुरा के हो भने अर्काको ‘ब्याटल फिल्ड’ नेपाल भयो भने फिल्ड हामीले गुमाउनेछौँ ।
चीनियाँ नीतिमा २ वटा कुरा अहिले नयाँ देखिएको छ । पहिले–पहिले राजा र यहाँको शासनमा जो छ, त्यसैसँग बढी सुमधुर सम्बन्ध राख्ने गरेको थियो । गणतन्त्र आइसकेपछि उसले सरकारी स्तरमा मात्र नगरिकन धेरै र खासगरी प्रमुख पार्टीहरुसँग ‘पार्टी–टु–पार्टी’ सम्बन्ध विस्तार गर्न थाल्यो । केही अघि त्यहाँको पार्टीले यहाँका तीनवटा पार्टीको निमन्त्रणमा यहाँ भ्रमण गर्यो । तराईको पार्टी फोरमको महाधिवेशनमा समेत चिनियाँ प्रनिनिधि पुगेका थिए, बरु त्यसबेला भारतको उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ आएको थिएन । अर्को पक्ष, प्रतिस्पर्धामा अरुले उसको विरुद्ध नेपालको भूमिको दुरुपयोग गरेपछि नेपाललाई ‘मुखले त तिमीहरुले ‘वान चाइना पोलिसी’ भन्छौ, त्यसको मन, वचन र कर्मले पालना गर’ भनेर सम्झाउन चीन आएको थियो ।
चीनले एउटा पार्टीको पक्ष लिएर अरु पार्टीसँग द्रोह गरेमा त्यसलाई हामीले राम्रो भन्न सकिन्न । तर, चीन ३ वटै प्रमुख पार्टीको निम्तामा आयो, सबैलाई भेट्यो र सबैलाई ‘मिलेर काम गर है १ तिमीहरुको शान्ति र स्थिरतामा हाम्रो पनि चासो छ’ भनिरहेको छ । उसको न्यूनतम् माग के हो भने नेपालको भूमि आफ्ना विरुद्ध प्रयोग नगरुन् । तर, अर्को ‘छिमेकी’ चाहिँ कसैलाई छिड्की हान्न आयो । मधेशवादी दलहरुले एमाओवादीलाई भोट हाल्लान् भनेर रोक्नका लागि आएको कुरा सबैले प्रष्टै बुझेका छन् ।
नेपालको भूराजनीतिक स्थितिका कारणले पनि विदेशी चलखेल नेपालमा बढ्न गएको देखिन्छ । एकथरि सक्रिय भएपछि अर्कोथरिले त्यसलाई प्रतिरोध गर्नका लागि भूमिका खेलेको देखिन्छ । यसैले हामीले नेपालको परराष्ट्र नीति र राष्ट्रिय सुरक्षासम्बन्धि अवधारणा संविधानसभाबाट पारित गराएर त्यसलाई कार्यान्वयन र आचारसंहिता बनाएर पालन गर्नुपर्छ । यो विषयमा विभाजित भएमा अरुको हस्तक्षेपका लागि उक्लने भर्याङ बन्छ । हाम्रो आन्तरिक तयारी भनेको पार्टीहरुले यी दुई विषयमा सहमतिको दस्तावेज तयार गरी पालन गर्नु हो ।
हामीले के बुझ्नुपर्छ भने नेपालभित्रको शान्तिले मात्र हामीलाई पुग्दैन । नेपालमा पश्चिमी र अरु दक्षिणी शक्तिहरुको सहयोगबाट ठूल्ठूला गुम्बाहरु बन्छन् । त्यहाँ अनेक किसिमको तालिम विखण्डनकारी तŒवलाई दिइन्छ भनेर गुम्बाजस्तो पवित्र ठाउँमा एउटा छिमेकी आशंकित हुन्छ । मध्यपूर्व र केही इस्लामिक देशहरुको सहयोगमा ठूल्ठूला मस्जिदहरु नेपालका दक्षिणी सिमाना र अन्य ठाउँमा बन्दैछ । इस्लामको मस्जिद भनेको पवित्र ठाउँ हो, त्यसमा दक्षिणको हाम्रो मित्र देश सशंकित हुन्छ । क्रिश्चियनहरुको संख्या यो परिवर्तन पछि दस दोब्बर बढेको छ । यसको प्रतिरोध गर्न भारत धर्मनिरपेक्ष भए पनि नेपालचाहिँ धर्मसापेक्ष ‘हिन्दू अधिराज्य’ होस् भन्नका लागि यहाँ साधु, सन्त, ‘महात्मा’ पठाउँछ । त्यसैले नेपालले आफ्नो आन्तरिक सुरक्षा क्षमता बढाउनुपर्छ । तेस्रो शक्ति, दक्षिणको ‘छिमेकी’ होस् या उत्तरको, एक–अर्काका विरुद्ध तिनीहरुले यहाँ गतिविधि गर्दा त्यसलाई रोक्न र नियन्त्रण गर्न सक्ने क्षमता अहिले नेपालसँग छैन ।
भारत र चीनका बीचमा सन् १९६२ मा सीमायुद्ध नै भयो । पहिले ‘भाइ–भाइ’ थिए, त्यसपछि ‘बाई–बाई’ गरे । अब फेरि व्यापार बढेको छ । उनीहरुका बीचमा पर्यावरणको संरक्षणमा सहयोग बढेको छ । तर, सामरिक स्वार्थमा टकराव छ । यसैले हाम्रा लागि दुवै छिमेकी मिलेर बसिदिए राम्रो हुन्छ । कमसेकम नेपाललाई अप्ठेरो पर्ने गरी यो ठाउँमा चलखेल नगरुन् । भारत, चीन र नेपालको त्रिपक्षीय संवाद संयन्त्र बनाएर नेपाललाई एकले अर्कोलाई खेलाउन चलखेल गर्न नदिने बनाउन पहल गर्नु आवश्यक छ ।
चीनको भूमिका पहिलेको तुलनामा बढेको पक्का हो तर त्यसको दस दोब्बर भूमिका दक्षिण र पश्चिमी शक्तिहरुको नेपालमा बढेको छ । जसरी भारतले काश्मिरलाई आफ्नो ‘सफ्ट बेली’ भन्छ, चीनले पनि तिब्बतलाई त्यसै भन्छ । चीनका विखण्डनवादीहरुलाई समातेर बुझउँदा ‘नबुझाऊ’ भनेर भारतले नेपाललाई दवाव समेत दिने गरेको छ । नेपालमा आएका प्रतिनिधिमण्डलले नेपाल सरकारको अनुमति नलिइकन यहाँका निर्वासित तिब्बतीहरुको टोलीलाई भेट्नेसम्मका कामहरु उसले गरेको छ । पश्चिमी ‘महाशक्ति’ले त ‘तिब्बतलाई सहयोग गर्ने’ भनेर बजेटै छुट्याएको छ । हाम्रो ‘तीनतिरको छिमेकीले’ निर्वासित तिब्बतीहरुको संसदै धर्मशालामा चलाउन र सेना चलाउन दिएको छ । नेपालमै बसेका तिब्बती शरणार्थीले बरु खास केही गरेका छैनन् । विक्रीमा खटिएर आउने धर्मशालाकाहरुले यहाँ गतिविधि गरेका छन् । उनीहरु यहाँ आएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बोलाएर झण्डाहरु देखाएर पूर्वनियोजित नाटकजस्तो ‘प्रदर्शन’ गर्छन् । यसैले चीनले पटक–पटक आएर ‘तपाईँहरुको भूमि हाम्रो विरुद्ध प्रयोग गर्न नदिनुस्, सबै दलको ‘एक चीन’ नीति छ, हामी आभारी छौँ । त्यसको कार्यान्वयनमा अलि कमजोरी देखिएको छ । त्यो सुधार्नुस्’ भन्न चीन यहाँ आएको हो । चीनविरोधी गतिविधि पूर्णरुपमा नियन्त्रण गर्न नसक्नु, आफ्नो भूमिमा उनीहरुका विरुद्धको गतिविधि भइरहनु नेपालको कमजोरी हो । नेपालभित्रै भारतका मान्छेहरु पसेर कोही अपराधी हो भनेर, कति काश्मिरीहरु जो पाकिस्तानका पक्षमा छन् भनिन्छ, तिनीहरुलाई यहाँबाट समातेर नेपाल सरकारले रेकर्ड नराखिकन बुझाइदिएको छ र उनीहरुले लिएर गएका छन् । ‘पाकिस्तानतिर लागेको’ भनेर दिउँसो उज्यालोमा सञ्चारउद्यमीलाई यहाँ मारिएको पनि छ ।  भारतका ‘देशभक्त अपराधी’हरुलाई जेलभित्र बसेर मान्छे मार्न पनि छूट छ ।
‘नेपालमा पूर्ण रुपले तेस्रो देशका विरुद्धको गतिविधि रोक्नुपर्छ, हामीले दुवै छिमेकी विरुद्ध गतिविधि गर्न दिन्नौँ’ भनेर नेपाल सरकारले भन्न सक्नुपर्छ । त्यो अनुसार क्रियाशीलता र सुरक्षाक्षमता बढाउनैपर्छ र भएन भने तीनवटै बसेर कुरा गर्नुपर्छ । के हाम्रो देश नेपाल तिमीहरुको खेलौना हो ?
नेपाली नागरिक र नेपालका पार्टीहरुको सहमति र समर्थनबाट सत्तामा पुग्ने र टिक्ने होइन कि अर्काको ‘आशीर्वाद’बाट सत्तामा जाने र टिक्ने दृष्टिकोण नेपालको आन्तरिक कमजोरी हो । देशभित्रका विश्लेषकहरुले ‘हावादारी विश्लेषण गरेको’ गुनासो पोख्ने नेतृत्वमा भएकाहरु र तिनका ‘हुक्केबैठके’को हावादारी दृष्टिकोण यसमा जिम्मेवार छ । नेपालको संक्रमणकालको फाइदा उठाउन त्यस्तै हावाहरुलाई पक्षपोषण गर्न चाहने विदेशीहरुलाई के चाहियो ? नेपालको शान्ति र स्थिरतामा सद्भावना र सहयोग हामीले भारत, चीन, अमेरिका जहाँबाट पनि चाहन्छौँ । तर, नेपालमा को सत्तामा जाने, को नजाने भन्ने निर्णय लादेर हाम्रा छिमेकीविरुद्ध प्रयोग गर्न खोज्छन् भने त्यसरी प्रयोग हुनुहुँदैन ।
उत्तरी हिमाली क्षेत्रमा जाँदा कहिलेकाहीँ बास बस्ने ठाउँ हुँदैन, हिऊ पर्दिन्छ । त्यो बेला हिऊँ दुवै हातले नपन्छाउने हो भने हामी पुरिएर मर्छौँ । राष्ट्रियता र स्वाधिनता पनि निरन्तर जागरुक हुन सक्यौँ भनेमात्र जोगाउन सकिन्छ । हस्तक्षेपकारी र प्रभुत्ववादी गतिविधिका विरुद्ध राष्ट्रिय स्वाभिमानको अभियान निरन्तर चलाइरहनुपर्छ ।


No comments: