Saturday, May 19, 2012

‘लिटिल बुद्ध’ र समाज







-गोपाल विरही 
यतिबेला म अन्तर्राष्ट्रियजगत्ले ‘लिटिल बुद्ध’ भनेर माया गरेका नेपाली तपस्वी रामबहादुर बम्जनलाई सम्झिरहेको छु, जसबारे ‘मान्छे कुटेको’ र ‘बन ओगटेको’ भनेर उनकै देशका छापाहरुमा प्रायः एकपक्षीय आलोचनात्मक टिप्पणी गरिएको छ । तपस्वी बम्जनलाई म व्यक्तिगत रुपमा चिन्दिनँ तर बारबार उनले ध्यान गरिरहेको आसनमा गएर बसिदिने, ध्यानस्थलमा गएर चुरोट सल्काउने र होहल्ला गर्ने शीलविपरीतका अमैत्रीपूर्ण, असहिष्णु, असामाजिक तामसी मिथ्याचरण असहøय विघ्नकारक, खेदजनक एवं लोकहितार्थ करुणावश मैत्रीपूर्वक प्रतिवादयोग्य पनि छन् । दुःखमुक्त हुन, निर्वाण प्राप्त गर्न सही सामाजिक जीवनको आवश्यकता भएको बुद्धले उपदेश दिनुहुन्थ्यो । नेपाललाई ‘तपोभूमि’ भनिन्छ, तर बनजंगल विनाश गर्नेहरुमाथि कुनै अनुसन्धान र कारवाही गरिन्न भने तपस्वी बालकलाई ‘बन ओगटेको’ आरोप लगाइन्छ । के यस्तै हुन्छ तपोभूमिको वातावरण ? हुन त बुद्धलाई अपमान गर्न र मार्नसमेत चाहनेहरु पनि थिए । भारतमा नक्कली लुम्बिनी बनाइएकोमा कुनै चासो नराख्ने नेपालका पूर्वराजादेखि राष्ट्रपति र प्रधानमन्त्रीसम्म त्रिशुलधारी भारतीय ‘बाबा’हरुका अन्धभक्त छन् तर वर्षौँदेखि तपस्यारत नेपाली बालतपस्वी रामबहादुर बम्जनलाई चाहिँ यहीँ अपमानित र असुरक्षित गर्न खोजिनु सर्वथा अनुचित, साम्प्रदायिक, लज्जाजनक, धर्मनिरपेक्षताविरोधी र अस्वीकार्य छ । बुद्धदर्शन अनित्यवाद, अनिश्वरवाद, कर्मवाद, हेतुवाद, मानवतावाद, व्यवहारवाद र समाजवादमा आधारित भएकाले ‘कलियुगमा कोही देउता हुन सक्तैन’ भन्दै तपस्वी रामबहादुर बम्जनको आलोचना गर्नखोज्नु अर्थहीन छ । बुद्ध कुनै नित्य, अजर, अमर, अपरिवर्तनशील आत्माको अस्तित्वलाई स्वीकार गर्नुहुन्नथ्यो । विश्वको सृष्टिकर्ता, पालनकर्ता वा संहारकर्ताको रुपमा कुनै पनि परमेश्वरलाई उहाँ मान्नुहुन्नथ्यो । प्राचीन बुद्धधर्मले देउताको अस्तित्व स्वीकार गरेको पाइन्छ तर उनीहरु देउतालाई मानिसभन्दा तल्लो मान्दथे । मानवलाई उच्चतम् दर्जा दिने बुद्धद्वारा प्रतिपादित सिद्धान्त हालसम्म पनि बौद्धहरु मान्दछन् । बुद्धलाई आफ्नो शिक्षाप्रति पूर्ण विश्वास थियो र पूर्ण विश्वास थियो मानव–बुद्धिको शक्तिमा । फलतः अन्य धर्मगुरुको विल्कुल विपरीत उहाँले आफ्नो शिक्षा प्रचार गर्न आफूलाई ईश्वर, देवपुत्र वा देवदूत भन्ने घोषणा गर्नुभएन । उहाँ वर्तमानलाई महŒव दिनुहुन्थ्यो र यसै जीवनमा निर्वाण प्राप्त हुन्छ भन्नुहुन्थ्यो । परलोकबारे उहाँले धेरै चिन्ता गर्नुभएको पाइँदैन । ‘आऊ १ आफैँले हेर १’ भनी उहाँ आफ्नो शिक्षाको प्रचार गर्नुहुन्थ्यो । उहाँ आफैँ भन्नुहुन्थ्यो–‘म मोक्षदाता होइन । म त मार्गदर्शक हुँ ।’
बुद्धको दार्शनिक सिद्धान्तलाई साधारणतः ३ बुँदाहरु (अनित्य, दुःख, अनात्म) बाट परिचित गराइन्छ । संसारका सबै कुरा अनित्य (परिवर्तनशील) छन्, नित्य वस्तु भन्ने केही छैन (अनात्मा) र त्यसैले दुःखको उत्पत्ति हुन्छ । बुद्धको सम्यक दृष्टिको सिद्धान्त अनुसार कुनै पनि कुरा वा विषयवस्तुसँग विछोड नै हुन नसक्ने गरिकन आशक्त हुनुहुँदैन चाहे त्यो बुद्धधर्म नै किन नहोस् १ स्मरणीय छ कि बुद्धले आफ्नो धर्मलाई नदी तार्ने डुंगाको संज्ञा दिनुभएको थियो, अर्थात् यसलाई नदी तरिसकेपछि पनि बोकिराख्नु मूर्खतामात्रै हो भन्नुभएको थियो ।
