Saturday, May 19, 2012

बहुलवाद होइन, बुद्धवाद




-गोपाल विरही
नेपाली कांग्रेसका सभापति सुशिल कोइराला भन्दैछन्,‘बहुलवाद नमान्नेहरु अराजकतावादी हुन् ।’ साँचो कुरा के हो भने बहुलवादलाई स्वीकार्नु भनेको अराजकतावादलाई पनि स्वीकार्नु हो । बहुलवादले सत्यलाई स्वीकार्दैन किनभने यसले असत्यलाई तिरस्कार गर्न सक्दैन । सत्य त्यही हो, जुन देखिन्छ । जस्तो देखिन्छ, त्यसलाई त्यसैगरी हेर्नु, बुझ्नु र अभिव्यक्त गर्नु सत्य हो । जीवनका सारा सत्यहरु ‘दुई जोड दुई चार’ जस्तै सरल छन् । असत्यचाहिँ कठिन हुन्छ । सत्य सिधा र नांगो हुन्छ । उसलाई आफ्नो मुख लुकाउने वा अनुहार फेर्ने कुनै आवश्यकता हुँदैन । तर, असत्यलाई धेरै चालबाजीहरुमा घुम्नुपर्ने हुन्छ, ता कि ऊ असत्य हो भनेर अरुलाई थाहा नहोस् । सत्यका लागि कसैद्वारा प्रायोजित मार्गको खोजी व्यर्थ छ, किनभने प्रायोजित मार्गले बन्धनसम्म मात्रै पुर्याउन सक्छ, मुक्तिसम्म होइन । सत्यको दिशामा उठेका एक–एक कदम हजारौँ शास्त्रहरुभन्दा पनि बढी मूल्यवान् हुन्छन् ।
नेपाल बुद्ध जन्मेको देश हो तर यहाँ बुद्धवादको भन्दा बहुलवादको बढी चर्चा गर्न खोजिँदैछ । संविधानको प्रस्तावनामा बहुलवादलाई राख्ने वा नराख्ने भन्ने विवाद तुरुन्तै अन्त्य गरिनुपर्छ र त्यसको साटो  बुद्धवाद राख्ने सहमति हुनुपर्छ । थाइल्याण्ड, श्रीलंका, जापान, चीन र अरु कैयौँ मुलुकहरुले बुद्धवादकै सहयोगले विकास गरेका छन् भने बुद्ध जन्मेको देश नेपालका शासकहरुले बुद्धवादलाई तिरस्कार गरेकै कारण नेपाल पछाडि परेको छ । बहुलवादले ती प्रश्नहरुतिर मान्छेको ध्यान केन्द्रित गर्न खोज्दछ, जसले मानिसलाई केही फाइदा छैन । तर बुद्धवाद यसको ठीक विपरीत दर्शन हो ।
प्रज्ञा (ज्ञान) र विद्वतामा बुद्ध अद्वितीय थिए र छन् । प्रज्ञाको महŒव उनले जस्तो बुझ्ने धेरै कम थिए । त्यसैले बुद्धलाई सर्वज्ञ पनि भनिन्छ । तर बुद्ध बुद्धि–विलासलाई रुचाउँदैनथे । अनावश्यक तर्क–वितर्क र वादविवादमा उनको रुचि थिएन । जगत्को सृष्टि कहिले भयो, कसले गर्यो आदि दार्शनिक चिन्तन उनलाई निको लाग्दैनथ्यो । उनी भन्थे, ‘जसरी एकजना वाण लागेर घाइते भएको व्यक्तिको प्रथम कर्तव्य सो वाणलाई निकाल्नु हो, न कि सो वाणको निर्माता को हो, केबाट बनेको हो भनी अनावश्यक प्रश्नको उत्तर खोतल्नु । त्यसरी नै, दुःखबाट ग्रसित मानिसको प्रथम कर्तव्य दुःखबाट मुक्त हुनु हो, न कि अनावश्यक दार्शनिक रहस्यहरुको पछि लाग्नु ।’ अनावश्यक कुरा गर्नुभन्दा मौन रहनु उचित छ भनी बुद्ध भन्दथे । तर, बहुलवादले त अनावश्यक दार्शनिक कुरालाई पनि प्राथमिकतामा राख्दछ ।
हुन त बुद्धले राजनीतिमा कहिल्यै गम्भीर रुचि लिएको देखिँदैन तर पनि राज्यव्यवस्था कसरी चलाउनुपर्छ भन्ने विषयमा उनी स्पष्ट थिए । सामुहिक निर्णयबाट राज्य चलाउनु श्रेयस्कर छ भन्ने उनको धारणा थियो । प्रशासनमा योग्य व्यक्तिलाई कदर गरिनुपर्छ भनी उनी बारम्बार भन्ने गर्दथे । घुसखोरीका उनी कट्टर विरोधी थिए । आर्थिक नीतिका बारेमा पनि बुद्ध स्पष्ट थिए । उनी भन्दथे कि बेरोजगारी रहेसम्म सामाजिक अपराधीहरु रहिरहन्छन् । व्यापारीहरुले आफ्नो नाफाको आधा भाग व्यापारमै लगानी गर्नु उपयुक्त हुने, कर प्रणाली सजिलो हुनुपर्ने आदि आर्थिक नीतिहरु उनका उपदेशहरुमा यत्रतत्र पाइन्छन् । यस अर्थमा पनि बुद्धवाद बहुलवादभन्दा श्रेष्ठ छ ।
थाइल्याण्डका राजा भूमिबोेल अद्ल्युल्यादेज राजकुमार छँदा आफैँ भिक्षु भएका थिए । तर, नेपालमा भिक्षुहरुको संख्या अत्यन्त थोरै छ ।  भिक्षु संघको स्थापनाले एक आदर्श समाजको नमुना प्रस्तुत गर्दछ । भिक्षु संघ समाजबाट भिन्न छैन, यो समाजको एक अंग हो । समाजमा गृहस्थहरु व्यस्त छन् र अध्ययन गर्न यथेष्ट समय पाउँदैनन् । अध्ययनको सो कार्य भिक्षु संघले पूरा गर्दछ किनकि भिक्षुहरुमा गृहस्थको बोझ हुँदैन । अध्ययनबाट प्राप्त शिक्षालाई भिक्षु संघले समाजलाई उपदेश दिन्छ । बदलामा समाजले भिक्षु संघलाई भोजन दिन्छ, ता कि भिक्षुहरु भोजनको पिर र चिन्ताबाट मुक्त भई अध्ययन गर्न सकून् । समाज र भिक्षु संघ यसरी एक अर्काका पूरक होऊन् भनी बुद्ध चाहन्थे । आराम र मोजमस्तिका लागि मात्रै भिक्षु हुनेहरुलाई बुद्ध बारम्बार चेतावनी दिन्थे, ‘भिक्षुहरु १ नबिर्स कि तिमीहरुले राष्ट्रको पिण्ड खाइरहेका छौ, समाजको अन्न खाइरहेका छौ । आफ्नो कर्तव्यबाट विचलित नहोऊ ।’ भिक्षु संघ कामचोर र निकम्माहरुको मात्र जमघट नहोस् भनी बुद्ध अति सतर्क रहन्थे । भिक्षु संघका कारण समाजमा खलबली आउन नदिन पनि बुद्ध सतर्क थिए । जब चोर डाँकाहरु सजायबाट बच्न भिक्षु बन्न थाले, हत्याराहरु फाँसीबाट बच्न भिक्षु बन्न थाले, भगुवा सैनिकहरु भिक्षु बन्न थाले, तब बुद्धले त्यस्ता व्यक्तिहरुको भिक्षु संघमा प्रवेशमा रोक लगाए । बुद्ध व्यवहारवादी क्रान्तिकारी थिए । समाजको महŒव र भिक्षु संघको भूमिकाबारे बुद्धको धारणा अध्ययन गर्न योग्य छ ।
भिक्षु संघमा भिक्षुहरुको व्यक्तिगत सम्पत्ति हुँदैन । प्रत्येक भिक्षुको आफ्नो चीवर र केही व्यक्तिगत सामानबाहेक अन्य सबै कुरा सामूहिक हुन्छन् । भिक्षु भएको हिसाबले जो जेठा छन्, उनलाई मानिन्छ । एक भिक्षुले भिक्षु संघमा बसी कि आफ्नो चित्तशुद्धिका लागि प्रयास गर्नुपर्छ, कि समाजलाई मार्गदर्शन गर्नुपर्दछ । यहाँनिर मननयोग्य कुरा यो छ कि आफ्नो घरबार त्यागेर भिक्षु बनेता पनि एक भिक्षुलाई आफ्ना आमाबाबुको हेरचाह गर्नबाट वञ्चित गराइएको छैन ।
जातीय समानताका लागि बुद्धले क्रान्ति गरेको सर्वविदित छ । समाजमा नारीहरुको भूमिकाबारेमा पनि बुद्धको विचारधारा उल्लेखनीय छ । पुरुषहरुको दाँजोमा महिलाहरु पनि कुनै पनि क्षेत्रमा कमजोर छैनन् भनी उनले कोशल नरेशलाई उपदेश दिएका थिए । समाजमा व्याप्त अन्धविश्वासहरुको उनले डटेर विरोध गरे । दास प्रथाका उनी विरोधी थिए । जब–जब मौका पाए, उनले दासहरुलाई मुक्त गराए ।
एक दिन बिहान फुर्सदको समय बुद्ध पोट्ठपाद परिब्राजकको आश्रममा गएका थिए । पोट्ठपाद बुद्धप्रति श्रद्धालु थिए । उनी र बुद्धका बीच गहन दर्शनको कुराकानी भएको थियो । कुराकानीका सन्दर्भमा पोट्ठपादले तात्कालीन दार्शनिक जगत्मा प्रचलित १० प्रश्नहरु बुद्धका सामु राखे । ती हुन्– लोक नित्य छ ? लोक अनित्य छ ? लोकको अन्त छ ? लोकको अन्त छैन ? जीव र शरीर उही हो ? जीव र शरीर भिन्नै हुन् ? निर्वाणपछि पनि तथागत हुन्छ ? वा हुँदैन ? वा हुन्छ पनि, हुँदैन पनि ? वा न हुन्छ, न हुँदैन ? तब बुद्धले भने कि ती प्रश्नहरुका समाधानले मानिसलाई केही फाइदा छैन, दुःख र दुःखबाट मुक्त हुने मार्गको उनी उपदेश दिन्छन्, अनावश्यक दर्शनलाई उनी प्रोत्साहित गर्दैनन् । बुद्धद्वारा अनुत्तरित यी १० प्रश्नहरुलाई ‘१० अव्याकृत’ भनिन्छन् । तर, बहुलवादले दुःख र दुःखबाट मुक्त हुने मार्गको उपदेश गर्दैन ।
मानव इतिहासको अध्ययनबाट स्पष्ट हुन्छ कि मानिस बौद्धिक गुलामीमा बाँचिरहेका छन् । उनीहरु ‘ईश्वर’द्वारा सञ्चालित र ‘देवता’हरुभन्दा हीन मानिएका छन् । धर्मगुरुहरु र नेताहरुले बौद्धिक शोषण गर्दै आएका छन् । मानिसलाई श्रेष्ठतम् जीव मान्ने, मानिसको विवेक, बुद्धिलाई उच्चतम प्राथमिकता दिने ऐतिहासिक पुरुष बुद्ध नै थिए । वस्तुतः बुद्धले बौद्धिक शोषणका विरुद्ध क्रान्ति गरेका थिए । यस अर्थमा पनि बहुलवादभन्दा बुद्धवाद कति हो कति उत्तम छ । त्यसैले बुद्धजन्मभूमिको संविधानको प्रस्तावनामा बहुलवाद होइन, बुद्धवाद लेखिनुपर्छ ।


No comments: