Saturday, May 19, 2012

धर्मनिरपेक्षता, गुण्डाराज र बुद्ध




-गोपाल विरही

राज्यसंरक्षित कुख्यात अपराधीहरुको धम्की, प्रत्यक्ष र सक्रिय सहभागिता,  आपराधिक क्रियाशीलता र आतंकका आधारमा नेपाल लगायतका दक्षिण एसियाली देशहरुमा टिकिरहेको भारतीय संस्था ‘रिसर्च एण्ड एनालाइसिस विङ्स’ (रअ) मात्रै होइन, भारतीय जनता पार्टी (बीजेपी) निकट ‘शिव सेना’ पनि हो, जसले नेपालमा जनाधारहीन ‘ज्ञानेन्द्रको पुनस्र्थापना’ लाई सार्वजनिक रुपमै अद्यापि जोड दिँदै आएको छ । यी दुवैको संलग्नता नेपालको राष्ट्रिय सम्पदा पशुपतिमा भारतीय पूजारी नियुक्त गर्ने, पशुपतिको ढुकुटीलाई पारदर्शी नगर्ने, ‘बुद्ध भारतमा जन्मेका हुन्’ भन्ने हल्ला फैलाउनेदेखि लिएर भारतमा नक्कली लुम्बिनी बनाउने, नेपाललाई आत्मनिर्णयको अधिकारविहीन तुल्याइराख्न झलनाथ–प्रचण्डबीचको सात बुँदे सहमतिको विरोध गर्ने–गराउने आदि नेपालविरोधी क्रियाकलापमा स्पष्ट देखिन्छ भने अर्कातिर राजेन्द्र महतोहरु यी मुद्दाहरु उठाइनुलाई निर्लज्जतापूर्वक ‘भारतविरोधी राष्ट्रवाद’ को संज्ञा दिँदै भारतका ‘डन’हरुलाई समेत माथ गर्नेगरी ‘यसको परिणाम नराम्रो हुने’ र ‘नाकाबन्दी हुन सक्ने’ खुलेआम धम्की दिँदै हिँडिरहेका छन् । सायद उनले रामगोपाल वर्मानिर्देशित हिन्दी फिल्म ‘रक्तचरित्र’ हेरेका छैनन् । छिमेकी साना देशहरुमा आफ्नो हैकम–प्रभुŒव–विस्तारलाई राष्ट्रवादको आवरण दिई आफ्नै देशमा ठूल्ठूला अपराधमा संलग्न रहने गरेको ‘गुण्डाराज’ को प्रयोग–सहयोगद्वारा प्रवद्र्धन गर्ने भारतीय नीति–व्यवहार र एमाओवादीप्रति द्वेषपूर्ण भावना भएकैले ‘भारत संसदीय परम्परा भएको मुलुक हो’ भन्ने नाममा भारतको यस्तो व्यवहारप्रतिको एमालेको नेपाल–ओली गुट, नेपाली कांग्रेस लगायतका दलहरुको मौन स्वीकृतिलाई कुनै पनि देशभक्त नेपालीले सधैँभरि टुलुटुलु हेरेर बसिरहन सक्ने छैन । भारतमै व्यापक आलोचित पछिल्लो त्यही संस्थाको नाम र कामसँग मिल्दोजुल्दो कट्टरपन्थी हिन्दू साम्प्रदायिक संस्थालाई नेपालमा पनि स्थापित गर्ने प्रयासहरु भइरहेका छन् र त्यसले नेपालमा धर्मनिरपेक्षताविरोधी गतिविधिहरु (नाराजुलुस, र्याली, वाल–पेन्टिङ आदि) गर्न थालेको–गरिरहेको पाइएको छ । धर्मनिरपेक्षताका विरोधीहरु गणतन्त्रविरोधी हुन् भन्ने सबैलाई थाहा छ र भारतमा ज्ञानेन्द्रको पटक–पटक ‘धार्मिक भ्रमण’लाई ‘अनपेक्षित’ भन्न नपाइने हो भने पनि ‘व्यक्तिगत’मात्रै चाहिँ मानिहाल्नुपर्दैन ।
नेपाली मुसलमान साथीहरुप्रति कुनै द्वेषभाव लिएर म यी कुराहरु गरिरहेको छैन तर पृथ्वीनारायण शाहहरुको इतिहास खोतल्दै जाँदा के देखिन्छ भने यिनीहरु वास्तवमा मुसलमान हुन् । ‘शाह’ शब्द त त्यतिबेला ती मुसलमानमध्ये एकलाई दिइएको पदवी (खिताब) थियो, तर पछि यिनीहरुले यसलाई थरका रुपमा सन्तान–दरसन्तान प्रयोग–दुरुपयोग गरे । नेपाललाई ‘हिन्दू राज्य’ भनेर सन् १९६२ तिर महेन्द्र ‘शाह’ले घोषणा गरेका थिए । ‘शाह’ उर्दूको मानपदवी–विशेषलाई बुझाउने शब्द हो । मुसलमानलाई ‘हिन्दू राजा’ बनाउने संस्था–व्यक्तिलाई मूर्ख भन्दा अन्यथा नहोला । ‘शाह’ शब्दको अर्को अर्थ हुन्छ, तानाशाह । उर्दूमै ‘शाही’ शब्दले ‘सरकारी’ ‘कूलिन’ र ‘तानाशाही’ अर्थहरु प्रकट गर्दछ । उदाहरणार्थ, ‘शाही खजाना’, ‘शाही फरमान’, ‘शाही अदा’ इत्यादि ।
बुद्धवाद काठमाडौँकेन्द्रित कुनै एक जातका व्यापारी वर्गका संभाव्य अपवादबाहेक लोभी, क्रूर, संकीर्ण, पक्षपाती, लज्जाहीन, भयरहित, कपटी, द्वेषी, अहंकारी, श्रद्धा–संवेग–संवेदनाशून्य, पैसामुखी र शोषक मुठ्ठीभर सम्भ्रान्तहरुको नक्कली, देखावटी, कर्मकाण्डी, ढोंगी र स्वार्थप्रेरित नाटक र पेवा होइन । मधेशका धर्तीपुत्र आदिवासी थारुहरु र तिनका पूर्खाहरु बौद्धमार्गी हुन् । कतिपयले शाक्यहरु पनि थारु नै थिए–हुन् भन्ने निष्कर्षसहितको अनुसन्धान पनि गरेका छन् । तामाङहरु सबैजसो बौद्धमार्गी छन् । हिमाली भेगका शेर्पा र अरु जातिहरु बौद्धमार्गी हुन् । गौतम बुद्धको जीवनकालमा अरहन्त (क्लेशमुक्त) हुने भिक्षुहरुमा सबभन्दा बढी संख्या ब्राह्मणहरुको थियो । आदि–‘सनातन’ वेद–वेदज्ञताबाट अतृप्त बुद्धका अग्र–महाश्रावकहरु भिक्षुद्वय सारिपुत्र र महामौद्गल्यायन ब्राह्मण थिए र बौद्धदर्शनको विकास–विस्तारमा सारिपुत्रको योगदानका कारण उनलाई प्रतीकात्मक अर्थमा ‘बौद्ध दर्शनका सेनापति’ भनिन्थ्यो । तर अहिले अर्थ न बर्थको साम्प्रदायिक कर्मकाण्डमा ‘रमाइरहेका’, ‘हिन्दू राज्य घोषणा’को ‘माग’ गरिरहेका ब्राह्मण (यद्यपि अन्य पनि) हरुले ‘ब्राह्मण हुँ’ भन्दा पनि लज्जित हुनुपर्ने अवस्था सिर्जना गर्दैछन् । ‘ब्राह्मण’ शब्द ‘ब्रह्म’ बाट व्युत्पन्न हुन्छ र चार ब्रह्मविहार (मैत्री, करुणा, मुदिता र उपेक्षा) युक्त चित्त नभएकालाई ब्राह्मण भन्न मिल्दैन । राग, द्वेष, मोह र अभिमानसहितको कर्मकाण्डी जीविकाको लोभ पालेको चित्त भएको व्यक्ति ब्राह्मण कहलिँदैन । ‘जनगणना’को मिथ्यांकका आधारमा कोही ‘ब्राह्मण’ हुँदैन । ‘ब्राह्मण’ शब्दलाई कुनै ‘विशेष’ कुल वा परिवारमा जन्मिँदैमा जन्मजात प्राप्त हुने अभिमानका अर्थमा व्यवहार गरिनु सर्वथा अनुचित छ । त्यस्तै, ब्राह्मणको अर्को अर्थ हो, जसले ब्रह्मचर्यब्रत पालन गर्दछ । समग्रमा जोकोही मुक्तपुरुष–स्त्री नै ब्राह्मण–ब्राह्मणी हो यथा निर्वाण ब्राह्मणत्व हो । गृहस्थमा बसेर कुनै ‘ब्राह्मण कुल’ मा जन्मेको व्यक्तिले निर्वाणगामी–गृहत्यागी शूद्रभन्दा आफूलाई उच्च ठान्नुजस्तो ठूलो हिंसा अरु हुन सक्तैन र अहिले भइरहेको त्यही छ । गृहत्यागीले जातको अभिमान वा हीनतालाई चाहिँ त्याग गर्न नसक्ने हो भने त्यस्तो सन्न्यस्त–भावको अभावसहितको जुनसुकै ‘गृहत्यागी’ले मोक्ष प्राप्त गर्नु असम्भव छ । त्यसैले बुद्धले ब्राह्मण, क्षत्रीय, वैश्य, शूद्रबाहेक अलग्गै एउटा क्रान्तिकारी मान्यता खडा गरिदिए, श्रमण–प्रव्रजित । नेपाल बुद्धको जन्मथलो हो । केवल क्षत्रीय (आजभोलि वैश्य–नेवारमा झरेका कपिलवस्तुबाट प्रायः काठमाडौँकेन्द्रित शाक्य) कुलमा जन्मेर बुद्ध भएकाको मात्रै होइन, ब्राह्मण कुलमा जन्मेर बुद्ध भएकाको जन्मथलो पनि नेपाल हो । नेपाल केवल एकमात्र बुद्धको जन्मथलो होइन, ३ जना बुद्धहरुको जन्मस्थान हो । शाक्यमुनि बुद्धभन्दा पहिले बुद्ध भएकामध्ये ब्राह्मण कुलमा उत्पन्न भएर बुद्ध भएका एक पनि थिए । त्यसैले ब्राह्मणहरु बौद्धमार्गी होइनन् भन्ने भ्रम सिर्जना गर्न खोजिनु प्राचीन इतिहासका विरुद्धको आपत्तिजनक, कटु आलोचनायोग्य र खेदजनक अभिव्यक्ति हो । अहिलेको युवा विज्ञानमा विश्वास गर्दछ, बोक्सीप्रथा, बलिप्रथा र अन्य यस्तै मिथ्यादृष्टिहरुमा होइन । कुन सम्प्रदाय राज्यप्रदत्त संरक्षणका आडमा विगत–वर्तमानमा कति संख्यामा फैलिएको थियो–छ भन्ने आधारमा होइन, त्यो कत्तिको मानवकल्याणकारी, वैज्ञानिक र वस्तुसम्मत छ भन्ने आधारमा त्यसको गरिमाको मूल्यांकन गरिनुपर्दछ र यसरीमात्रै कुनै पनि समाजले अशिक्षा, दमन र पछौटेपनको जालोबाट मुक्त हुन सफलता प्राप्त गर्न सक्छ ।
