Saturday, May 19, 2012

पर्यटनवर्ष र विरोधाभासहरु




-गोपाल विरही
पर्याप्त पूर्वाधार, नयाँ पर्यटक भित्र्याउने नीति र योजनाबिना नै पर्यटन वर्ष सन् २०११ चलिरहेको छ । काठमाडौँमा मात्रै होइन,  सगरमाथाको टुप्पोसम्म जाँदा पनि समस्यै–समस्या छ । सगरमाथा जानुपर्यो भने नाम्चेसम्म ठीकै छ । नाम्चेदेखि उँभो काट्दै गएपछि स्याङ्बोचेमा होटल पाइँदैन । राम्रो खान, बस्न, सुत्न पाइँदैन । त्यहाँका शेर्पा र अरु नेपालीहरु सानैदेखि भोगेर आएकाले दुःख–सुख गर्छन्, तर पर्यटकहरु त संवेदनशील हुन्छन् । खान त जस्तो–तस्तो पैसा तिरेर खान्छन्, तर गाउँ–गाउँमा सुरक्षा छैन । उनीहरुले थोराङपासमा भुइँमा मेट्रिस ओच्छ्याएर सुत्नुबाहेक केही पाउँदैनन् ।
यसै वर्ष नेपालमा तारा र यति गरी दुईवटा एयरलाइन्सका विमानहरु दुर्घटनाग्रस्त भए । दुर्घटनामा २२ जना भुटानी पर्यटकहरुको मृत्यु भयो । त्यो भयावह मृत्युलाई देखेर के अरु पर्यटकहरु पनि यही समयमा नेपाल भित्रेलान् त ? आफ्नै नागरिकलाई पनि सुरक्षा दिन नसक्ने सरकारी संयन्त्रले सन् २०११ भरि यदि १० लाख पर्यटक नेपाल आए भने पनि तिनलाई कसरी सुरक्षा दिन सक्ला ?
पर्यटकहरु त्यत्रो १० औँ लाख आउँदैछन् भनिन्छ । उनीहरुलाई के–कसरी स्वागत गर्ने भनेर पर्यटन व्यवसायीहरु उत्सुक भइरहेका पनि देखिन्छन् । तर अहिले नेपालमा लोडसेडिङ दिनप्रतिदिन बढिरहेको छ । फोहोरमैला त्यत्तिकै छ । बाटो सफासुग्घर कहीँ छैन । एयरपोर्टको अवस्था त्यस्तै छ । सन् २०११ सम्मका लागि निर्माण गरिएको विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन अझैसम्म अद्यावधिक हुन सकेको छैन । १ घण्टामा ३० वटा उडान र अवतरणलाई अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत मापदण्ड मानिन्छ । तर, नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा ४१ वटा उडान र अवतरण अहिले भइरहेको छ । नेपालका आन्तरिक एयरपोर्टमा पनि असाध्यै चाप बढेको छ । त्यहाँका टर्मिनल भवनहरु अपर्याप्त छन् । यस्तो अवस्थामा हामीले पर्यटकहरुलाई कसरी राम्रो सम्झना दिएर पठाउन सकिएला ? त्यसैले अहिले पर्यटन मन्त्रालयले विमानस्थलको सुधार, तिनीहरुको स्तरोन्नति र नयाँ विमानस्थलहरुको निर्माणमा जोड दिनु आवश्यक छ ।
१० लाख पर्यटक भित्र्याउने भन्ने त एउटा नारा मात्रै हो । सरकारले पर्यटकहरुका लागि कुनै प्याकेज ल्याएको छैन । पर्यटकलाई नेपालमा के सुविधा दिइएको छ ? एयरलाइन्स–टिकट किन्दा कति छूट दिन्छ ? नेपालको लोकप्रियता र प्रोपोगाण्डा काठमाडौँ खाल्डोभित्र मात्रै हो । कुवाको भ्यागुताजस्तो हामी छौँ ।
नेपालका पर्वतारोहीहरु विश्वप्रसिद्ध छन् । उनीहरुको नाम गिनिज बुक अफ वल्र्ड रेकर्ड्स्मा छ । तर, ती पर्वतारोहीहरुसम्म पर्यटनवर्ष सफल पार्न कुनै कार्यक्रम गर्नुपर्यो भनेर कुनै निजी र सरकारी निकाय जाँदैनन् । सगरमाथा, गौरीशंकर क्षेत्रमा कुनै ठाउँमा ती निकाय पुगेका छैनन् । ती पर्वतारोही भन्छन्– यो टुरिजम इयर भनेको फाइभस्टार होटलमा पार्टी खाने, पेपर बाँड्नेबाहेक केही भएको देखिएको छैन । नेपाली पर्वतारोही टोली बेला–बेला विदेशी हिमाल चढ्न जान्छन् । अष्ट्रेलियास्थित हिमाल चढ्न गएका नेपालीहरु पर्यटन वर्षको प्रचार गर्न त्यहाँका स्कुलहरुमा जाँदा विद्यार्थीहरुले ‘एभरेष्ट कुन ठाउँमा पर्छ ?’ भनेर सोधेछन् । एभरेष्ट नेपालमा छ भनेर पनि विदेशका बच्चाहरुलाई थाहा छैन । चीनमा वर्षौँदेखि बसिरहेका नेपालीहरुले टुरिजम इयर भन्ने सुन्नै पाउँदैनन् भने उनीहरुका चिनियाँ साथीहरुलाई थाहा नहुनु कुनै अनौठो भएन ।
पर्यटकहरुका लागि ठाउँ–ठाउँमा शौचालयहरु छैनन् । भारतमा के हल्ला छ भने नेपालमा डलर चल्दैन । भारत हुँदै आउने पर्यटकहरुले भारतमा डलरसँग भारतीय रुपियाँ साट्छन् । तर, नेपालमा भारतीय पाँचसय रुपियाँको नोट गैरकानूनी हो । तर, भारत हुँदै भित्रिने पर्यटकहरुसँग त्यही गैरकानूनी नोट हुन्छ । त्यस्ता पर्यटकहरुले आफ्ना नेपाली गाइडहरुसँग सापटी लिएर पैसा तिर्छन् ।
पर्यटन वर्ष सफल बनाउन सडक राम्रो हुनु आवश्यक छ । नेपालको मोटरबाटो एकदमै खराब छ । काठमाडौँदेखि पोखरा अलिक ठीकै हो । धेरै बस पनि पाइन्छ । तर जिरीजस्तो ठाउँमा जानुपर्यो भने चाहिँ साह्रै अप्ठ्यारो छ । १२–१२ घण्टा त बसमै बिताउनुपर्छ । बाटो पनि उस्तै डरलाग्दो छ । कतिपय पर्यटकहरु सीमानाकाबाट गाडी चढेर आउँछन् । त्यस कारणले भारतसँग जोडिएका नाकाहरुमा पर्यटकहरुका लागि झन्झटरहित वातावरण सिर्जना गरिनु आवश्यक छ । चीनसँग जोडिएको एउटै नाका कोदारीमा पनि पर्यटक–मैत्री वातावरण बनाउने प्रयास गरिनुपर्छ ।
फोहोर संकलन गर्ने काम राम्रो हुनुपर्छ । अहिले त फोहोरले बाटोमा हिँड्न हामीलाई पनि दिक्कै लाग्छ । स्थानीयहरुलाई फोहोर कहाँ फाल्ने भन्ने कुराको जानकारी पनि नहुनु एकदमै दुःखद कुरा हो । अन्तर्राष्ट्रिय विमानस्थलदेखि मुख्य पर्यटनस्थल भनिएको ठमेलसम्म जाँदा नाक थुन्नुपर्ने, हर्न बजाएर एकदम अप्ठ्यारो पार्ने, ट्राफिक जाम हुने कुरालाई पर्यटकहरुले सकारात्मक भन्ने छैनन् ।  पर्यटकहरुलाई खुशी पार्न प्रदूषण कम गर्नु पनि एकदमै आवश्यक छ । पर्यटकहरु बागमतीमा जान्छन् तर त्यहाँ जताततै फोहोर छ । मान्छेहरुले थुकेका छन्, फोहोर फालेका छन् र बागमती साह्रै फोहोर देखिन्छ । कम्तीमा यिनीहरुलाई सफा राखियो भने पर्यटक आउँथे नि १ यसैगरी पर्यटकहरुलाई समस्यामुक्त बनाउन केन्द्रीय रुपमा नै भ्रष्टाचारमुक्त सूचनाकेन्द्र हुनुपर्छ । पर्यटकहरुले किन्ने सबै वस्तु र सेवामा मूल्यसूचि स्पष्ट राख्नुपर्छ । पर्यटकहरुलाई ठगेर पैसा कमाउने उद्देश्यमात्र राख्नु हुँदैन । नेपालबारे जानकारी दिने वेब साइटहरु एकदम राम्रो हुनुपर्छ, जहाँ राम्ररी हेर्न र बुझ्न सकियोस् । अहिले वेब साइटहरु खोलेर होटल भएका ठाउँहरु पत्ता लगाउन पनि गाह्रो छ र नक्साहरु पनि बुझिने हुँदैनन् ।
व्यवसायीहरुले आन्तरिक पर्यटनलाई खासै वास्ता गरेको पाइँदैन । पहिले–पहिले नाम्चे बजारतिर नेपालीलाई होटलमा कोठै पाइँदैनथ्यो । तर, अहिले नेपालीहरु पनि ट्रेकर बनेर फाटफुट नाम्चेतिर जान थालेका छन् । विदेशमा बस्ने नेपालीहरु पनि घरमा आफन्तहरु भेट्न आउँदा काठमाडौँ खाल्डोको प्रदूषणमा बस्नुभन्दा एकहप्ता काठमाडौँबाहिर जान पाए हुन्थ्यो भन्ने नयाँ प्रवृत्ति पनि सुरु भएको छ ।
नेपालमा यति मौसमी पर्यटन छ कि निश्चित बेलामा पर्यटक आउँछन्, अरु बेलामा आउँदैनन् । त्यसलाई परिवर्तन गरी नेपाललाई वर्षभरि नै पर्यटक आउने ठाउँ बनाउन आवश्यक छ । अक्टोबरदेखि डिसेम्बरसम्ममात्रै नेपाल जाने अथवा जुन–जुलाईमा मात्रै भारत जाने भन्ने पश्चिमी पर्यटकहरुको बुझाइ छ । अहिले नेपालमा तारे र अरु सामान्य होटलहरुमा जम्मा ६२ हजार बेडहरु उपलब्ध छन् । थप पर्यटकका लागि होम स्टे नयाँ प्रोडक्टका रुपमा ल्याइएको बताइएको छ । होम स्टे कार्यक्रममा ग्रामीण क्षेत्रमा जुन किसिमको प्रतिक्रिया आएको छ, त्यो उत्साहजनक छ । होटलहरुमा नअटाउने पर्यटकहरु विभिन्न ग्रामीण र सहरी क्षेत्रमा होम स्टेमा अटाउने बताइएको छ । तर त्यसको लागि व्यापक तयारी सामुदायिक स्तरमा भइरहेको पनि देखिन्छ । तर, अहिले नै ४–५ लाख पर्यटक एकैचोटि नेपाल भित्रिए भने बस्ने कोठाहरु र अरु व्यवस्थाहरु अपर्याप्त छन् भन्ने कुरा सत्य हो । साँच्चै १० लाख पर्यटक आए भने ती सबैलाई धान्ने पर्याप्त पूर्वाधार नेपालसँग नभएकै हो । त्यस्तै, नेपालमा आउने पर्यटकहरुलाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिन्छ । उनीहरुका अपेक्षाहरु पनि फरक–फरक हुन्छन् । १० लाखको साटो ९ लाख मात्रै पर्यटक नेपाल आए भने पनि पर्यटन वर्ष असफल भएको भन्न मिल्दैन ।
भ्रमण वर्ष राष्ट्रिय कार्यक्रम हो । देशका १ करोड ३० लाख नागरिकले एउटा उत्सवको रुपमा भ्रमण वर्षलाई लिइरहेको अवस्थामा हामीले उनीहरुलाई उत्साहित बनाउन आ–आफ्ना तर्फबाट कोशिस गर्नुपर्छ । यस्तो कार्यक्रम २०११ मा मात्रै होइन, २०१३ मा र २०१४ मा पनि गर्नुपर्छ । हरेक वर्ष केही न केही भइरहनुपर्छ । अनिमात्रै पर्यटन उद्योगको दीगो र निरन्तर विकास हुन्छ ।

No comments: