Saturday, May 19, 2012

लेखकीय स्वतन्त्रता





-गोपाल विरही

लेखनलाई जीविकोपार्जनको साधन बनाउनेहरु भित्री र बाहिरी दुवै प्रकारका स्वतन्त्रता एवम् प्रतिबद्धताहरुबाट वञ्चित हुन्छन् । राजनीतिक तरलताको प्रत्यक्ष प्रभाव लेखन–क्ष्ँेत्रमा पर्नु स्वाभाविक हो । प्रगतिवादी लेखकहरुलाई ‘ढोकेहुक्के’ भनेर आरोप लगाउने लेखकहरु पनि कुनै न कुनै रुपमा वर्गीय, विचारधारात्मक, राजनैतिक र सांगठनिक रुपले कतै न कतै भौतिक वा मानसिक रुपमा आबद्ध छन् भन्ने हामीलाई थाहा नभएको होइन ।
पुँजीवादी समाजमा लेखन–क्षेत्र व्यवसायवादमा फस्ने हुनाले यस्तो समाजमा लेखकहरु वास्तविक रुपमा स्वतन्त्र एवम् एकबद्ध हुन सक्दैनन् । नेपालका कतिपय लेखकहरुले लेखनलाई साधनका रुपमा बढी र साध्यको रुपमा कम बुझ्ने गरेका छन् । माओले ‘शोषणयुक्त समाजमै पनि लेखकहरु एक वर्गबाट अर्को वर्गमा भावात्मक रुपान्तरणका मान्यतानुरुप बदलिन सक्छन’् भनेका थिए । उनको यसबारेको ‘सयौँ फूलहरु फुल्न दिने’ नीति अत्यन्त चर्चित पनि भयो ।
सामन्तवादी र साम्राज्यवादी कला–चिन्तनबीचको साँठगाँठका कारण नेपालजस्तो मुलुकमा साम्राज्यवादी लेखकीय मान्यताको प्रचार–प्रसार गरिएको हो । उनीहरु नेपालमा सामन्तवादी–आभिजात्यवादी र बुर्जुवा आधुनिकतावादीहरुको पक्षपोषण गर्दै लेखकहरु कुनै प्रकारको वाद, विचारधारा र राजनीतिमा फस्न नहुने भ्रमपूर्ण असत्यलाई ओकलिरहेका छन् । नेपालमा यस्ता निराशावादी, शून्यवादी, पलायनवादी एवम् समग्रमा बुर्जुवा आधुनिकतावादी चिन्तनको बाहुल्य वि.सं.२००७ यता रहँदै आएको हो । यिनीहरुले समाजवादी–सामाजिक–यथार्थवादी दृष्टिकोणलाई ध्वस्त पार्ने असफल प्रयास गरेका छन् । यिनीहरु लेखनलाई राजनीति, समाज र नीतिभन्दा पृथक ठहर्याएर कथित् यथार्थवादी मान्यताको वकालत गर्छन् । राजनीति र साहित्य दुवैमा चिनिएका वी.पी.कोइराला लगायत इन्द्रबहादुर राई, तारानाथ शर्मा आदिले लेखकीय स्वतन्त्रताबारे जनवर्गीय धारणा राखेको पाइन्न । राजनीति र साहित्य दुवैमा दख्खल राख्ने मोदनाथ प्रश्रितले ‘वर्गीयताभित्र पनि मानवता हुने भएकाले त्यसलाई स्वीकार्नु पर्ने’ कुरा गरिसकेकाले उनी पनि संशोधनवादी कित्तामा सामेल भएका छन् । उनको ‘गोलघरको सन्देश’ ले उनी आफैलाई गिज्याइरहेको छ ।
विगत केही समययता स्थापित एवम् चर्चित लेखक–पत्रकारहरुबीचमा लेखनको विषयवस्तुबारे ठूलो विवाद चल्दै आएको छ । लेखकीय स्वतन्त्रता, ऐक्यबद्धता, सौन्दर्य–चिन्तन जस्ता विषयमा लेखकहरुको मतभिन्नता तीब्र बनेर गएको छ । विशेषतः यसबारेको संशोधनवादी मान्यता अर्थात् एक वा अर्को रुपमा वर्ग–सङ्घर्ष र लेखनलाई अलग–अलग राख्ने मान्यताको बोलवाला रहँदै आएको आभास हुन थालेको छ । यस्तो अवस्थामा पूर्वाग्रहरहित ढङ्गबाट सबै लेखकहरु एकै ठाउँमा बसी मित्रतापूर्ण वातावरणमा छलफल र बहस गर्नु आवश्यक छ । यसले गर्दा एकातिर सही लेखकीय मान्यता अगाडि आउनेछ भने अर्कातिर एकता–आलोचना–रुपान्तरणको धारणा अनुसार लेखकहरुलाई भावात्मक रुपान्तरणको दिशातिर अभिमुख हुन प्रेरणासमेत प्राप्त हुनेछ । यसरी मात्रै लेखकहरुले लेखकीय ऐक्यबद्धताका पक्षमा र सामन्तवादी, साम्राज्यवादी, संशोधनवादी कला–मान्यताका विरुद्धमा काम गर्न सक्नेछन् । लेखकहरुको मोर्चाबद्ध आन्दोलनको आवश्यकता बढेर गएको छ । कमसेकम गणतन्त्र, नयाँ संविधान र धर्मनिरपेक्षताका विषयमा लेखकहरु फुट्नु हुँदैन ।
कुनै पनि मान्छेको दिमाग क्रान्तिकारी नबनुञ्जेल उसको हातले बन्दुक बोक्न सक्दैन । मनभित्रैबाट त्याग र बलिदानका लागि तयार नभएसम्म केवल शरीरमात्र लडाइँको मैदानमा होमिनुको कुनै औचित्य हुँदैन । ठीक यही मान्यतानुरुप दिल र दिमागलाई क्रान्तिकारी बनाउने भावात्मक रुपान्तरणको कार्य गर्छ कला, साहित्य र लेखनले । विशेषतः क्रान्तिको समयमा कला र साहित्यको महŒव एवम् भूमिका यही अर्थमा छ । यसले के देखाउँछ भने लेखन–कलाको राजनीतिको भन्दा छुट्टै र विशिष्ट स्वत्व छ ।
लेखन, कला र साहित्यबाट प्रेरित र प्रभावित भएर आउनेहरुलाई राजनीतिले व्यवहारिक रुपमा परिचालित गर्न सक्छ । तर, लेखनको विषयवस्तु राजनीतिमात्रै होइन र हुन पनि सक्दैन । तर पनि राजनीतिक संंक्रमणको समयमा यो राजनीतितिर नै बढी केन्द्रित हुन्छ । संक्रमणको समयमा लेखन राजनीतिकेन्द्रित हुनु वा नहुनुले नै परिवर्तका लागि लेखनको भूमिका मूल्याङ्कन गरिन्छ ।
हामीकहाँ कतिपय यस्ता लेखकहरु छन्, जो सोच्छन् कि ‘फलानाले यसो भनेर राजनीतिको गुलामी गर्दैछ ।’ हो १ लेखक ‘राजनीतिको इमानदार नोकर’ होइन, किनभने लेखकले राजनीतिमात्रै हेर्दैन । अर्थशास्त्र, तर्कशास्त्र, प्रेमशास्त्र, इतिहास सबका सब लेखकका प्रेरणा हुन सक्छन् । ‘राजनीतिमा मात्रै लेखक रमाउन सक्छ’ भन्नु गलत हुन सक्छ । लेखनका अध्ययन–क्षेत्रहरु व्यापक हुन सक्छन् । तर, जुन क्षेत्रको अध्ययन गरेको भए पनि लेखकले वर्गीय हितलाई भने कुनै न कुनै रुपमा प्रतिबिम्बित गरेकै हुन्छ । वर्गीय समाजमा लेखन पनि वर्गीय चिन्तनबाट अछुतो रहन सक्दैन । तसर्थ, राजनीतिक लेखनलाई ‘गुलाम’ र ‘ढोकेहुक्के’ भन्नु एक वा अर्को रुपमा प्रतिगमनको सेवा गर्नु नै हो ।
माथि लेखनको विशिष्ट स्वत्व रहेको कुरा गरियो, त्यो कुन अर्थमा भने एक्लो लेखनले सम्पूर्ण राजनीतिलाई बुझ्न सक्छ । तर, एक्लो राजनीतिले सम्पूर्ण लेखनलाई बुझ्न सक्दैन । लेख्नका लागि राजनीतिमात्रै पर्याप्त होइन । वास्तवमा क्रान्तिको समयमा सभ्यता, शिष्टता र मर्यादाको पाठ लेखनले पढाउँछ । क्रान्ति गर्नका लागि हातमा बन्दुक बोकेरमात्रै हुँदैन । क्रान्ति गर्नका लागि क्रान्तिकारी सँस्कार चाहिन्छ, क्रान्तिकारी आचार–विचार–व्यवहार चाहिन्छ । लेखनले त्यही आवश्यकताको परिपूर्तिका लागि काम गर्छ र, गर्नुपर्छ ।
वास्तवमा समाजमा लेखनको भूमिकाबारे प्रगतिवादी चिन्तन, प्रतिगामी चिन्तन र संशोधनवादी चिन्तनको आ–आफ्नो तर्क छ । तर, प्रगतिवादका विरुद्ध ल्याइएका क्रान्तिविरोधी सबै चिन्तनहरुको सार जसरी भए पनि वर्ग–सङ्घर्षलाई रोक्नु, बाधा पुर्याउनु, पछाडि धकेल्नु र अन्तमा नष्ट गर्नु नै हो । हामीकहाँ प्रतिगामी धारले कला र वस्तुबीचको द्वन्द्ववादी मान्यतालाई खतम गर्ने दुष्प्रयास गरिरहेको छ । प्रतिगामीहरु वस्तुपक्ष अर्थात् वर्ग–सङ्घर्षको पक्षलाई नजरअन्दाज गर्दै कथित् ‘कलात्मक लेखन’को प्रतिनिधित्व गरिरहेका छन् । उनीहरु सारमा साम्राज्यवाद, विस्तारवाद, घरेलु प्रतिक्रियावाद, सामन्तवाद र अन्य क्रान्तिविरोधी तŒवहरुको वकालत गरिरहेका छन् । उनीहरु लेखनमा क्रान्तिकारी विषयवस्तु देखिनेबित्तिकै त्यसलाई ‘राजनीतिक नारा’ को आरोप लगाउँछन् । प्रतिगामी मान्यताले स्तुतिगान, वर्ग–समन्वयवाद, विकृति, विसङ्गति इत्यादिको पैरवी गरिरहेको छ । समग्रमा प्रतिगामी चिन्तन क्रान्तिविरोधी चिन्तन हो र, सामन्तवादी–आभिजात्यवादीहरुले यसको जोडदार पक्षपोषण गरिरहेका छन् ।
त्यस्तै, संशोधनवादी मान्यताले पनि प्रत्यक्ष र परोक्ष रुपमा प्रतिगामी मान्यताकै पक्षपोषण गरिरहेको छ । यसले यौन, निष्क्रियता, पलायन, मध्यस्थता इत्यादिको पक्षपोषण गर्दछ । आत्मसमर्पणवाद, वर्ग–समन्वयवाद, जडसूत्रवाद इत्यादिको बाटोमा हिँडेर यसले नजानिँदो पाराले क्रान्तिको दुश्मनको रुपमा काम गर्छ । यसले पनि उही प्रतिगामीहरुले जस्तै ‘कलाका लागि कला’ को पक्ष लिन्छ र, अन्ततोगत्वा प्रतिगामी कित्तामा सामेल हुन पुग्दछ ।
प्रगतिवादी मान्यताले जनवादी लेखनलाई फलाउने–फुलाउने कुराको वकालत गर्छ र, गरिरहेको छ । माथि उल्लेख गरिएजस्तै प्रतिगामी र संशोधनवादी मान्यताहरु प्रगतिवादी लेखनका दुश्मन हुन् र, तिनीहरुसँग सामना गर्दै प्रगतिवादी लेखन अगाडि बढ्नु परेको छ । प्रगतिवादी मान्यताले वकालत गर्ने मुख्य वस्तु भनेको सामाजिक–यथार्थवाद हो । सामाजिक–यथार्थवादी धारालाई विज्ञान र वस्तुसम्मत ढङ्गले विकास गर्दै प्रगतिवादी लेखनले नयाँ जनवादी लेखन र समाजवादी लेखनका रुपमा आफूलाई विकसित गर्दैछ ।
आज प्रगतिवादी नेपाली लेखन सङ्ख्यात्मक दृष्टिले थोरै भएर पनि त्यो सत्यको, शिवको र सुन्दरको एकमात्र वकिल बनेको छ । संशोधनवादी मान्यतासँगको अन्तर्विरोधलाई हल गर्दै र प्रतिगामीहरुलाई परास्त गर्दै अगाडि बढ्नेहरु सङ्ख्यामा कम होलान्, तर पनि कमजोर छैनन् । ‘लेखकीय स्वतन्त्रता’ बारेको सामन्तवादी धारणामा परिवर्तन आवश्यक छ ।


No comments: