-गोपाल विरही
रामदेवले योग सिकाउँदा ‘भ्रामरी प्राणायामबाट बुद्धत्व प्राप्त हुन्छ’ भनेर बौद्धदर्शनको अपव्याख्या गर्ने गरेका छन् । के बुद्धत्व भ्रामरी प्राणायामबाट प्राप्त हुने कुरा हो ? के आफ्नो व्यापारिक फाइदाका लागि यसरी बुद्धको अवमूल्यन गर्न पाइन्छ ? रामदेवको विशेषता के हो भने उनी भारतमा एक थोक र नेपालका मिडियाहरुसँग ढाकाटोपी लगाएर अर्कैथोक बोल्छन् । योग र प्राणायामको आवरणभित्र पतञ्जली योगपीठले उत्पादन गरेका हजारौँ प्रकारका भारतीय खाद्यान्नहरु उसले नेपालका सहरैपिच्छे खोलेका हजारौँ विक्रीकेन्द्रहरुबाट बेचिरहेको छ । नेपालमा पतञ्जलीका उत्पादनहरुको बजार र यस्ता विक्रीकेन्द्रहरुको संख्या तीब्र गतिमा ह्वात्तै बढिरहेको छ । रामदेव नेपाल आउनासाथै ठूल्ठूला नेपाली नेताहरुसँगका उनका फोटा ‘ठूला’ नेपाली पत्रिकाहरुमा भारतीय मिडियामा भन्दा बढी प्राथमिकताका साथ छापिइहाल्छन् र, यस्तो घातक र अनावश्यक प्राथमिकतालाई संयोगमात्र मान्न सकिन्न । रामदेव एक असल सन्न्यस्त पुरुष हुन् भने उनीसँग आफ्नो मुलुकको हितरक्षार्थ मैत्रीपूर्वक प्रतिवाद गर्दा दोषी भइँदैन । कसैसँग पनि राष्ट्रिय अर्थतन्त्रविरुद्ध सम्झौता गर्नु गलत हो । बुद्धजन्मभूमिका रामदेवका अनुयायीहरुले यो तथ्यलाई द्वेषरहित भएर कहिले हृदयंगम गर्ने ?
जीवनको उत्तराद्र्ध बौद्ध भिक्षुका रुपमा गुजारेका महान् भारतीय पण्डित राहुल सांकृत्यायनले १९५५ मा प्रकाशित ‘नेपालकी कहानी’ को प्रस्तावनामा लेखेका छन्–‘थाहा पाउनुपर्ने कुरा हो कि तराईका हिन्दीभाषी जनता नै नेपालका बहुसंख्यक जनता हुन् । नेपालका वर्तमान शासकहरुले पनि हिजोको गोर्खा शासनकालकै समनीति अपनाएमा कुनै दिन तराईका हिन्दीभाषी जनताले कठिन समस्या उत्पन्न गर्नेछन् । नेपाल सरकारले हाम्रा दाजुभाइहरु, जो आज बाध्य भई नेपालमा बस्नुपरेको छ, बाट नाजायज फाइदा उठाउनु हुँदैन । आखिरमा जे भए पनि तराईको मोरङदेखि काली शारदा नदीको किनारमा बस्ने हिन्दीभाषी जनताहरु नै यस देशको प्रमुख हिस्सा हुन्, जुन जाति पूर्णियादेखि पिलिभित र अझ दक्षिणको जिल्लाहरु समेतमा बस्दछन् ।’
राहुल बौद्धमार्गी भए पनि उनको यस टिप्पणीलाई बुद्धका नेपाली अनुयायीहरुले स्वीकार्न सक्तैनन् । राहुल माक्र्सवादी भए पनि उनको यस टिप्पणीलाई माक्र्सका नेपाली अनुयायीहरुले स्वीकार्न सक्तैनन् । किनभने नेपालको जनसंख्यालाई पहाडिया र मधेसिया गरी दुई फ्याकमा बाँडी साम्प्रदायिक समस्या खडा गरी पहाडिया शासकवर्गलाई तर्साउने नाजायज कोशिश यसमा गरिएको छ । राहुलको यस कथनले नेपालमा पृथकतावादी तŒवलाई प्रोत्साहन दिन्छ, जसले नेपालको राष्ट्रिय एकतामा खतरा पैदा गर्दछ ।
‘नेपाल र भारतबीच सांस्कृतिक एकता’ एक यस्तो विषय हो, जसको ‘महŒव’ भारतका नेताहरुले पटक–पटक औँल्याउने गर्दछन् । उनीहरु भन्छन्– ‘एउटै सांस्कृतिक परिपाटी भएका दुई ‘हिन्दू’ देश भारत र नेपालबीच किन यति धेरै मतभिन्नता भएको हो, यो हामी बुझ्न सकिरहेका छैनौँ ।’ तर, यसरी भारतीय संस्कृतिलाई हिन्दू संस्कृति भन्नु सरासर गलत ठहरिन्छ । बौद्ध मार्ग र जैन मार्ग अवश्य पनि हिन्दू मार्ग होइनन्, न त वैदिक र सिन्ध उपत्यकाका संस्कृति नै हिन्दूमार्गी हुन् । भारतमा हिन्दूमार्गी विचारधारा त पर्सियन, अफगान र टर्कीस्हरुले आक्रमण गर्दा विकास हुन आएको हो ।
नेपाली समाजमा भारतीय संस्कृतिको छाप बिल्कुलै छैन भन्न खोजिएको होइन । तर, भारतीय संस्कृति निश्चय पनि हिन्दूमार्गी होइन । हिन्दूमार्ग पूरै भारतीय संस्कृति अनुरुप छैन । बाह्य र आन्तरिक कारणहरुले गर्दा यसमा परिवर्तन आइसकेको छ र निरन्तर परिवर्तन आइरहेको छ । अरु संस्कृतिहरुसँग लसपस र आन्तरिक आर्थिक आधारमा परिवर्तन हुँदा कुनै पनि देशको सांस्कृतिक ढाँचामा अवश्य पनि असर पर्दछ । यो कुरा भारत अथवा अन्य जुनसुकै देशमा लागू हुन्छ । वास्तवमा ‘हिन्दू संस्कृतिका बीच एकता हुनुपर्दछ’ भनी बारम्बार फलाक्नुको अर्थ अरु केही होइन, नेपालमा साम्प्रदायिकतालाई अझ बढी गरिमामय र सुदृढ बनाउने हेतुले हो ।
नेपालीहरुले आफ्नो राष्ट्रिय पुनरुत्थानको प्रयत्नमा भारतबाट सहायताको आशा गरेका थिए । तर, ६४ वर्षयतादेखि भारतीय नेताहरु नेपालको जनवादी तथा राष्ट्रिय आन्दोलनलाई दुवै देशका भारतीय तथा नेपाली नागरिकको दुश्मन भारतीय एकाधिकार पूँजीको दलाल बनाइराख्ने कोशिसमा छन् । १९५० देखि नेपाली नागरिक नेपालको विभिन्न क्षेत्रमा प्रवेश गरिरहेको भारतीय एकाधिकार पूँजीको विरुद्ध लडिरहेका छन् । एकाधिकारी तथा जमिनदारहरुद्वारा नियन्त्रित भारतीय समाचारपत्रहरुले नेपालमा ‘भारतविरोधी’ विचारधारा फैलाउनमा नेपाली कम्युनिष्टहरु जिम्मेवार छन् भन्ने हास्यास्पद कुरा गरी भारतीय नागरिकलाई गुमराहमा राखेका छन् । तर, वास्तवमा नेपाली कम्युनिष्टहरुले मात्र भारतको विरोध गरिरहेका छैनन् ।
यो राष्ट्रिय विरोधले भारतीय नेताहरुलाई केही असर नपरेको होइन । यसैको फलस्वरुप नै भारतीय नीतिको बखान गर्ने प्रयत्न भयो । भारतीय समाचारपत्रहरुमा केही आत्मालोचित लेखहरु पनि प्रकाशित नभएका होइनन् । तर, १९४७ मा ब्रिटिशहरुद्वारा शक्ति हस्तान्तरित भएदेखि भारत सरकारले नेपालसँग विशेष सम्बन्ध राख्ने आवरणमा धेरै सुविधाहरु हासिल गर्ने कोशिस गर्यो ।
केही हदसम्म भारतमा बृटिश सरकारको नीतिले गर्दा पनि दुई देशबीचको सम्बन्ध बिग्रिएको हो । बृटिशहरुले नेपाललाई संरक्षित राज्य मान्दथे । तर, भारतीय नेताहरु यसभन्दा अझ तीन कदम अगाडि पुगे । तिनीहरुका दृष्टिमा नेपाल भारतको एक भाग मात्र हो । जवाहरलाल नेहरुले आफ्नो ‘भारतको खोज’ शीर्षक लेखमा ‘उत्तरपूर्वी सिमानामा रहेको नेपाल नै भारतको एकमात्र सच्चा स्वतन्त्र राज्य हो’ भनेर लेखेका थिए । यो नेहरुको गजबको ‘खोज’ थियो । उनका दृष्टिमा नेपाल एक सार्वभौम–सत्तायुक्त राष्ट्र नभएर, मात्र ‘भारतको एक राज्य’ थियो । त्यस्तो उच्च स्तरका राजनीतिज्ञको त त्यस्तो गलत दृष्टिकोण हुन सक्दछ भने आजसम्म भारतीय नागरिक यस्तो गलत सोचाइबाट ग्रसित हुनु कुनै आश्चर्यको कुरा होइन । नेहरुको यो गलत सोचाइको प्रतिबिम्ब स्वयं उनैले नेतृत्व गरेको भारत सरकारको वैदेशिक नीतिमा स्पष्ट झल्केको थियो । उनले पटकैपिच्छे, संसद्भित्र होस् या बाहिर, ‘भारतको सिमाना हिमालयसम्म फैलिएको छ’ भनी पुष्टि गर्न खोज्दथे र रामदेवले पनि भारतमा यही कुरा बोल्दै आइरहेका छन् । नेपालको चौतर्फी विकासका लागि योग र प्राणायामको होइन, यातायात र संचारको विकास गर्नु आवश्यक छ । तर भारतका जिम्मेदार नेताहरुको सोचाइअनुसार यातायात र संचार व्यवस्थाको निर्माण भारतको राष्ट्रिय स्वार्थका दृष्टिकोणले गर्नुपर्दछ, न कि नेपालको । त्यसैले उनीहरुले काठमाडौँ–पोखरा राजमार्ग निर्माणको विरोध गरेका थिए । स्मरणीय के छ भने अहिले पनि भारतको राजनीतिमा रामदेव बलियो प्रभाव राख्छन् र, उनी निकट भविष्यमा औपचारिक रुपमै भारतीय राजनीतिमा पदार्पण गर्दैछन् ।
रामदेवले नेपाल आउँदा जतिसुकै ठिक्क पारे पनि उनले आफ्ना पुस्तकहरुमा ‘बुद्धको जन्मस्थल भारत हो’ भनेर लेख्ने गरेका छन् । बुद्ध जन्मेको देश भए पनि थेरवादी बुद्धानुयायीहरुको संख्या अत्यल्प हुन जाँदा यस्ता मुद्दा ओझेलमा पर्ने गरेका छन् । जसरी नेपाली बौद्धमार्गीहरुले राहुल सांकृत्यायनको नेपालविरोधी टिप्पणीलाई प्रतिवाद गरेका छन्, त्यसैगरी नेपाली हिन्दूमार्गीहरुले रामदेवको नेपालविरोधी टिप्पणीको प्रतिवाद गर्नु पर्छ कि पर्दैन ? जसरी नेपाली कम्युनिष्टहरुले राहुलको नेपालविरोधी टिप्पणीको प्रतिवाद गरेका छन्, त्यसैगरी नेपाली गैरकम्युनिष्टहरुले रामदेवको नेपालविरोधी टिप्पणीको प्रतिवाद गर्नु पर्छ कि पर्दैन ?
No comments:
Post a Comment