वास्तवमा कर्मकाण्डद्वारा मिथ्या–जीविका गर्ने बानी परेकाहरु (जो ब्राह्मणमात्रै थिएनन्) ले बौद्धमार्गलाई भ्रष्टीकृत गरेरै अनेक प्रकारका देवीदेवताहरु आविष्कार गरे । तारा र पारमिताहरुलाई हिन्दू देवी बनाइयो । बोधिसत्व (भविष्यमा बुद्ध हुने पुरुष) हरुका मूर्तिहरुलाई चुरी लगाई देवी बनाइयो । बुद्धगयामा रहेका बोधिसत्वका कलात्मक मूर्तिहरुलाई पञ्च–पाण्डव भनी प्रचार गरियो । स्वयं बुद्धको मूर्तिलाई कतै भीमसेन, कतै जरासंध, कतै ढेलुवा बाबा, कतै तेलिया भैरव भनी ‘पूजा’ गर्न थाले । हुँदा–हुँदा कहीँ–कहीँ त बुद्धलाई ‘देवी मैयाँ’ भनी टीका लगाई पूजासमेत गर्न थाले । बौद्धदर्शनका प्रणेता बुद्धलाई ‘विष्णुको अवतार’ भनी गौण बनाइदिए । ‘अवतार’ माने पनि बुद्धको सिद्धान्त र शिक्षालाई कर्मकाण्डीहरुले कहिल्यै प्रचार गरेनन् । बुद्ध, बौद्धदर्शन, त्यसका आचार्य र कृतिहरुको उल्लेखसम्म पनि उनीहरुले गरेनन् । यस्तो आभास पारियो मानौँ बुद्ध र बौद्धदर्शनको गौरवशाली परम्परा इतिहासमा पहिले कहिल्यै थिएन । एउटा दर्शनलाई अर्को साम्प्रदायिकले बिना हतियार, बिना तर्क यसरी आफूमा विलीन गराएको यो अनौठो उदाहरण हो । मुस्लिमहरुले सुरु गरेको भारतमा बौद्धदर्शनको अभ्यासको विनाश–कार्य कर्मकाण्डी हिन्दूहरुको अप्रत्यक्ष सहयोगका कारण सफल भयो । यो कुरा रोचक छ कि बौद्धजगत्का प्रख्यात आचार्यहरु प्रायः ब्राह्मण छन् ।
एघारौँ शताब्दीतिरै बुद्धलाई विष्णुको नवौँ अवतार भन्न थालिएको थियो । पुराणकालदेखि नै बुद्धलाई आफ्नै सम्प्रदायको एक अंग भनी प्रकाशित गर्ने प्रयासमा लागेका कर्मकाण्डीहरुका लागि यो एक ठूलो सफलता थियो । रामायण, गीता, महाभारतमा बुद्धको उल्लेख पाइँदैन । विष्णुका दश अवतारहरुको धारणा पुराणद्वारा नै प्रतिपादन गरिएको थियो तर पनि कतिपय पुराणहरुले बुद्धलाई अवतार मानेका थिएनन् । वायु पुराणमा वराह, नरसिंह, वामन, दत्तात्रेय, मान्धता, परशुराम, राम, वेदव्यास, वासुदेव र कल्किलाई दश अवतार भनिएको छ । ब्रह्माण्ड पुराणमा दश अवतारको भिन्नै नाम छ । हरिवंशले आफ्नो ग्रन्थमा वराह, नरसिंह, वामन, दत्तात्रेय, परशुराम, राम, कृष्ण र वेदव्यासलाई अवतार मानेका छन् । यहाँ यो पनि उल्लेख्य छ कि त्यतिबेलाका र त्यसअघिका पुराना कतिपय हिन्दू साम्प्रदायिक ग्रन्थमा बुद्धलाई विरोधीका रुपमा चित्रण गरिएको छ भने कतै अवतारका रुपमा । भागवत पुराणमा कतै २२, कतै २३ र कतै १६ अवतारको चर्चा छ र तिनमा बुद्धलाई पनि सम्मिलित गरिएको छ । सन् १७६६ तिर क्षेमेन्द्रले ‘दशावतार चरित’को रचना गरेपछि दश अवतारको धारणा सुदृढ भयो जसलाई जयदेवको ‘गीत गोविन्द’ले अझ लोकप्रिय बनाइदियो । वर्तमान दश अवतार अर्थात् मत्स्य, कूर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कीको कल्पना कर्मकाण्डी साम्प्रदायिकहरु र बौद्धदर्शनबीचको प्रतिस्पर्धाको परिणामस्वरुप धेरै पछिमात्रै विकसित भएको हो ।
बौद्धजगत्का अनेक शाखामध्येको एक तन्त्रयानको विकासका क्रममा जालन्धरपा भन्ने प्रसिद्ध तान्त्रिकको उदय भयो र उनका शिष्य नै मच्छिन्द्रनाथ हुन् । मच्छिन्द्रनाथ आसाम (कामरुप) का थिए र काठमाडौँ उपत्यकामा लिच्छवी राजा गुणकामदेवको पालामा अनावृष्टि हुँदा यिनलाई काठमाडौँका बज्रयानी आचार्य शान्तिकराचार्यका शिष्य बन्धुदत्त आचार्यले आसामबाट नेपाल लगेका थिए । मच्छिन्द्रनाथ अनार्य–राक्षस जातिका थिए र यिनकै कारण नेपालको अनिकाल हटेको थियो भनिन्छ । मच्छिन्द्रनाथको यात्रा काठमाडौँमा अद्यापि लोकप्रिय छ । मच्छिन्द्रनाथलाई काठमाडौँ ल्याएको समयतिर नै यहाँ रक्तकाली, भद्रकाली आदि बौद्ध तान्त्रिक देवीहरुको स्थापना भयो तर कर्मकाण्डीहरुले यिनलाई पनि हिन्दूकरण गरे । मच्छिन्द्रनाथका शिष्य प्रसिद्ध सन्त गोरखनाथ हुन् । गोरखनाथ नेपालमा मात्र होइन, बंगालमा पनि प्रसिद्ध थिए । वस्तुतः गोरखनाथलाई बौद्ध मान्न सकिन्छ ।
आधुनिक भारतका संविधान निर्माता एवं भारतीय दलित वर्गका लोकप्रिय नेता डा. भीमराव अम्बेडकरले सन् १९५६ मा आफ्ना लाखौँ अनुयायीहरुका साथ बौद्धदर्शनलाई अंगिकार गरे । डा. अम्बेडकरको प्रयासले गर्दा नै भारतको झण्डामा बुद्धको धर्मचक्र अंकित भयो । नेपाललाई कुनै सम्प्रदाय विशेषको मात्र राज्य बनाउन चाहनेहरुले बिर्सनु हुँदैन, आफ्नो झण्डामा बुद्धको धर्मचक्र अंकित भएर पनि साम्प्रदायिक सद्भाव राख्नेहेतु भारत धर्मनिरपेक्ष राष्ट्र भयो । स्कुल, क्याम्पस, अस्पताल आदि निर्माण र सञ्चालनार्थ यज्ञ–महायज्ञ गर्ने–गराउनेहरु प्रशंसा र पुरस्कारका पात्र हुन् तर साम्प्रदायिक शान्तिमाथि खलल पुर्याउने क्रियाकलापमा संलग्न असामाजिक, असहिष्णु र अराजक देशीविदेशी तŒवहरुलाई लज्जाबोध होस् र संवेदनशील साम्प्रदायिक सहिष्णुतामाथि आँच पुर्याउने यस्ता मध्ययुगीन, प्रगतिविरोधी, गणतन्त्रविरोधी, यथास्थितिवादी र प्रतिगामी कार्यलाई सरकारले अविलम्ब रोकोस् ।


 


No comments: