Saturday, May 19, 2012

नयाँ युगको सन्देश




-गोपाल विरही
भारतीयहरु (भारतीयहरु भनेको औपचारिक भारतीय पदाधिकारी होइनन्, बाहिर बसेर त्यहाँको नीतिनिर्माणमा सहयोग पुर्याउने थिंक ट्यांकहरु) ले अहिले जुन किसिमले बोलिरहेका छन्, जे लेखिरहेका छन्, त्यसबाट के प्रष्ट बुझिन्छ भने भारत अहिले नेपालको राजनीतिमा अप्ठ्यारो अवस्थामा छ र उसले चाहेको अनुसार यहाँको राजनीति अगाडि बढिरहेको छैन । ‘अप्ठ्यारो अवस्थामा पर्दा म कसरी जोगिने त ? इज्जत कसरी जोगाउने ?’ भन्ने खतरामा भारत यतिखेर छ । संसद्वादी दलहरुमध्ये पनि मधेशवादी दलहरु भारत गएर ‘हामीलाई भारतले रिकग्नाइज गर्यो’ भनेको अनौठो होइन किनभने भारतलाई ‘उसैले सबैथोक गरिदेओस्, उसैको इच्छाअनुसार हामी चल्छौँ’ भनेर उनीहरु खुला रुपमा भनिरहेका छन् । त्यसैले यस अर्थमा उनीहरु इमानदार हुन् । ‘भारतले जे भन्छ, त्यो हामी गर्छौँ’ भनेर इमानदार रुपमा भनिरहेका छन् । अरु शक्तिहरु छन्, जो भारतको निर्देशनमा हिँड्छन् तर भन्ने बेलामा चाहिँ ‘म इण्डिपेन्डेन्ट्ली काम गरिरहेको छु’ भन्छन् । कसैले ‘नेता’का भेषमा, कसैले ‘पत्रकार’का भेषमा, कसैले ‘विश्लेषक’का भेषमा, कसैले ‘सञ्चारमालिक’का भेषमा इण्डियन इन्टेलिजेन्स एजेन्सीको जालोसँग मिलेर विभिन्न भूमिकामा काम गरिरहेका र तीमध्ये धेरै त्यस जालोमा उम्किनै नसक्ने गरी फँसिसकेको देखिन्छ । तर भारतले नेपालका केही शक्तिहरुलाई प्रयोग गर्ने र नयाँ तरिकाले जाने योजना बनाएकै हो । ‘नेपालमा अब अस्ति ४–५ वर्ष अगाडि लिएको नीतिले सफल हुन सकिन्न’ भनेर भारतले स्वीकार गरिसकेको संकेत उसले दिएको छ ।
नेपाललाई सके अलि लामो अवधिपछि सिक्किमको परिणतिमा पुर्याउने, नसके कमसेकम भूटानको अवस्थासम्म पुर्याउने भारतको रणनीति हो ।  भारतको त्यो रणनीतिले संविधानसभाको चुनावपछि हावा खायो । ‘यो हिमालय दक्षिण जम्मै मेरो हो, मैले जे चाहन्छु त्यो हुन्छ’ भनेर भारतले सोचेको–ठानेको थियो र पहिले धेरै हदसम्म उसले गरेको पनि थियो तर उसले ‘मैले जति प्रभुत्व पहिले राख्न सक्छु–सक्थेँ, अब–भोलि मलाई चुनौती दिने अरु पनि विश्वशक्तिहरु यहाँ उपस्थित हुन सक्छन्’ भन्ने क्यालकुलेसन गर्न सकेन । तर भारतलाई के थाहा छ भने आफूबाहेकको अर्को शक्ति नेपालमा अझै पनि प्रत्यक्ष रुपमा देखिइसकेको छैन र भारतीयहरुले जस्तो विभत्स रुपमा उनीहरु काम गरिरहेका पनि छैनन् । मनपरि तालले एकदम नांगो ढंगले उनीहरुको हस्तक्षेप भइरहेको छैन तर काम भइरहेको छ । यस्तो किसिमले काम भइरहेको छ कि भारतलाई प्रत्येक ठाउँमा दाँतमा ढुंगा लागिरहेको छ । भारत चाहन्छ, नेपालमा यस्तो अराजकता सिर्जना होस् कि नेपाल अझ कमजोर होस् । यस्तो कमजोर होस् कि भोलि ‘मेरो सरणमा आओस् ।’ यहाँनेर फेरि गल्ती गर्दैछ भारतले ।
गएको ५ वर्षदेखि शान्तिप्रक्रिया भन्या छ, नयाँ संविधान निर्माण भन्या छ, केही पनि भएको छैन । बरु आपसमा लडाइँ भएको छ । ५ वर्ष अगाडि जसले ‘हामी सँगै मिलेर जान्छौँ र नयाँ नेपाल बनाउँछौँ’ भनेर सहमति गरेका थिए, उनीहरु नै आपसमा लडाइँ गरिरहेका छन् अहिले । एउटाले अर्काको आलोचना गर्ने, अर्काले एउटाले जे भन्छ त्यसको उल्टो गर्ने भइरहेका छन् । अस्तिदेखि चलिआएको त्यतिखेरको चलनचल्तीको शब्द प्रयोग गर्दा ‘सात दल र माओवादी’ भनिन्थ्यो । हिजो ‘संसद्वादी र माओवादी’ भनियो । अहिले आएर ‘बामपन्थी र प्रजातन्त्रवादी’ भन्न थालिएको छ । मूल रुपमा तिनै शक्तिहरु जो मिलेर हिँडेका थिए, उनीहरु नै अहिले आपसमा लडिरहेका छन् । मधेशवादी दलका नेताहरुको भारत भ्रमणको उद्देश्य र उनीहरुले स्वदेश फर्किसकेपछि व्यक्त गरेका सार्वजनिक विचारले नेपालको राजनीतिमा आन्तरिक र बाह्य गरी २ अर्थ राख्दछ । अस्ति प्रधानमन्त्री चुनाव हुने क्रममा पनि भारतीयहरुले नै ‘यो कांग्रेसको हार होइन, यो त भारतको हार हो’ भनेर लेखे । यो स्थितिमा नेपालका केही राजनीतिक शक्तिहरु छट्पटाएका छन् र ‘पहिले भारतले मिलाएर लगिदिएको थियो, अब फेरि मिलाएर लगिदेऊ’ भन्ने हिसाबले अहिले घटनाक्रमहरु विकसित गर्न खोज्दैछन् ।
अहिले नेपालमा भारतको नीति असफल भएको छ । अब भारतले चाहेको ठाउँमा नेपाललाई पुर्याउन सक्ने अवस्था रहेन । त्यसैले भारतले ‘फेस सेभिङ्’ अर्थात् ‘मैले सुरु गरेको योजनाअनुसार काम अगाडि बढिरहेको छैन । अब इज्जत कसरी जोगाउने ?’ भनेर एउटा नयाँ रणनीति लिएर आउन खोज्दैछ । त्यो रणनीति हो, नेपालका केही शक्तिहरुलाई उचाल्ने, जसलाई अहिले ‘प्रजातान्त्रिक गठबन्धन’ भन्न थालिएको छ । ‘बामपन्थी गठबन्धन बन्यो’ भन्ने खालका कुरा ल्याएर केही शक्तिलाई एक ठाउँमा ल्याउने र फेरि तिनै शक्तिहरुलाई आपसमा भिडाउने रणनीति । मिडियामा भारतले यो संविधानसभा भंग गरेर वा यसको स्वाभाविक–अस्वाभाविक मृत्यु गराएर नयाँ चुनावमा जानुपर्छ भन्ने ‘सुझाव’ दियो भन्ने सुनियो । यो सबै ‘आफू फँसिसकेँ, गल्ती गरिसकेँ, त्यो गल्तीलाई कसरी सुधार्ने ?’ भनेर भारत छट्पटाइरहेको प्रमाण हो । नेपालका केही राजनीतिक दलहरु फेरि–अझै पनि भारतको निर्देशनमा हिँडेर हाम्रो कल्याण हुन्छ भन्ने सोचिरहेका छन् । यिनीहरुको आफ्नो हैसियत, आफ्नो बुता वा बलले केही गरिरहेका–भनिरहेका होइनन् । भारतले यस्ता अरु पनि विभिन्न छिद्रहरु खोजिरहेको छ ।
पछिल्लो पटक प्रधानमन्त्री निर्वाचनका बेला भारतीय मिडियाहरुले ‘भारत सरकारको नीतिले फेल खायो’ भनेका थिए । त्यतिखेर प्रचण्डलाई प्रधानमन्त्री हुन नदिने एकसूत्रीय रणनीति उनीहरुको थियो भन्ने कुरा सार्वजनिक रुपमा आएकै हो, भलै त्यो आधिकारिक रुपमा आउन सक्तैनथ्यो । प्रचण्डलाई प्रधानमन्त्री हुन दिएन भारतले, त्यो अर्थमा सफल हो ऊ । तर उनीहरुले ‘हामी असफल हौँ’ भनेर किन लेखे भने आफूले समर्थन गरेर आफ्नो इच्छामा चल्नुपर्ने मान्छेलाई प्रधानमन्त्री बनाउन सकेनन् । अखवारहरुका अनुसार भारतीय राजदूतले हाम्रा प्रधानमन्त्रीलाई भेट्न जाँदा ‘औपचारिक प्रक्रियाबाट भेट्न आउनूस्, अनिमात्रै कुरा गरौँला’ भन्दिए । यो आफैमा एउटा चुनौती हो भारतलाई । भारतीय राजदूतजस्तो ‘सम्राट्’ले नेपालका प्रधानमन्त्रीकहाँबाट एकप्रकारले लज्जित भएर फर्किए भन्ने जुन समाचार आएको छ, भलै एकघण्टा प्रधानमन्त्रीले सूदसँग कुरा गरे, त्यसबाट बाहिर के सन्देश दिइएको छ भने ‘तिमी अबदेखि होस गर, मेरो वा नेपालका प्रधानमन्त्रीको बेडरुमसम्म रातिबिहान जतिसुकै बेला जानसक्ने हैसियत अब तिमी राख्दैनौ । हामीसँग अड्डी लिन सक्ने हैसियत छ । हाम्रा पछाडि पनि तिमीभन्दा ठूला अर्का कोही छन् ।’  
अहिले चीन एकापट्टि छ, अमेरिका कुनै एउटा ठाउँमा छ, त्यसपछि भारत छ । भारत राज्यका रुपमा जन्माइएदेखि आजसम्म उसको जुन हालीमुहाली नेपालमा थियो, त्यो लगभग समाप्त भइसकेको छ । त्यो दादागिरी अब चल्दैन भन्ने कुरा भारतले स्वीकार गर्न ढिलो गर्दैछ । विश्वशक्ति–समीकरणमा आएको परिवर्तनका कारणले चीन फरक प्रकारले प्रस्तुत हुन बाध्य भएको छ । तिब्बत र अरु कारणहरुले ऊ रक्षात्मक अवस्थामा छ । हालैको चिनियाँ उच्चस्तरीय सैनिक टोली नेपालमा आएको घटनाको कूटनीतिक र राजनीतिक महŒव छ तर चीनले नेपाललाई लेथल (घातक हतियार) दिएन । नेपालको सेनालाई अहिलेको बेलामा घातक हतियारको त्यति महŒव छैन पनि । घातक हतियार नदिएको अवस्थामा कूटनीतिक रुपमा भारत वा अरु कसैले पनि विरोध जनाउने वा औपचारिक रुपमा केही गर्न सक्ने स्थिति रहँदैन । जे भए होस् भनेर मौन स्वीकृति दिएर बस्दा नेपालमा जुन किसिमले राजनीतिक घटनाक्रम विकास भयो,त्यसले ‘मलाई पो खतरा हुने रहेछ’ भन्ने चीनले अहिले बुझेको छ । ‘अब मैले आफ्नो रक्षात्मक रणनीति अपनाइनँ भने भोलि मलाई अझ ठूलो खतरा हुन सक्छ’ भन्ने पनि चीनले बुझ्यो । त्यसैले ‘नदेखिने गरी दिएको सन्देश तिमीहरुले बुझेनौ । अब म देखिने गरी सन्देश दिन्छु, हेर’ भनेर चीनले भनिरहेको अवस्था हो । यो सन्देशलाई बुझ्न अब ढिलाइ गर्यो भने भारतले त्यो सन्देश अझ कडा रुपमा पाउनेछ ।


No comments: