Saturday, May 19, 2012

नक्कली लुम्बिनी र अरु भ्रमहरु





–गोपाल विरही
पृष्ठभूमि ः बुद्ध भारतमा जन्मिएको दाबी र नेपालले नक्कलमात्रै गर्न खोजे पनि असफल भएको आरोपसहित नेपालको जस्तै ‘भग्नावशेष’ बनाउन करोडौँका प्रोजेक्ट तयार गरी रातदिन ट्याक्टर र मजदुर खटाएर गौतम बुद्धको मावली देवदह, जन्मस्थल लुम्बिनी र दरवार तिलौराकोट प्याकेजमै भारतमा बनाइँदैछ ( हेर्नुहोस्, नयाँ पत्रिका, ४ चैत २०६६) ।  भारतीय चलचित्र ‘चाँदनी चोक टु चाइना’ मा बुद्धको जन्म भारतमा भएको भनिएको छ । नेपालको सेन्सर बोर्डले उक्त वाक्य काटेर चलचित्र प्रदर्शनको अनुमति दिएको थियो तर विद्यार्थी र सञ्चारमाध्यमले विरोध गरेपछि सरकार निषेध गर्न बाध्य भयो । हालै सरकारले पशुपतिका भारतीय भट्ट हटाएर नेपाली पूजारी राखेपछि भारतीय राजदूत, सिने कलाकार गोविन्दा र समाजवादी दलका नेताले दबाबमूलक अभिव्यक्ति दिई नेपालको सार्वभौमसत्तामा हस्तक्षेप गरे पनि यहाँको अदालतले भारतीय भट्टलाई नै पुनर्नियुक्त गर्यो । यसरी भारतीय हस्तक्षेप हुँदा पशुपतिबारे कोही नबोल्नु तर एउटा सानो सिनेमाको घटनामा सारा देशले नै पीडाबोध गरी लुम्बिनीको समर्थनमा बोल्नुले राष्ट्रियताका सम्बन्धमा लुम्बिनीको ठूलो महŒव छ र देशवासीका आँखामा लुम्बिनी महान् छ भन्ने देखाउँछ ।
बुद्धबारे भ्रम ः भविष्यमा बुद्ध हुने मनुष्य वा मनुष्येतर प्राणी बोधिसत्व हो भने बुद्धत्व प्राप्त व्यक्ति बुद्ध हो । बुद्धत्व लाभ गरे पनि धर्मोपदेश नगरेका अनगिन्ति ‘प्रत्येक बुद्ध’, धर्मोपदेश गरेका अढाई दर्जन ‘सम्यक सम्बुद्ध’ र भविष्यको गर्भमा रहेका ‘मैत्रेय बुद्ध’ गरी ३ प्रकारका बुद्ध थेरवादी–हीनयानी बौद्धग्रन्थ त्रिपिटकमा फेला पर्दछन् । दीपङ्कर बुद्धबाट सुरु भएको सम्यक् सम्बुद्धको सूचीमा कालान्तरमा कोण्डञ्ञ, म¨ल, सुमन, रेवत, सोभित, अनोमदस्सी, पदुम, नारद, पदुमुत्तर, सुमेध, सुजात, पियदस्सी, अत्थदस्सी, धम्मदस्सी, सिद्धत्थ, तिस्स, फुस्स, विपस्सी, सिखि, वेस्सभू, ककुसन्ध, कोणागमन, कस्सप र गौतम बुद्ध देखापर्दछन् । यी सम्यक् सम्बुद्धमध्ये ३ जना हालको नेपालमा अवस्थित कपिलवस्तुमा जन्मिएको ग्रन्थप्रमाण छ । यी सबै बुद्धमध्ये लुम्बिनीमा जन्मेका गौतम बुद्ध किन पनि बढी लोकप्रिय भए भने उनको परिनिर्वाणपछि मात्रै त्रिपिटक लेखनका लागि संगायनाहरु हुन सके । ग्रन्थप्रमाणअनुसार गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि उपर्युक्त सम्यक् सम्बुद्धहरुका समयमा क्रमशः सुमेध तपस्वी, विजितावी चक्रवर्ती राजा, सुरुचि ब्राह्मण, अतुल नागराजा, अतिदेव ब्राह्मण, अजित ब्राह्मण, यक्ष सेनापनि, सिंह, तपस्वी, जटिल महानागरिक, उत्तर ब्राह्मण, चक्रवर्ती राजा, कस्सप ब्राह्मण, सुसीम तपस्वी, देवराज इन्द्र, म¨ल तपस्वी, सुजात क्षत्रिय, विजितावी क्षत्रिय, अतुल नागराज, अरिन्दम राजा, सुदस्सन राजा, खेम राजा, पब्बत राजा र ज्योतिपाल ब्राह्मण भई बोधिसत्वका रुपमा अनेक कुशल–कर्म गरी पछि बुद्ध हुनका लागि चाहिने पुण्य सञ्चय गरेका थिए । यसरी बुद्धका अनेक प्रकार र संख्या भए पनि अहिलेको विवाद मूलतः गौतम बुद्धको जन्मस्थलसँग जोडिएको देखिन्छ ।
बुद्ध जन्मभूमिबारे भ्रम ः कसै–कसैले लुम्बिनी गौतम बुद्धको नभएर सिद्धार्थ गौतम ( बोधिसत्व) को जन्मभूमि हो भन्छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ कास्कीमा जन्मिँदै प्रधानमन्त्री भएर नजन्मेका हुनाले कास्कीलाई र सिद्धार्थ गौतम लुम्बिनीमा जन्मिँदै गौतम बुद्ध भएर नजन्मेका हुनाले लुम्बिनीलाई उनको जन्मस्थल भन्न मिल्दैन भन्नु कति जायज र तर्कस¨त छ ? ती ठाउँमा त बालक जन्मेका थिए जसका नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभएर छविलाल र गौतम बुद्ध नभएर सिद्धार्थ गौतम थिए । कालान्तरमा उही छविलाल–पुष्पकमल प्रधानमन्त्री हुन पुगेकाले उनको जन्म कास्कीमा भएको कुरामा आपत्ति नरहेझैँ सिद्धार्थ गौतम नै समयान्तरमा गौतम बुद्ध हुन पुगेकाले उनको जन्मस्थल लुम्बिनी भएकोमा विमति राख्नु पूर्वाग्रह हुनेछ ।
थाइल्याण्डतिर के भ्रम छ भने गौतम बुद्धका पालामा नेपाल भन्ने देश नभएकाले नेपाल बुद्धजन्मभूमि होइन । विचराहरुलाई थाहा रहेनछ, बुद्धको पालामा भारत भन्ने देश पनि थिएन, त्यहाँ १६ राज्य थिए । जसरी बुद्धकालमा भारत थिएन, अहिले छ, त्यसरी नै पहिले नेपाल थिएन, अहिले छ । सूत्रपिटकको परिनिब्बान सूत्रमा बुद्ध आफैले लुम्बिनी बुद्धको जन्मस्थल हो भनेर भिक्षु आनन्दलाई भन्नुभएको छ ।
बुद्धजयन्तिबारे भ्रम ः बुद्धजयन्तिको अर्थ गौतम बुद्धको जन्मदिन हुनुपर्नेमा बुद्धको परिनिर्वाणदेखि यतामात्र कालगन्ति गरेर २५५३ औँ बुद्धजयन्ति पुर्याइएको छ । बुद्धको जन्म र परिनिर्वाणबीच ८० वर्ष फरक छ । बुद्धसम्बत् (२५५३) र बुद्धजयन्ति (२६३३) दुई फरक विषय हुन् । बुद्धजयन्तिबारे ठूल्ठूला बौद्ध संस्था र विद्वान् नै भ्रममा छन् भन्ने तथ्यलाई एक वर्षअघिको कोरियाली बुद्धजयन्ति कार्यक्रममा ‘२५५२ औँ बुद्धजयन्ति’ लेखिएको तुलमुन्तिर प्रधानमन्त्री र सभामुखजस्ता विशिष्ट व्यक्ति बसिरहेका पत्रपत्रिकामा छापिएका फोटाले पुष्टि गर्छन् । बुद्धको जन्म र ज्ञानलाभबीच ३५ र ज्ञानलाभ र परिनिर्वाणबीच ४५ वर्षको अन्तर छ ।
निष्कर्ष ः बुद्धसँग सम्बन्धित ४ महŒवपूर्ण स्थानमध्ये नेपालमा जन्मभूमिमात्र छ । बोधिलाभस्थल ( बोधगया), धर्मचक्रप्रवर्तनस्थल (सारनाथ) र परिनिर्वाणस्थल ( कुशीनगर) भारतमा नै पर्छन् । लुम्बिनीमात्रै नभएर बोधगया, सारनाथ, कुशीनगरदेखि थाइल्याण्ड, म्यान्मार, श्रीलङ्काप्रति नेपाली बौद्धहरुको आस्था रहनु स्वाभाविक भए पनि राष्ट्रियताका दृष्टिले सार्वभौमसत्तासम्पन्न बुद्धजन्मभूमिका नागरिकको पहिचान उनीहरुले खोजेका छन् । नेपालका अबौद्धहरुले बोधगया, सारनाथ र कुशीनगरप्रति आस्था नराखे पनि हरेक नागरिकको राष्ट्रियताको सम्बन्धका आधारमा लुम्बिनी आमनेपालीको सार्वजनिक राष्ट्रिय सम्पत्ति र राष्ट्रको गौरवमय सम्पदा हो । केही गरी लुम्बिनी भारतमा छ भनेर भारतले प्रमाणित गरिदिएमा नेपाल शीरबिनाको मुर्कट्टा हुनेछ । ‘चाँदनी चोक टु चाइना’ मा भारतलाई बुद्ध जन्मस्थलका रुपमा चित्रण गरिँदा सडक आन्दोलन गरी सो चलचित्र प्रदर्शनमा रोक लगाउन सफल नेपाली युवा विद्यार्थी समुदायले अहिले भारतमै बनाइँदै गरेको नक्कली लुम्बिनीविरुद्धचाहिँ निर्णायक सडक आन्दोलन गर्ने कि नगर्ने ?  


No comments: