-गोपाल विरही
हामी ‘सर्टिफिकेट’ र जागिरलक्षित शिक्षा पढ्न नपाएर र नपढेर ‘बिग्रेका’ होइनौँ–थिएनौँ, पढेर बिग्रिरहेका छौँ किनभने हामी र हाम्रा सन्ततिलाई चाहिएको बेरोजगार जनसंख्या उत्पादन गर्ने यथास्थितिवादी सरकारी ‘उच्चशिक्षा’ र हृदयहीन दास मष्तिस्कहरु उत्पादन गर्ने निजी तुच्छशिक्षा दुवै होइन । हामी र हाम्रा सन्ततिलाई चाहिएको स्वाभिमान, आत्मसम्मान, समानता, प्रगति, विकास र अग्रगमनमा आधारित राज्यप्रदत्त शैक्षिक अधिकार र अवसर हो । अहिले हामीलाई चाहिएको अंकमा आधारित परीक्षाप्रणाली होइन । हामीलाई चाहिएको विशेषज्ञता, दक्षता, पेसा, व्यवहार र क्षमतामा आधारित परीक्षाप्रणाली हो ।तर, क्षमता र पेसामा आधारित परीक्षाप्रणाली एकैपटक १० कक्षामा प्रयोग गरिने होइन । यसलाई कक्षा १ देखि नै सुरु गर्नुपर्छ । आजैबाट सुरु गर्ने हो भने १० वर्षपछि क्षमतामा आधारित परीक्षाप्रणालीबाट परीक्षा दिएका विद्यार्थीहरु उत्पादन हुन थाल्नेछन् । तर राज्यले यस्तो कानुन बनाउनैपर्छ जसमा शिक्षकले आफ्नो तर्फबाट पनि मिहिनेत गर्नुपरोस् । अहिले एउटा शिक्षकलाई १० महिना तालिम दिन सरकारले कमसेकम १ लाख रुपियाँ खर्च गरिरहेको छ । त्यत्रो पैसा खर्च गरेर तालिम गर्ने अनि शिक्षकले केही नजान्ने बनाएपछि विद्यार्थीको मूल्यांकन कसले गर्ने ? भर्खरै प्रकाशित एसएलसीको परिणामले नेपालको शैक्षिक स्थितिलाई राम्ररी चित्रण गर्दछ किनभने यो हामीकहाँ विद्यमान शैक्षिक अवस्थाकै प्रतिफल हो । तसर्थ, विद्यार्थीको मूल्यांकन गर्ने परिपाटीमा शिक्षकलाई सक्षम बनाइसकेपछि मात्र सक्षमतामा आधारित प्रणाली सुरु हुन सक्छ । अंकमा आधारित परीक्षाप्रणाली भएसम्म जति प्रतिशत रिजल्ट आए पनि कुरा उही हो । सबैको क्षमता मापन गरी क्षमता पूरा भएपछि मात्रै माथिल्लो कक्षामा चढाउन थाल्ने हो भने कोही पनि परीक्षा र जीवनमा ‘फेल’ हुने छैन ।
अहिले मुलुकभर १ लाख ३० हजार शिक्षक कार्यरत छन् र ती शिक्षकको क्षमतामा अहिले प्रश्नचिन्ह उठेको छ । २०६५ सालको एसएलसी परीक्षामा शून्य प्रतिशत नतिजा ल्याएको सामुदायिक विद्यालयका शिक्षकलाई २०६६ सालको ‘राष्ट्रिय शिक्षा पुरस्कार’ दिइएको, बहिनी र ज्वाइँलाई नाताकृपाका आधारमा सोही पुरस्कार दिइएकोजस्ता प्रस¨हरु सार्वजनिक भएका छन् । अहिले नारा, जुलुस, हड्ताल आदिबाट शिक्षकको बढुवा हुन थालेको छ । राहत कोटाका शिक्षकको अधिराज्यभरि हड्ताल चलिरहेको छ । तसर्थ, ४० वर्ष नाँघेका शिक्षकलाई एकमुष्ट निवृत्तिभरणसहित अवकाश दिनुपर्छ, ४० वर्षभन्दा कम उमेरका शिक्षकलाई नयाँ प्रणालीअनुसार तालिम दिनुपर्छ र नयाँ प्रवेश गर्ने शिक्षकलाई आवश्यकताअनुसार मार्गनिर्देशन गर्नुपर्छ ।
सरकारले शिक्षकका लागि जति लगानी गरेको छ, त्यति विद्यार्थीका लागि गरेको छैन । अहिले ४६–४७ अर्ब रुपियाँमा करीब ३२–३३ अर्ब रुपियाँ तलबमा खर्च भइरहेको छ । यस्तो स्थितिमा नयाँ काम गर्नुपर्यो र मिहिनेत गर्नुपर्यो भने पुराना शिक्षकहरु हच्किन्छन् ।
अहिले एकातिर ७ लाख मान्छेले शिक्षकको लाइसेन्स लिएर बसेका छन् तर, बजारमा कहिल्यै विज्ञापन गरिँदैन भने अर्कातिर जागिर खाइरहेका वृद्ध शिक्षकलाई सरकारले बढुवा गर्दै लगिरहेको छ । धेरै समय परम्परागत प्रणालीमा बसेका शिक्षकले पनि शिक्षाप्रणालीलाई परिवर्तन गर्न चाहेका छैनन् किनभने परिवर्तन गर्दा नयाँ पाठ्यक्रम पढ्नुपर्छ, मिहिनेत गर्नुपर्छ । निम्न र मध्यमवर्गीय विद्यार्थीहरुले पढ्ने विकल्परहित ग्रामीण भेकका सामुदायिक विद्यालयहरुमा सञ्चालित दश जोड दुई कक्षामा अझै पनि स्नातक शिक्षकहरुले नै हाकाहाकी पढाइरहेका छन् । तर, आफूले पढाएका विद्यार्थी आफूभन्दा बढी पढिसकेर पनि बेरोजगार हिँडिरहेका देख्दा किन केही बोल्न र गर्न सक्दैनन् ‘प्रबुद्ध’ शिक्षकहरु ? हुँदाहुँदा विद्यालयका पुस्तक वितरणमा समेत शिक्षा मन्त्रालयबाटै निर्णय गराएर निजि क्षेत्रलाई संलग्न गराइएको केही स्वार्थले प्रेरित भएर हो वा होइन एवम् यसको दूरगामी असर के हुन सक्ला भनी निरीक्षण गर्ने निकायको अभाव छ ।
प्रवीणता प्रमाणपत्र तहलाई विद्यालयमा गाभेर ‘शिक्षा सुधार’को हौवा पिटिरहेका सरकार र विद्यार्थी संगठनहरुले बेरोजगार उत्पादन गरिरहेका मानविकी, शिक्षा, व्यवस्थापनजस्ता संकायका शिक्षालाई समेत अझ महंगो र सर्वसाधारणको पहुँचबाहिर पुर्याइदिएका छन् किनभने सहरमा पहिले र अहिलेका मन्त्री, सचिव, राजदूत, प्राध्यापक, ‘शिक्षाविद्’, व्यापारी, आदिका लगानीमा महंगा निजी विद्यालय च्याउझैँ उमार्ने क्रम रोकिएको छैन र शिक्षामा निजीकरणको मुख्य प्रभाव आर्थिक विपन्नताले ग्रस्त विद्यार्थी र चरम श्रमशोषण भोगिरहेका शिक्षित युवा वर्गमाथि परेको छ ।
आफ्नो ‘लाहुरे’लक्षित शक्तिशाली अभिधामा कवि भूपि शेरचनले ‘हामी नेपाली वीर छौँ र त बुद्दू छौँ’ ख्यालठट्टा गर्न भनेका थिएनन् तर, तमाम् अन्यायका विरुद्ध कुनै प्रतिवाद गर्न नसक्ने, लौहरहित, निरीह, चाकडीबाज, स्वाभिमानहीन, अन्धविश्वासी, कमजोर र अल्छी आजको ‘शिक्षित युवावर्ग’ का पनि द्रष्टा हुन पाएका भए उनी ‘हामी नेपाली कायर छौँ र त लाल छौँ’, ‘हामी बलहीन बलीका बोका हौँ र त बाम हौँ’, ‘हामी सिद्धान्तहीन छौँ र त समाजवादी हौँ’ अभिधाहरुका पनि स्रष्टा बन्थे होलान् । चन्द्रशमशेरले त्रिचन्द्र कलेज उद्घाटन गर्दा ‘आफ्नै खुट्टामा बञ्चरो हान्दैछु’ भनेका थिए तर शिक्षित बेरोजगारीले निरन्तर तीब्रता पाइरहँदा पनि शासकहरुले सङ्गठित विद्रोहको सामना गर्नुनपरेको आजको सत्य देखेका भए र ‘नेपाली भेँडै रहेछन्’ भन्ने उनलाई पनि लागेका भए उनले ‘अचानामा खुकुरी हान्दैछु’ भन्थे होलान् किनभने कुरौटे शिक्षा ‘पढेर’ हामी बञ्चरोजस्तो बलशाली, ‘डरलाग्दो’ र स्पार्टाकस र प्रमिथसजस्ता ‘खतरनाक’, वीर्यवान्, संघर्षशील, साहसी र प्रगतिप्रेमी भएनौँ, बरु मातृका यादवजस्ता अत्यल्प अपवादबाहेक मृत, मूकदर्शक, आवाजहीन, नपुंसक अचानामा राखिएको भेँडाको चोक्टा भयौँ । जिउँदा भेँडाहरु त रिसको झोंकमा सिङ् हानाहान गर्छन्, भलै संघर्षमा जीवनोत्सर्ग नै गर्नु किन नपरोस् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहिल्यै भनेका थिए–‘प्रभुजी १ भेँडो बनाऊ ।’ तर, अहिलेको हाम्रो शिक्षाले हामीलाई भेँडा बनाउन सक्तैन किनभने यसले भेँडालाई चर्न हरिया खेत र बनपाखा त दिँदैन नै, कुँडोपराल र पानी पनि दिन सक्तैन ।
No comments:
Post a Comment