-गोपाल विरही
हालै नेपाल आएका ‘नेपालविज्ञ’ भारतीय प्रोफेसर एसडी मुनिले ‘भारतले नेपालमा अस्थिरता नचाहेको’ बताए । तर, चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा सामेल गर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरिदिएको थियो र यसबाट भारत दक्षिण एसियामा आफ्नो भ्रष्ट साम्राज्य स्थापना गर्न चाहन्छ भन्ने स्पष्ट छ । भारतको जासुसी संस्था (रअ) र अमेरिकाको त्यस्तै संस्था सिआईएको सहकार्य खासगरी भारतकै अग्रसरतामा नेपालका हितविरुद्ध भइरहेको पनि प्रष्ट छ । यी हर्कत्हरुले के देखाउँछन् भने भारतीयहरुका लागि नेपाल प्रवेशमा भिसा अनिवार्य नगरिएसम्म नेपालका राजनीतिक अस्थिरता र सीमालगायतका समस्या समाधान हुन सक्दैनन् । सिंहदरवारस्थित वैद्यखानालाई सम्बद्र्धन गर्नेतिर नेपाली शासकहरुको ध्यानै छैन तर रामदेवलाई कैयौँ बिगाहा जग्गा नेपालभित्रै उपलब्ध गराइएको छ । मन्त्री बनिसकेका राजेन्द्र महतोहरुले नेपाली कांग्रेसको महाधिवेशनमा र संविधानसभा–संसद्का बैठकहरुमा ‘संघीयता’ को हवाला दिँदै जबर्जस्ती हिन्दी भाषा बोलिरहेको कुरा कत्ति पनि स्वाभाविक छैन । के ‘संघीयता’भित्र अराजकता पनि पर्छ ? यी तिनै राजेन्द्र महतो हुन् जो सर्वोच्च अदालतले ‘नागरिकताबिना मतदाता नामावली नबनाउनू’ भनेपछि ‘नेपालको अदालतको आदेश मान्दिनँ’ भनेर सर्वोच्चको मानहानी गरिरहेका छन् । राजेन्द्र महतोजस्ता ‘आपूर्तिमन्त्री’, राजेश हमालजस्ता ‘शिक्षित’ कलाकार र हालै भारत गएर ‘संसदीय पद्धति’को तालिम लिएका ‘युवा सभासद्’ नेपालमै भएपछि ‘डाबरको रियल जुसविरुद्ध कारवाही नगर्न’ नेपाल सरकारलाई ‘आदेश’ दिन राकेश सूदलाई के अप्ठेरो भयो र ?
भ्रष्टाचारका लागि भारतको संसदीय राजनीति र प्रशायनयन्त्र जहिल्यै कुख्यात रहिआएको छ । छिमेकका राजनेताहरु भ्रष्ट भइदिँदा नेपालका नेताहरु त्यसबाट अप्रभावित रहनु निकै कठिन छ । भारतका भ्रष्ट नेताहरुका कारण पनि नेपालमा राजनीतिक अस्थिरताले पटक–पटक निरन्तरता पाइरहेको स्पष्ट छ । नेपालका नेताहरु ‘संगतगुनाको फल’ भनेझैँ भ्रष्ट भारतीय नेताहरुको संगतले लोभी–पापी र भ्रष्ट हुने गर्दछन् । बुद्धले त्यसै भनेका होइनन्–‘असेवना च वालानं, पण्डितानञ्च सेवना । पूजा च पूजनेय्यानं, एतं मंगलमुत्तमं’ अर्थात् ‘मूर्खहरुको संगत नगर्नू । असल–विद्वान्हरुको संगत गर्नू । मान गर्नुपर्नेहरुको मान राख्नू । यसैमा मंगल छ । यही उत्तम छ ।’ तर, नेपालका ‘युवा सभासद्’हरु भने ‘संसदीय व्यवस्था’बारे तालिम लिन भन्दै भारत गए । भारतले ‘संसदीय परम्परा’बारे नेपाललाई के सिकाउन सक्छ ? यो त ‘जो चोर, उसकै ठूलो स्वर’ भनेजस्तो भएन र ? हाम्रा ‘युवा सभासद्’हरु त्यही स्वरमाथि स्वर मिसाउन त्यहाँ गए । भारतीय नेताहरुका संगत र तालिमको ‘परम्परा’ले नेपालका नयाँ पुस्ताका ‘नेता’लाई पनि भ्रष्ट र देशघाती बनाउँदैन भन्ने के ग्यारेन्टी ? जुन देशका प्रधानमन्त्री मनमोहन सिंह स्वयं एयरटेल भ्रष्टाचार काण्डमा मुछिएका छन्, त्यो देशको कुनै संस्थाले नेपालका ‘युवा सभासद्’हरुलाई ‘लोकतन्त्र’बारे तालिम दिने हैसियत राख्छ ?
म एउटा सानो कथा पाठकहरुलाई सुनाऊँ । ‘ईश्वर’ले दिनप्रतिदिन भ्रष्ट भइरहेका मानिसहरुलाई देखेर संसारका तीन ‘ठूला’ राष्ट्रका प्रतिनिधिहरुलाई आफूकहाँ बोलाएछन्– अमेरिका, ब्रिटेन र रुस । यस्तो कुनै ‘ईश्वर’ वास्तवमा कतै छैन, जसले कसैलाई बोलाओस् । एउटा काल्पनिक र झूटो कथा यो हो । ‘ईश्वर’ ले तिनीहरुलाई भने–‘तिमीहरुले यत्रो शक्ति खडा गरेका छौ, तर त्यस शक्तिबाट तिमीहरुले कुनै सिर्जना गर्न सकेनौ । त्यस शक्तिका माध्यमले तिमीहरु जीवनका लागि सहयोगी बनिरहेका छैनौ । तिमीहरुको सारा शक्ति आश्चर्यजनक रुपले तिमीहरुकै मृत्यु बन्दैछ । यदि म तिमीहरुका लागि सहयोगी बन्न सक्छु भने, यदि मेरो कुनै वरदान तिमीहरुलाई काम लाग्छ भने, वरदान माग ।’ त्यसपछि अमेरिकाको प्रतिनिधिले भन्यो–‘एउटै वरदान म माग्छु । एउटा सानो वरदान पाएँ भने म तृप्त हुनेछु ।’ ‘ईश्वर’ले प्रफुल्लित भएर भने– ‘माग ।’ अमेरिकाको प्रतिनिधिले भन्यो–‘मेरो आकांक्षा छ कि पृथ्वी त रहोस्, तर पृथ्वीमा रुसको कुनै अवशेष नरहोस् ।’ ‘ईश्वर’ले धेरैलाई वरदान दिए होलान् । हजारौँ कथाहरु छन् ‘ईश्वरले वरदान दिएका’ सम्बन्धमा । तर यस्तो वरदान कसैले कहिल्यै मागेका थिएनन् । ‘ईश्वर’ले एकदमै उदास र दुःखी भएर रुसका प्रतिनिधितिर हेरे । रुसको प्रतिनिधिले भन्यो–‘एक त मलाई कुनै विश्वास छैन कि तपाईँको कुनै सत्ता छ । ‘ईश्वर’ छ भनेर हामी मान्दैनौँ र, हामीले आफ्ना मन्दिर, मस्जिद र गिर्जाघरहरुबाट तपाईँलाई बाहिर निकालिदिएको पनि पच्चीसौँ वर्ष भयो । तर, यदि एउटा सानो कुरा पूरा भयो भने त्यो यसको प्रमाण हुनेछ कि ‘ईश्वर’ छ । यदि त्यसो भयो भने हामी तपाईँको प्रतिष्ठालाई फिर्ता दिनेछौँ र, तपाईँका मूर्तिहरुका अगाडि धूप–दियो बाल्नेछौँ ।’ ‘ईश्वर’ले सोधे– ‘कुन कुरा ?’ रुसका प्रतिनिधिले भने– ‘पृथ्वीको नक्शामा अमेरिकाको कुनै रंग र रेखा नरहोस् ।’ ‘ईश्वर’ले निकै दिक्क र हतास भएर ब्रिटेनको प्रतिनिधितिर हेरे । ब्रिटेनले भनेको कुरा घतलाग्दो छ । ब्रिटेनले भन्यो– ‘मेरा प्रभु १ मेरो आफ्नै कुनै आकांक्षा छैन । यी दुईजनाका आकांक्षाहरु एकसाथ पूरा होस्, त्यति भए मेरो आकांक्षा पूरा हुनेछ ।’ यो कथा हामीलाई हँसाउने कथाजस्तो लाग्न सक्छ । तर यो हँसाउने कथा होइन, रुवाउने कथा हो । यो भन्दा ठूलो रुवाउने कथा अर्को हुन सक्दैन । यो कथा झूटो हो भनेर माथि भनियो, तर यो कथा झूटो होइन । यो कथा एकदमै साँचो हो । कथाअनुसार ‘ईश्वर’ले अमेरिकाको ईच्छा त धेरै हदसम्म पुर्याइदिए तर, ब्रिटेन र रुसप्रति भने क्रमशः अर्ध र पूर्ण पूर्वाग्रही देखिए । स्मरण रहोस्, नेपालमा जन्मेका बुद्ध अनिश्वरवादी थिए ।
अहिले संसारमा ‘ठूला’ साम्राज्यहरुको जगजगी छ र त्यो भयानक परिणामहरुतिर उन्मुख छ । ट्रूमेन जब अमेरिकाका राष्ट्रपति थिए, उनकै निर्देशनमा हिरोशिमा र नागासाकीमा पहिलो अणु बम खसालियो । त्यहाँ लाखौँ मानिसहरु सुतिरहेकै बेला समाप्त भए । पछिल्लो दिन बिहान जब ट्रूमेन उठे, पत्रकारहरुले उनलाई सोधे–‘राति तपाईँलाई निद्रा लाग्यो ?’ ट्रूमेनले उत्तर दिए– ‘धेरै वर्षपछि पहिलोपल्ट सुतेँ । बहस सिद्धियो । हामीले जित्यौँ ।’ यस्तो व्यक्तिलाई ‘मनुष्य’ भन्न निकै गाह्रो हुन्छ । उसलाई ‘ढुंगा’ भन्नुपर्दछ ।
एउटा गणना पाठकहरुका अगाडि राख्न चाहन्छु । यदि एकसय डिग्रीसम्म पानी तताइयो र त्यो उम्लिरहेको पानीमा तपाईँलाई हालिदिइयो भने के हुन्छ ? तपाईँलाई बाँचिरहन कठिन हुनेछ । यदि १५ सय डिग्रीसम्म फलामलाई तताइयो भने पग्लेर पानी बन्छ । त्यो पग्लेको फलाममा यदि तपाईँलाई हालिदिने हो भने के हुन्छ ? तपाईँलाई बाँचिरहन असम्भव हुन्छ । यदि २५ सय डिग्रीसम्म फलामलाई तताइयो भने फलाम बाफ बनेर उड्न थाल्छ । त्यो २५ सय डिग्रीको गर्मीमा कुनै पनि प्राणी बाँच्ने कुनै सम्भावना बाँकी रहने छैन । तर, एउटा हाइड्रोजन बमको विष्फोटबाट जुन गर्मी उत्पन्न हुन्छ, त्यो १० करोड डिग्रीको हुन्छ । १० करोड डिग्रीको गर्मीमा कुनै प्रकारका प्राणी बाँच्ने सम्भावना हुँदैन । यस्ता हाइड्रोजन बम आज पृथ्वीमा ५० हजारको संख्यामा निर्मित् छन् र तिनलाई पश्चिममा ‘ओभर किल कपासिटी’ भन्ने गरिन्छ । जुन शताब्दीले ‘लोकतन्त्र’का नाममा पृथ्वीलाई विनाश गर्ने यत्रो शक्ति पैदा गरिसकेको छ, त्यो शताब्दीका सम्बन्धमा नेपालले सतर्कता र सचेततापूर्वक विचार, व्यवहार र तयारी गर्नुपर्छ कि पर्दैन ? आफ्नो सुरक्षार्थ नेपालले नेपाली वैज्ञानिकहरुको सेना बनाउनुपर्छ कि पर्दैन ?
No comments:
Post a Comment