बुद्ध बारम्बार भन्नुहुन्थ्यो कि उहाँको उपदेश ४ शाश्वत सत्यहरुमा आधारित छन् । ती ४ आर्यसत्यहरु हुन्–दुःख छ (दुःख सत्य), दुःखको कारण छ र मूलकारण तृष्णा हो (दुःख समुदय सत्य), दुःखको अन्त्य गरेर निर्वाण प्राप्त गर्न सकिन्छ (दुःख निरोध सत्य) र दुःखको अन्त्य गर्न ८ मार्गहरु अपनाउनु पर्दछ (मार्ग सत्य) । ती ८ मार्ग हुन्– ठीक धारणा राख्नु (सम्यक् दृष्टि), ठीक संकल्प गर्नु (सम्यक् संकल्प), ठीक वचन बोल्नु (सम्यक् वचन), ठीक काम गर्नु (सम्यक् कर्म), ठीक जीविका गर्नु (सम्यक् जीविका), ठीक प्रयत्न गर्नु (सम्यक् प्रयत्न), ठीक जागरुकता राख्नु (सम्यक् स्मृति) र ठीक एकाग्रता राख्नु (सम्यक् समाधि) ।  स्पष्ट छ कि बुद्धले दुःखबाट मुक्त हुनलाई नैतिकता, व्यक्तिगत प्रयत्न र विवेक बुद्धिको आवश्यकता भएको उपदेश दिनुभएको थियो । यो उपदेशलाई शील, समाधि र प्रज्ञामा प्रायः गरी विभाजित गरिन्छ । सही वचन, कर्म र जीविका सामाजिक आचरण (शील) हुन् भने सही प्रयत्न, जागरुकता र एकाग्रता समाधिको कुरा हो, जबकि सही दृष्टि र सही संकल्प विवेक बुद्धिको विषय (प्रज्ञा) हो । शील (नैतिकता) र प्रज्ञा (बुद्धि) को यो समिश्रण बुद्धधर्मको मौलिकता हो ।
बुद्ध समाजको लागि जिउनुभएको थियो । उहाँलाई दिइएको दानलाई उहाँ संघलाई दिनू भन्नुहुन्थ्यो । सामुहिक निर्णयबाट राज्य चलाउनु र व्यापारीहरुले आफ्नो नाफाको आधा भाग व्यापारमै लगानी गर्नु उपयुक्त हुने उहाँको धारणा थियो । अभिमानको विरोध प्रायः सबैले, बुद्धले पनि, गरेका छन् । तर प्रगतिको लागि मेहनत र सोका लागि स्वाभिमानको आवश्यकता महशुष गर्ने बुद्ध अनौठो धर्मगुरु हुनुहुन्छ, र यो बौद्धहरुमा ‘अधिष्ठान’ भन्ने अति आवश्यक गुणको रुपमा चिनिन्छ ।
तर, नेपाल त्यही देश हो, जहाँको अदालतले पशुपतिका नेपाली पूजारीलाई विस्थापित गर्छ र भारतीय भट्टलाई पुनस्र्थापित गर्छ । यो त्यही देश हो, जहाँ बौद्ध पुनर्जागरणबाट कूपित श्री ३ चन्द्र शमशेरले सन् १९३२ मा बाहुनहरुलाई नढोगेको कारण देखाई बौद्ध भिक्षुहरुलाई देशनिकाला र नजरबन्द गरिदिए । त्यसपछि सन् १९३७ मा जुद्ध शमशेरले पुनः भिक्षु महाप्रज्ञा र उनका शिष्य अमृतानन्दलाई देशनिकाला गरे । उनले अमृतानन्दद्वारा रचित कतिपय पुस्तकहरु सन् १९४३ तिर जफत गरे । सन् १९४४ मा पुनः ८ जना थेरवादी भिक्षुहरुलाई देशनिकाला गरियो । यो देशलाई कतिपय मान्छेहरु ‘सतीले सरापेको देश’ भन्छन् तर ती भिक्षुहरुले मातृभूमि नेपाल आमालाई कहिल्यै सरापेनन् । सन् १९६२ तिर तत्कालीन राजा महेन्द्रको पालामा नेपाललाई ‘हिन्दू राष्ट्र’ घोषित गरियो । वि.सं. २०६२–६३ को बसन्तविद्रोहपछिको धर्मनिरपेक्ष गणतन्त्र नेपालका शासकमा पनि विभेदकारी–उत्पीडक साम्प्रदायिक अन्धविश्वास कायमै रहनु दुर्भाग्यपूर्ण छ ।
 

No comments: